###
![]() |

अस्पतालमा नियमित जाँच गर्दै आएका बाग्लुङपानी ८ विम्दाका २७ वर्षीया मीना गुरुङ र उनको शल्यक्रिया गरेर निकालिएको शिशुको मृत्यु भएपछि श्रीमान् देवीजंगले यथार्थ छानबिनमा सहयोग गरिदिन सञ्चारमाध्यम गुहारेका छन् । गत चैत २२ गते सुत्केरीका लागि समय दिइएकी मीना बिरामी परेपछि १९ गते अस्पताल भर्ना भएकी थिइन् । तर २८ गते एक्कासि च्यापेपछि उनको मृत्यु भएको थियो । मृत शरीर चिरफार गरी बच्चा निकालिए पनि बचाउन सकिएन । बच्चालाई थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पुर्याएको थियो । तर अस्पताल पुर्याएकै दिन बच्चाको मृत्यु भएको बाबु देवीजंगले बताए ।
अस्पतालका डाक्टरहरूको लापरबाहीका कारण आफ्नी श्रीमती र बच्चा दुवै गुमाउनुपरेको उनी बताउँछन् । 'डाक्टरलाई भगवान् ठान्छौं, उनकै शरणमा रहँदारहँदै दुई/दुई जना गुमाउनुपर्यो,' उनले भने, 'समयमै अन्यत्र लैजान सके बचाउन सक्थें ।' श्रीमतीलाई बेथाले च्यापेका बेला अस्पतालमा डाक्टरलगायत स्वास्थ्यकर्मी नहुनु र आमाको ज्यान गएपछि तत्काल अप्रेसन नगरेकाले बच्चा पनि गुमाउनुपरेको उनले दाबी गरे ।
अस्पतालले भने मीनाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले कोसिस गर्दागर्दै बचाउन नसकेको दाबी गरेको छ । बिरामीलाई निमोनियाँ र छात्तीसम्बन्धी समस्या बढेकाले तत्कालै शल्यक्रिया गर्न नसकेको र अन्तिम अवस्थामा बच्चा बचाउन खोज्दा सम्भव नभएको अस्पताल निर्देशक डा. विष्णु विष्टले बताइन् । तर अस्पतालले बिरामीको सम्पूर्ण खर्चबापत २९ हजार ५ सय रुपैयाँ मिनाहा गरिदिएको खुलासा भएपछि थप शंका सिर्जना भएको छ ।
शुल्क मिनाहासँगै अस्पतालले पीडित परिवारलाई अबका दिनमा फेरि यही केस लिएर र्फकेर आउने छैन भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । विष्टले भने उनीहरूले रकम तिर्न नसक्ने भएपछि मानवीय नाताले मिनाहा गरिदिएको बताइन् ।
सिटीस्क्यान मर्मत भएन
बाँके- नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको एकमात्र सिटीस्क्यान मेसिनको नियमित मर्मतसम्भारका लागि आर्थिक अभाव भएकाले सेवा नै बन्द हुने अवस्था आएको छ । अस्पताल प्रशासनले बुधबार आपूर्ति मन्त्रालयलाई पत्राचार गरी मर्मतका लागि सहयोग गर्न आग्रह गरेको छ । समयमै मर्मत खर्च उपलब्ध नगराइए सेवा बन्द हुन सक्ने अस्पताल प्रमुख डा. पीताम्बर सुवेदीले बताए । 'मर्मतका लागि मासिक १ हजार डलर माग गरिएको छ,' उनले भने, 'हामीसँग त्यसका लागि बजेट छैन ।' इन्जिनियर सागर श्रेष्ठका अनुसार मेसिनलाई नियमित मर्मत गर्नुपर्छ, नत्र निरन्तर चल्न सक्दैन । विद्युत् आपूर्ति नियमित नहुँदा पनि सेवा प्रभावित भएको छ । कम भोल्टेजका कारण मेसिन नचलेर सेवा दिन नसकिएको प्राविधिकले बताए ।
अस्पतालमा दैनिक १५ देखि ४० बिरामी सिटीस्क्यानका लागि आउने गरेका छन् । निजीभन्दा कम शुल्क लाग्ने भएकाले बिरामीको चाप बढेको हो । अस्पताल विकास समितिले सिटीस्क्यान गरेबापत ३ हजार शुल्क तोकेको छ, निजीमा ५ हजार लाग्छ ।
##
![]() |
0 comments:
...