Headlines News :
Home » » कोइराला परिवारमै क्यान्सर किन ?

कोइराला परिवारमै क्यान्सर किन ?

###
काठमाडौं । कोइराला परिवारका अन्य केही हस्तीहरुलाई झैं प्रधानमन्त्री सुशील कोइरालालाई पनि क्यान्सर रोग लागेको छ । जिब्रोको क्यान्सरको उपचार गर्न हरेक वर्ष न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरमा पुगिरहेका प्रधानमन्त्री कोइरालामा यसपटक फोक्सोमा पनि क्यान्सर भएको पुष्टी भयो । प्रधानमन्त्री कोइराला र पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको रोग एउटै हो । गिरिजाप्रसादलाई पनि सुशीललाई झैं क्यान्सरका साथै क्रोनिक ब्रोनकाइटीसको समस्या थियो । ब्रोनकाइटीश भएकाले फोक्सोको शल्यक्रिया गर्न नमिलेका कारण प्रधानमन्त्रीलाई विहीबार बिहानबाट रेडियोथेरापी दिन थालिएको छ । गिरिजाप्रसादले पनि फोक्सोको शल्यक्रियाको साटो निमोनियाको उपचार मात्र गरेका थिए ।

 गिरिजा प्रसाद कोइरालाको स्वास्थ्य अवस्थाबारे उनी जिवितै छँदा यो संवाददाताले कान्तिपुर पब्लिकेशनसको साप्ताहिक प्रकाशन ‘नेपाल’मा आवरण रिपोर्ट लेखेको थियो । त्यसक्रममा कोइरालाको फोक्सोको उपचारमा संलग्न डा. रमेश चोखानीसँग कुराकानी गर्दा उनले कोइरालालाई ‘क्रोनीक पल्मोनरी डिजीज’ ब्रोनकाइटीस भएको बताएका थिए । चेन स्मोकर कोइरालाको चुरोटको अम्मलकै कारण फोक्सोमा क्यान्सर भइसकेको थियो, जसलाई उनको जिवनको उत्तरार्धसम्म गोप्य राखियो । पछि कोइराला परिवारकै एक सदस्य डा. श्रीहर्ष कोइरालाले यो रहष्य मिडिया सामु खोली दिएका थिए । घुमाउरो पारामा कतिपय सुत्रले यो संवाददातासँग पनि कोइरालालाई क्यान्सर भएको संकेत गरेका थिए । कोइरालाका भतिजा श्रीहर्षका अनुसार सिंगापुरको ग्लीन इगल्स अस्पतालमा परिक्षणकै क्रममा चिकित्सकले गिरिजाप्रसादमा क्यान्सरको आशंका गरेका थिए । चिकित्सकले क्यान्सरकै आशंका फोक्सोको तल्लो भाग काट्न खोज्दा कोइरालाले मानेनन् । आफ्ना दाईहरुको क्यान्सरको अपरेशन गरेलगत्तै निधन भएकाले कोइराला त्यसबेला निमोनियाको मात्र उपचार गरेर फर्किएका थिए । ठिक त्यही अवस्था अहिले प्रधानमन्त्रीको छ । स्वयं प्रधानमन्त्रीले चुरोट र सुर्तीको अम्मलका कारण आफुलाई क्यान्सर भएको बताइसकेका छन् । प्रधानमन्त्रीलाई पनि ब्रोनकाइटीस भएकाले फोक्सोको शल्यक्रिया गर्नु जोखीमपूर्ण हुन्छ । अहिलेसम्म क्यान्सर फोक्सोबाट अन्यत्र नफैलीएका कारण रेडियो थेरापी सुरु गरिएको हो । यही कारण प्रधानमन्त्रीको उपचार लम्बीनसक्ने सम्भावना छ ।

क्यान्सर र कोइराला परिवार

 कोइराला परिवारमा क्यान्सर मानौं वंशाणगत रोग झैं भएको छ । यद्यपी चिकित्सकहरुले यसको पुष्टी भने गरेका छैनन् । बिपी पुत्र प्रकाश कोइरालाका अनुसार वंशाणुगत भन्दा पनि खानपान शैलीकै कारण क्यान्सर देखिएको हो । हुन पनि कोइराला परिवारका सदस्यहरुको उठबस र खानपान अली राजसी पाराको हुँदै आयो । सत्ताको नजिक पुगेर राजसी ठाँट देखेका कोइराला परिवारका सदस्यले त्यही शैली अपनाए । पंच मकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन) का मामलामा कोइराला परिवारका सदस्य अली उदार नै रहेका छन् । जिवनशैली एउटा कारण होला । तर भतीजा डा. श्रीहर्षले यसमा वंशाणुगत कारण नै बताएका थिए । हुन पनि गिरिजाप्रसाद कोइरालाकी आमा दिव्या कोइरालाका सन्तान सबैको क्यान्सरकै कारण निधन भयो । दिव्या कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी हुन । दिव्याको कोखबाट जन्मिएका बिपी कोइराला, केशव कोइराला र तारीणी कोइरालाको मुत्यु क्यान्सरकै कारण भएको थियो । तारीणीकी कान्छी छोरी कल्पनाको पनि क्यान्सरबाटै निधन भएको हो । विपीकी नातीनी मनीषालाई पनि क्यान्सर भयो, जसलाई उनले जितिसकेकी छन् । उता कृष्णप्रसादकी माइली पत्नी धादीङकी मोहनकुमारीका सन्तानको भने मश्तीष्क रोगबाट मृत्यु भएको थियो । मातृकाप्रसाद कोइराला र उनका दुई छोरा विमल र सञ्जयको मृत्यु मश्तीष्क रोगबाट भयो । मोहनकुमारीकी नातीनी शैलजाको पनी मश्तीष्क रोगबाटै निधन भएको हो । यद्यपी कोइरालाका निजी चिकित्सक जगदीश अग्रवालले भने वंशाणुगत कारणबाट दिव्याका सन्तानमा क्यान्सर देखा परेको डा. श्रीहर्षको दावीको भने खण्डन गरेका थिए ।

 बिपी पुत्र सजग 

विपी पुत्र प्रकाश कोईरालो भने आफुलाई क्यान्सर नहोस् भनेर सजगता अपनाइरहेका छन् । अन्र्तवार्ता लिन मंगलवार महाराजगञ्ज, लोहसालस्थित उनको निवासमा पुग्दा प्रकाश ग्रिन टिको चुस्की लगाईरहेका थिए । कोइराला परिवारका चर्चित हस्तीहरुको निधन क्यान्सर रोगबाट भएको र आफ्नी पुत्री मनिषा कोइरालालाई पनि क्यान्सर लागेको देखेका प्रकाशले आफुले अचेल खानपीनमा सुधार ल्याएको बताए । उनी सकेसम्म हर्बल प्रडक्ट प्रयोग गर्छन् । जंक फुड खासै खादैनन् । छोरीको उपचारका लागि नौ महिनासम्म अमेरीकाको न्यूयोर्क बसाइका क्रममा प्रकाशले एन्ड्रयू वीलको ‘नेचुरल हेल्थ, नेचुरल मेडिसिन’सम्बन्धी पुस्तक पढने मौका पाए । न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरका चिकित्सकबाट क्यान्सर लाग्ने कारण र त्यसका असरबारे धेरै जानकारी पाए । अनी त उनले मदिरा कम गरे । पान पराग छाडे । कहिलेकाँही निकोटन लेस चुरोट पिउँछन् । विहान घर कम्पाउण्डमै जगीङ गर्छन् । गत वर्ष मनिषाको क्यान्सर उपचारबारे अन्र्तवार्ता लिन जाँदा नै उनले आफ्नो जिवनशैलीलाई केही हदसम्म बदलेको देखिन्थ्यो । उनले भनेका थिए, ‘मनीषाले पनि अब एन्ड्रयू वीलले मार्गदर्शन गरेको जिवनशैली अपनाउन थालेकी छन् । खानपीनमा सुधार ल्याउने हो भने क्यान्सरबाट पनि बच्न सकिन्छ ।’ पाठेघरको क्यान्सरको उपचारपछि पुर्णरुपमा निको भएकी मनिषा अचेल मुम्बईमा रहे पनि त्यहाँको ग्यामरस र भिडभाडयुक्त संसारबाट अलग एउटा शान्त र सात्वीक जिवन बिताइरहेको प्रकाशले बताए । ‘खानपीनमा सुधार ल्याएर मनीषाले क्यान्सरलाई जितिन’,प्रकाशले भने, ‘उनी एकमहिनापछि नेपाल आउँदैछीन् ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar