Headlines News :
Home » » नेपाल बनाउने पुस्ता कहाँ छन्?

नेपाल बनाउने पुस्ता कहाँ छन्?

###
प्रसंग युवाबाट सुरु गरौं, नेपालको जनसंख्याको ४० प्रतिशत जनसंख्या युवाको छ। करिब एक करोड जनसंख्या युवाको छ। संसारको विकासक्रमलाई हेर्ने हो भने, युवा जनसंख्या बढी हुँदा ती देशहरूको प्रगति र विकास छिटो सम्भव हुन्छ। त्यसको पछिल्लो उदाहरणलाई कोरिया, थाइल्यान्ड, सिंगापुरजस्ता देशलाई हेर्दा हुन्छ।


हिजो युवा हुँदा नै राजनीति गरेका, अहिलेका पुराना बूढाहरूले राजनीति गर्दा देश सप्रेन भने अहिले युवा आउनेबित्तिकै कसरी सप्रन्छ भन्ने गहन र महत्त्वपूर्ण प्रश्न छ? यसको उत्तर सजिलो भने छैन। तर हिजो युवा हुँदा नै अहिलेका पुराना र बूढा भनिएका नेताहरूले नै परिवर्तन ल्याएका हुन् र त्यतिखेरको परिवर्तन संम्भव भएको हो। यस कारणले पनि राजनीतिमामात्र हैन सबै क्षेत्रमा युवा प्रतिनिधित्व आवश्यक छ।

हाम्रो नेतृत्व ताल, पोखरीजस्तो छ। अनि त्यहाँभित्र भएका केही ठूला माछाले सधैं आहारा खाइरहन्छन्, साना चाहिँ हेरिरहनुपर्ने बाध्यता छ। नेतृत्व भनेको नदीजस्तो हुनुपर्छ, जो निरन्तर बगिरहन्छ र नयाँ जन्मिरहन्छ, र नदीमा सबै माछाले आहाराबराबर उपभोग गर्न पाउँछन्। राजतन्त्रका निरंकुश व्यवस्थामा मात्रै एउटै व्यक्ति पदमा बसिरहने हो।



देशमा गणतन्त्र आइसकेपछि त नयाँ सुरुवात हुनुपर्छ। त्यो सुरुवात भनेको पुरानो र बूढा पुस्तालाई बेवास्ता र अपमान गरेर हैन उनीहरूले गरेको योगदानको कदर गर्दै अभिभावकत्व स्वीकार गरेर युवा पुस्तालाई अगाडि बढाउनुपर्छ। साथसाथै पछाडि परिरहेको समुदाय क्षेत्र वर्गलाई पनि नेतृत्वमा पुग्ने अवसर सिर्जना गर्नुपर्छ। कल्पना गरौं, अबको पाँच वर्षमा यो देशमा महिला प्रधानमन्त्री हुनेछन्। १० वर्षमा मधेसी दलित राष्ट्रपति हुनेछन्। परिवर्तन त गरे सम्भव छ। इतिहासबाट सिके सम्भव छ।
...

पहिलो पटक अमेरिका भ्रमण गरी फर्केपछि मलाई एकजना मित्रले सोध्नुभयो,'नेपाल र अमेरिकामा के फरक रहेछ?' मेरो उत्तर थियो, अमेरिका सिस्टमले चलेको छ। त्यहाँ सिस्टम छ, हाम्रोमा सिस्टम छैन। तर हामी विवेकमा चलेका छौं। सिस्टममा चल्नुपर्नेहरू नै सिस्टममा चलेका छैनन्। यसले जटिल परिस्थिति सिर्जना गरेको छ। म धेरै पटक अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर विदेश यात्रा गरेको छु, जहिले पनि हाम्रो विमानस्थलमा लागेको लाइन भताभुंग हुन्छ तर यही नेपाली कतार पुगेपछि सतर्कताका साथ रातो घेरा नकाटी लाइनमा लाग्छ, किनकि उसले देख्छ, अघिल्तिरको मान्छेले लाइन बिगारेको छैन। उसले देख्छ सबै कुरा सिस्टममा चलेको छ।

मुख्य कुरा नेपाली समाजमा रोलमोडल को त? कसलाई देखेर त्यस्तो बन्ने त राजनीतिमा जाऔं, अपवादबाहेक रोलमोडल छैनन्। व्यापारिक क्षेत्रमा जानुस् अपवादबाहेक छैनन्। पत्रकारितामा जानुस् अपवादबाहेक रोलमोडल छैनन्। हामी सबै एउटै पोखरीमा छौ हातखुट्टा भएभरको बल लगाएर चलाएका छौं, पोखरी अर्कोले गर्दा फोहोर भयो भनेर आरोपमात्रै लगाएर बसेका छौं। न कि पोखरी सफा गर्ने दायित्व मेरो पनि हो भनेर साहस गरेका छौं। म ठीक अरू बेठीक भन्ने संस्कार रहुन्जेल देश विकास हुनै सक्दैन।

नेपालका एकजना चर्चित मानवशास्त्री डोरबहादुर विष्टले आफ्नो किताब 'फेटालिज्म एड डेभलपमेन्ट'मा भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं, भनेका छन्। त्यसमा थपेर कुरा गर्ने हो भने नेपालमा सबैभन्दा बढी सीप भएका वर्ग समुदायलाई सबैभन्दा पछाडि पारियो र विभेदको सिकार बनाइयो। जसले गर्दा उनीहरूले आफूले गरिरहेको कामप्रति आत्मसम्मानको अनुभूति गर्न सकेनन् र त्यो समुदायका युवा पुस्ताले ती पेसा व्यवसायलाई अँगाल्नेबारे सोचेन। न औद्योगीकरण गर्नेबारे सोचे। नेपाली समाजमा काम गर्नेहरूप्रति सम्मान नभएका कारण पनि नेपालको विकास हुन सकेको छैन। एउटा युवा नेपालमा बंगुरपालन व्यवसाय गर्न हिचकिचाउँछ, तर कतारमा ऊँट हेर्दा स्वाभिमानी भएको महसुस गर्छ, किनकि कामलाई हेर्ने नराम्रो दृष्टिकोण यसको उपज हो। बर्सेनि पाँच लाख ५० हजारभन्दा बढी युवा श्रम बजारमा प्रवेश गर्छन्। नेपालमा कामप्रति सम्मान छैन, दोस्रो व्यवसाय, व्यापार गर्छु भन्ने सोच्यो भने त्यसको वातावरण नै छैन। एकजना व्यवस्थापनमा स्नातकोत्तर गरेको युवाले व्यवसाय सञ्चालन गर्छु भन्यो भने सजिलै कर्जा पाउँदैन। कर्जा पाउनको लागि धितो अनिवार्य छ। धितो राख्नु स्वाभाविक होला र हातमा डिग्री पास गरेको युवाको लागि सर्टिफिकेट सबैभन्दा महत्त्वपूर्ण हो, ब्यांकले अहिलेसम्म सर्टिफिकेटलाई धितो मान्दैन।

केही देशहरूमा परियोजना राम्रो छ भने, ब्यांक आफैं पनि त्यस्तो परियोजनामा सेयर लिएर भए पनि संलग्न हुन्छ र ब्यांकले व्यवस्थापकीय दक्षतालाई प्रयोग गरेर त्यस्ता परियोजनालाई सफल बनाउन मद्दत गर्छ। तर नेपालमा ब्यांकहरूले घरानियाँ व्यापारीलाई मात्र पत्याउने कुरा घामजस्तै छर्लंग छ। अर्को कुरा व्यवसाय गर्नेहरूका लागि नेपालका ब्यांकहरूको ब्याजदर निक्कै उच्च छ। नेपाल राष्ट्र ब्यांकले यसबारे सोच्नु ढिला भइसकेको छ। गाँउगाँउमा खोलेका सहकारीले टाठाबाठालाई धेरै नै फाइदा पुर्‍याएको छ भने, गाउँमा सिर्जनशील परियोजनामा पैसा लगानी गर्नेभन्दा बिहे, व्रतबन्ध र सानोसानो गर्जो टार्ने काममा आम सहकारीको भूमिका देखिन्छ। नेपालका सहकारीहरूले पनि गाउँको आवश्यकता अनुरूपको योजनामा लगानी गर्न ढिला भइसकेको छ।

..
हामी सबैलाई पद चाहिएको छ तर पद पाएपछि म के गर्छु भन्ने योजना छैन। मैले दुई वर्षअघि बिहार समिटमा बिहारका मुख्यमन्त्री नीतिश कुमारलाई भेटेको थिएँ। उनी भन्दै थिए,'मेरा केही गुरुयोजना छन्, बिहार राज्यको कुनै पनि गाउँबाट मुख्यमन्त्रीलाई भेट्न पटना आउँदा ६ घन्टाभन्दा बढी नलागोस्' त्यो योजना पूरा गर्न उनले दु्रतगतिमा गाउँगाउँमा सम्म पुर्‍याइरहेका छन। उनको अर्को योजना थियो, सबै भारतीयहरूको भान्छामा बिहारमा उत्पादन भएको कुनै एक सामग्री पाकोस्, जसका लागि उनले कृषि क्याबिनेट बनाएर काम गरिरहेका छन्। यी केही उदाहरण हुन् उनले बताएका। अरू थुप्रै काम गरेका छन् र बिहारको रूप फेरिँदैछ। हामी पदका लागि आकांक्षी छौं तर पद पाएपछि के गर्ने भन्‍ने योजना हामीसँग छैन। अनि पद सकिने बेलामा हामी अरूले काम गर्न दिएनन् भनेर अरूलाई सरापेर पदबाट बाहिरिन्छौं। पदमा रहँदा गर्ने के हो त्यसको भिजन बनाउन जरुरी छ। यो युवा क्लबदेखि प्रधानमन्त्रीलाई सम्म लागू हुने कुरा हो।

शासनसत्ता हातमा लिएर बसेकामध्‍ये अधिकांशका छोराछोरी देशमा छैनन र देशमै आफ्‍नो भविष्‍य पनि देखेका छैनन्। पार्टीका केन्‍द्रीय सदस्‍यभन्‍दा माथिल्‍लो तहका नेताका छोराछोरी कहाँ छन्? उपसचिव भन्‍दा माथिका छोराछोरी कहाँ छन्?
एक पटक म साथीहरूसँग छलफल गर्दै थिएँ। नेपालमा राजनीतिक पार्टीदेखि, युवाक्लब, आमा समूह, एनजीओ, स्कुल व्यवस्थापनदेखि उपभोक्ता समिति, पेसागत संगठन एवं संस्थाहरू साना वा ठूला संस्था भनौं, सबैको हिसाब गर्ने हो भने पाँच लाखभन्दा बढी अध्यक्षमात्र छन्। यी सबैले मात्र राम्रो गर्ने हो भने नेपाल अवश्य बन्थ्यो होला, अपवाद छाडेर हामी सबै राम्रो गरिरहेका छैनौं या हामीले गरिरहेको काम अपर्याप्त छ भन्‍ने बुझिन्छ।

अन्त्यमा, मूलभूत रूपमा गरिबहरू बेइमान पनि हुँदैनन्। यस अर्थ उनको शासन सत्तामा पहुँच पनि छैन। अहिलेसम्म शासनसत्ता चलाएकाहरूले नै यो देश नबन्नुको जिम्मा लिनुपर्छ। आज पनि यो देश वास्तवमा भनेका गरिब नेपालीआमाका छोराछोरीहरूले कतार, दुबई, मलेसिया या अन्य कुनै विदेशी भूमिमा बगाएको रगत, आँसु र पसिना र उनीहरूको बहुमूल्य जीवनले यो देश चलेको छ र धानिएको छ। तर पनि उनीहरूको न शासनसत्तामा पहुँच छ या राज्यबाट केही सेवासुविधा पाएका छन्। त्यहीँ श्रम गरेर यो देश चलाउन सहयोग गर्छौं भनेर भन्‍नेहरूले एउटा पासपोर्ट लिन नै महिनौं कुर्नुपर्ने हजारौं पैसा खर्च गर्नुपर्ने विवशताको फेहरिस्त लगाइराख्नु पर्र्दैन। यो देशमा शासनसत्ता हातमा लिएर बसेकाहरूका अधिकांश छोराछोरी यहाँ छैनन् र उनीहरूले नेपालमा आफ्नो भविष्य पनि देखेका छैनन्। एकपटक विचार गरौं सबै पार्टीका केन्द्रीय सदस्यभन्दामाथिका तहका व्यक्तिका छोराछोरी यहाँ छन् कि छैनन्? उपसचिवभन्दा माथिल्लो तहमा रहेका व्यक्तिका छोराछोरी यहाँ छन् कि छैनन्? अवश्य पनि अधिकांशको छैनन् भन्ने उत्तर पाउँछौं।

जसले यो देश चलाउँछ र उसैले यो देशमा आफ्नो छोराछोरीको भविष्य देख्दैनन् भने कसले यो देशमा भविष्य देख्दछन्? यो आफैंमा सोचनीय विषय हो। मेरो भनाइको अर्थ यो पनि होइन, विदेश जानु नराम्रो हो। होइन यो त मान्छेको व्यक्तिगत इच्छा पनि भन्न सकिन्छ। तर मैले यहाँ उठाउन खोजेको कुरा यतिमात्र हो, शासनसत्ता हातमा लिएकाहरूले नै यो देश बनाउने हो न कि यो देशका गरिब निमुखा जनताले?

शासनसत्ता हातमा लिएकाहरूले नै अरूमा आशा जगाउने हो। त्यस्तो भएमात्रै सबैतिर आशाको बीउ रोपिन्छ। अन्यथा जनता निराश हुन्छन्। केही समय अगाडि हामी जर्मनीका युवा सांसदहरूसँग छलफल गर्दै थियौं। लामो छलफल भयो। छलफलमा प्रश्न उठ्यो, किन नेपालको विकास भएन, किन युवाको विकास हुन सकेन? छलफलको अन्त्यमा हामीले उनीहरूलाई सोध्यौं, हामीहरूले नेपालको विकास गर्न के गर्न सक्छौं? उनीहरूको उत्तर थियो,'हाम्रो अघिल्लो पुस्ताले हाम्रो देश बनाए र हामी समृद्धिको स्वाद लिइरहेका छौ। तिमीहरूको अघिल्लो पुस्ताले विकास गरेन अब तिमीहरूको पालो हो।'

उनीहरूले यो पनि भने,'तिमीहरूको देश विकास गर्ने। हाम्रो काम त जर्मनी नै अझ कसरी राम्रो बनाउने भन्‍ने हो। अरूले आएर तिम्रो देश बनाइदिँदैन। तिमीहरूको काम हो तिम्रो देश बनाउने।' अन्त्यमा: यो भनाइलाई सार्थक बनाउने हो भने, यहीँ पुस्ताको काम हो नेपाल बनाउने ताकि आउने पुस्ताले हामीलाई गाली नगरोस् र समृद्ध नेपालको स्वाद लिन पाओस्। (अन्नपूर्ण बाट)

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar