### |
जहाज अभावमा यात्रु र शाख गुमाउँदै आएको वायुसेवा निगम चिनियाँ जहाजबाट आन्तरिक उडान बजारमा उल्लेख्य हिस्सा ओगट्ने रणनीतिमा छ। ५६ सिट क्षमतायुक्त एउटा नयाँ जहाजले असार ११ बाट सहरी भेगका विमानस्थल (ट्रंक रुट) मा नियमित उडान गर्न थालिसकेको छ।
'अर्को एउटा नयाँ जहाज लिन चिनियाँ जहाज निर्माता कम्पनीबाट पत्र आएको छ,' निगमका एक अधिकारीले आइतबार नागरिकसँग भने, 'हामी दुई/तीनभित्रै त्यो जहाज निरीक्षण गर्न जाँदैछौं। अर्को जहाज आएपछि बजार हिस्सा थप बढ्ने छ। दुर्गम भेगको उडान संख्या पनि बढ्छ।'
जहाज निर्माता कम्पनी हार्बिन एयरक्राफ्ट म्यानुफ्याक्चरिङ कर्पोरेसनबाट पत्र आएपछि निगमको टोली चीन जान लागेको हो। चीनले भने यसअघि निगमलाई दिएको आपूर्ति मितिअनुसार यो जहाज सोमबार (असार १६) मा काठमाडौं अवतरण गर्ने तालिका थियो।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेलका दुई र १८ सिटयुक्त वाई१२–ई मोडेलका चार जहाज उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
निगमका अनुसार चीनले अहिले लिन बोलाएको जहाज अनुदानमा पाइने चाहिँ हो। यसअघि आएको एउटा एमए–६० पनि अनुदानमै दिइएको जहाज हो। त्यसैगरी सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ तथा बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने छन्। निगमले यसापालिबाट सबै जहाजको बाहिरी रंग, आवरण ढाँचा (लिभरी) अहिले भएका जहाजमा भन्दा नयाँ स्वरूपको बनाएको छ।
'बढीमा दुई साताभित्र अर्को नयाँ जहाजबाट दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तयारी भइरहेको छ,' सम्बद्ध एक अधिकारीले भने, 'पाइलट, इन्जिनियरलगायत सहभागी निगमको टोली चीन गएको केही दिनभित्र जहाज यहाँ आउँछ।'
जहाज आएपछि उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा जहाज दर्ता गर्ने, एयर वर्दिनेस प्रमाणपत्र लिने, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिनेजस्ता प्रक्रिया सुरु हुने उनले जानकारी दिए।
'यसअघि एमए–६० ल्याउपछि जेजस्ता समस्या भोग्नुपरेको थियो, अब त्यस्तो नहोस् भन्नेमा धेरै नै सचेत छौं,' उनले भने, 'सकेसम्म जहाज आएको केही दिनभित्रै नियमित व्यापारिक उडान गर्ने लक्ष्य छ।'
चीनबाट पहिलो जहाज गत वैशाख १४ मा आएको थियो। त्यसको भोलिपल्ट निगमले जहाजको स्वामित्व पाएको थियो। नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजको चीनमा दर्ता खारेज गरिएको कागजात्र पठाइदिन निगमले वैशाख २२ मा निर्मातालाई पत्राचार गरेको थियो।
उताबाट सकारात्मक आश्वासन आए पनि कागजात भने आउन ढिलाइ भइरहेको थियो। त्यसपछि यहाँको प्राधिकरणले पनि फेरि चिनियाँ प्राधिकणलाई पत्राचार गरी कागजात मागेको थियो। तारन्तार आग्रह गरेको ३६ दिन (जेठ २७) मा बल्ल उताबाट दर्ता खारेज भएको पत्र पठाइदिएका थिए। चीनले उत्पादन गरेको वाई१२–ई मोडेलको जहाजले सन् १९८२ मा पहिलो उडान गरेको थियो। १९८५ देखि उसले यस्ता जहाज उत्पादन गरिरहेको छ।
दुई दर्जन नयाँ पाइलट माग
भटाभट जहाज थपिरहेको नेपाल वायुसेवा निगमले एकै पटक २५ जना नयाँ पाइलट लिन लागेको छ। निगमले सातजना वरिष्ठ क्याप्टेन, १० क्याप्टेन र आठजना कनिष्ठ क्याप्टेन लिन लागेको हो।
निगमका अनुसार छोटो दुरीका धावनमार्ग भएका विमानस्थलमा जहाज उडाउन पाँच तथा सहरी भेगका विमानस्थलमा उडाउन दुई वरिष्ठ क्याप्टेन लिइने छ। त्यस्तै साना विमानस्थलका लागि सात क्याप्टेन र सहरी विमानस्थलका लागि तीन क्याप्टेन लिइने छ। कनिष्ठ क्याप्टेनलाई पनि विमानस्थल तोकिएको छैन।
निगमले शनिबार सार्वजनिक सूचना आह्वान गरी पाइलट भर्ना गर्न लागेको हो। २१ वर्ष पूरा गरी ५५ वर्ष ननाघेका तथा नागरिक उड्डयन प्राधिकरणबाट 'एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स' प्राप्त गरी केही वर्ष उडान अनुभव लिएकाले ३० दिनभित्र दर्खास्त बुझाउन पाउने निगमले जनाएको छ। ## |
0 comments:
...