Headlines News :
Home » , , » पद, पैसा र प्रतिष्ठालाई रद्दी मान्ने गायक - जीवन शर्मा

पद, पैसा र प्रतिष्ठालाई रद्दी मान्ने गायक - जीवन शर्मा

###
काठमाडौं : प्रधानपञ्च, मुखिया र जिम्मावालको विरासत बोकेको परिवारको सन्तानले शोषितपीडितका गीत गाउँदै नयाँ व्यवस्था माग्नु आफैमा एउटा विद्रोह थियो। २०१६ सालमा बाग्लुङ राङखानीको एक सम्पन्न परिवारमा जन्मिएका जीवन शर्मालाई पुर्ख्यौली वैभवले रत्तिभर रोकेन, बरु गरिबका झुपडीले जिन्दगीभर तानिरह्‍यो।

परिवारको इज्जत धान्ला भनेर आशा गरेको छोराको ‘विपरीत बुद्धि’ बाबुलाई सैह्‍य भएन। छोरालाई सम्झाउन उनले लाख कोसिस गरे।
‘सम्झाउनुभयो पनि के भन्नु। यसो नगर भनेर सिधै थर्काउनुभयो’, जीवन भन्छन्, ‘अति धार्मिक। बिहान ४ देखि ११ बजेसम्म पूजाकोठामै बास हुन्थ्यो। राजाको भक्त। तत्कालीन व्यवस्थाको हिमायती।‘

रक्तिम सांस्कृतिक अभियानको काठमाडौं अनामनगरस्थित कार्यालयमा परलोक भैसकेका बाबुको ‘कुरा काटिरहेका’ उनी राजनीतिक प्राणी कम र ध्यानी बढी देखिन्थे।

जीवनको अठोटका अगाडि बाबुको दबाब फिक्का भयो। ‘बुबाले पनि मेरो भलो नै चिताउनुभएको थियो तर मेरो बाटो नै बेग्लै थियो’, उनी भन्छन्।

‘सर्वहारा वर्गको निम्ति जीवन अर्पण गर्ने’ उनको प्रतिबद्धताका अगाडि सम्पूर्ण दबाब/प्रभाव निस्तेज हुँदै गए। उनले परिवार त्यागे तर आफ्नो विचार र आस्था त्यागेनन्। ज्ञानको खोजीमा बुद्धले परिवार छोडेजस्तै उनले पनि परिवार त्यागे र ‘मृत्यु वा मुक्ति’ को खोजीका निस्किए।
           
                                                                ****
जीवनको जीवनमा 'टर्निङ प्वाइन्ट'
तीन कक्षा फेल भएपछि उनलाई पुनः स्कुल जान मन लागेन। ‘गोठालो भएर हिँडे। गाईबाख्रा चराउँदै’, उनी सम्झन्छन्, ‘बुबाले कौमदी पढाउन गुरुकहाँ लगिदिनुभयो। पढेजस्तो मात्र गरिदिएँ।‘

तीन वर्षपछि उनलाई फेरि स्कुल भर्ना गरियो। तीन कक्षा फेल भएर तीन वर्ष हल्लिएको मान्छेलाई बाबुले जबर्जस्ती सात कक्षामा भर्ना गरिदिए।

‘के भयो कुन्नि, म त खुब पढ्न थालेँ। एकै वर्षको मिहिनेतमा कक्षामा पहिलो भएछु’, उनले सम्झिए, ‘न जोडघटाउ आउँथ्यो। न एबीसीडी। कसरी पढेँ र पहिलो भएँ? सम्झिँदा ताजुब लाग्छ।‘

यो घटना नै जीवनको जीवनमा टर्निङ प्वाइन्ट थियो।

‘फेरि स्कुल नगएको भए म अलिपछि दिल्ली वा मद्रास जान्थेँ होला’, उनी भन्छन्, ‘स्कुल जान थालेपछि नै राजनीतिक संगत भयो। त्यही सुसुप्त राजनीतिक चेतनाले मलाई अहिलेसम्म डोर्‍यायो।‘

बाग्लुङको सर्कुवास्थित जनता माविबाट उनले २०३४ सालमा ६८ प्रतिशत अंक ल्याएर एसएलसी पास गरे।
                                                                               ****
पहिलो गीत
स्कुले जीवनबाटै गीतसंगीतले तानेकोले उनी विद्यालयमा हुने अन्तरसदनात्मक प्रतियोगितामा सहभागी हुन्थे। ‘गीतसंगीत भनेपछि हुरुक्क। सांगीतिक प्रतियोगिता छुटाउँदैनथेँ’, उनी भन्छन्, ‘म धेरैजसो विजयी हुन्थेँ।‘

यो प्रारम्भिक प्रकारको सांगीतिक यात्रा थियो।

राजनीतिक व्यवस्था जस्तै संगीत पनि फरक हुन्छ भन्ने चेतना आएपछि उनलाई परम्परागत भन्दा बेग्लै गीतसंगीतले तान्यो। ‘शोषण, अन्याय र अत्याचारविरुद्ध गीत गाउनुपर्छ भन्ने सामान्य चेतना त थियो तर यस्ता गीत कहाँ पाइन्छ भन्ने थाहा थिएन’, उनी भन्छन्, ‘काठमाडौं आएपछि ३६ सालको आन्दोलनताका यस्ता गीतसंगीत सुन्न पाइयो। हामीले चाहेजस्ता गीत पनि हुनेरहेछन् भन्ने थाहा भयो।‘
पछि उनी आफैले जनताका गीत लेख्न र गाउन थाले। ‘मैले लेखेर पनि गीत हुन्छ र भन्ने लाग्थ्यो। भावनालाई शब्द बनाएँ। बिस्तारै ती गीत बन्दै गए।‘

‘तपाईँको पहिलो गीत?’

एकछिन गमेपछि उनले आफूले लेखेको पहिलो गीत गाए-

“कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर
चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर।
पूर्वमा लाली चम्केको देख्न आत्तिने छन् कति
मानवको रगत पिएर दानव मात्तिने छन् कति….”

उनका हजारौँ गीत डायरीका पानामा थन्किएका छन्। करिब ७ सय जति रेकर्ड भएका छन्।
                                                                           ****
पारिजातसितको भेट
पञ्चायतकालको जगजगी थियो। विद्यालयमा राजतन्त्र र पञ्चायती व्यवस्थाकै पक्षमा पढाइ हुन्थ्यो। पाठ्यपुस्तकमा राजाकै गुणागान। अधिकांश शिक्षक राजाका भक्त भएपनि  केही भने फरक थिए।

उनीहरु भन्थे- पढेअनुसारको देश छैन। पढाइ र वास्तविकता समान छैन। देश अविकसित छ। विपन्न छ। अशिक्षा, अभाव र भोकोपन छ। शिक्षा पनि हामीले अर्कै दिएका छौँ।

उनीहरुका कुरा जीवनको बालमस्तिष्कमा गहिरोसँग बस्यो- ‘देश विकास हुन नसक्नुको मूलकारण राजतन्त्र हो, सामन्तवाद हो। समाजवाद र साम्यवाद नल्याएसम्म परिवर्तन र विकास सम्भव छैन।‘

‘समाजका सचेत व्यक्तिले भनेका यी कुराले ममा गहिरो प्रभाव पार्‍यो’, उनी भन्छन्।

गाउँमा छँदा सूक्ष्म रहेको राजनीतिक चेतना काठमाडौं आएपछि झाङ्गिने मौका पायो।

उनी नेकपा मसालमा संगठित भैसकेका थिए। काठमाडौं आउने बेला गाउँ पार्टी कमिटीले ‘कमिटेड गराउनु’ भनेर यहाँको कमिटीलाई पत्र लेखिदियो। त्यही पत्र बोकेर उनी २०३५ सालमा काठमाडौं छिरे।

काठमाडौंमा उनको पत्र बुझ्ने मान्छे थिइन्- साहित्यकार पारिजात। पारिजात त्यतिबेला महिला संघको अध्यक्ष थिइन्।

‘उनैले को-कसलाई के के भनिन्। मान्छेहरु भेटाइदिइन्। म वेदना परिवारमा संगठित भएँ र गीत गाउन थालेँ‘, जीवन सम्झिन्छन्, ‘गाउँमा जस्तै काठमाडौंमा पनि हाम्रो संगठन रहेछ भन्ने मैले पहिलो पटक थाहा पाएँ।‘
‌                                                                       *****

टुङ्गियो इन्जिनियरिङ यात्रा
पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न थालेको करिव डेढ वर्ष नपुग्दै ३६ सालमा विद्यार्थी आन्दोलनको आँधीबेहरी चल्यो। आन्दोलनताका छुटेको इन्जिनियरिङ अध्ययन छुटेको छुट्यै भयो।

‘गीत गाउँदै हिँड्न थालियो। आन्दोलन सकियो तर पढाइमा मन फर्किएन। इन्जिनियरिङ यात्रा यत्तिमै टुंगियो’, उनी भन्छन्, ‘त्यसपछिको अधिकांश जिन्दगी गीतसंगीतमै बित्यो।‘

विद्यार्थी आन्दोलन रोकिएपछि ३८ सालमा उनले सोलुखुम्बु जिल्लामा पढाए एक वर्षजति। एक वर्ष मुस्ताङ जिल्लामा पढाए। केही समय बाग्लुङमा पनि पढाए। जनताको अवस्था बुझ्ने, राजनीतिक सञ्जाल/ सम्बन्ध बढाउने र विद्रोहको चेतना फैलाउने योजनामा उनले केही वर्ष देशका विभिन्न भूभागमा अध्यापन गरे।

छुटेको पढाइलाई निरन्तरता दिन उनलाई आवश्यक केही रकम जम्मा भएको थियो। त्यसपछि उनी भारतको बनारस गए, आइए पास गरे र नेपाल फर्किए। पछि उनले त्रिचन्द्र क्याम्पसबाट दर्शन र अंग्रेजीमा बीए गरे। मानवशास्त्रमा एमए गरे। अंग्रेजीमा एमए गर्ने रहर भने पुरा गर्न सकेनन्।

यहीबीच ३९ सालमा उनको बिहे भयो। तीन छोरा भए। बिहे भएको १३ वर्षपछि ५२ सालमा श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले दोश्रो बिहे गरे। ५९ सालमा छोरी जन्मिइन्। तीन छोरा आआफ्नो बाटो लागेका छन्। यता आफू, छोरी र श्रीमतीको डेरा जिन्दगी जारी छ।
                                                                      ****
रक्तिम सांस्कृतिक अभियान
बाग्लुङबाट काठमाडौं आउँदा आफू पूर्णरुपमा गीतसंगीतमै लाग्छु भन्ने उनलाई लागेको रहेनछ। राजनीति गर्छु भन्नेचाहिँ उनले सोचेका रहेछन्।

‘सुरुमा त राजनीतिक यात्रा नै प्रधान थियो। पार्टीमा सांस्कृतिक फाँटको नेतृत्व गर्ने मानिसको अभाव थियो’, उनी भन्छन्, ‘पार्टी नेतृत्व र साथीहरुबाट ‘तैले नेतृत्व गर्नुपर्छ’ भन्ने सुझाव आएपछि मेरो पूर्णकालीन सांगीतिक यात्रा सुरु भयो।‘

त्यसैले जन्मायो रक्तिम सांस्कृतिक अभियान।

२०४३ चैत २६ गते त्रिचन्द्र क्याम्पसस्थित घण्टाघर फेदीबाट जीवनसहितका नौ जनाले सुरु गरेको यो संगठनमा हजारौँ कलाकार आवद्ध छन् जसको नेतृत्व उनी आफैले गरेका छन्।

रक्तिम सांस्कृतिक अभियान गीत गाएबापत अराष्ट्रिय तत्व भन्दै सरकारले ४२ सालमा उनलाई राज्यद्रोहको मुद्दा पनि लगायो। ४४ सालमा उनको टाउकोको ५० हजार मूल्य तोकिएपछि झन् लुकीछिपी हिँड्नुपर्ने अवस्था आयो।

‘४६ सालसम्म भूमिगत अवस्थामा गीत गायौँ’, उनी सम्झिन्छन्, ‘यहाँ कार्यक्रम हुँदै छ भनेर हल्ला गर्‍यो। अर्को ठाउँमा गएर गीत गायो अनि छापामार शैलीमा भाग्यो।’
                                                                            ****
पद, पैसा र प्रतिष्ठा- रद्दी
आधुनिक समाजको अन्तिम लक्ष्य पद, पैसा र प्रतिष्ठा। तर उनको बुझाइमा यी तीनकुरा पूँजीवादका सबैभन्दा रद्दी चिज हुन्।

‘मैले जीवनरुपी कम्प्युटरबाट सबैभन्दा बढि क्षमताका तीनओटा फोल्डर डिलिट गरेको छु- पैसा, पद र प्रतिष्ठा’, उनी मन्द मुस्कुराए।
उनी भन्छन्, पूँजीवादी समाजमा पैसाअनुसारको इज्जत हुन्छ। पदका लागि पनि पैसा चाहिन्छ। पूँजीवादमा पैसाले सबैथोक गर्न सकिन्छ। पैसा नभए सबैकुरा असम्भव।

‘यी एकआपसमा एकदमै जेलिएका चिज हुन्। श्रम गर्नुस्, स्वभाविक हिसावमा आउँछ। जीवन चल्छ। मरिहत्ते गर्नै पर्दैन’, उनी भन्छन्, ‘यी तीनको मोह नभएकैले तपाईँ मलाई जतिबेलापनि आनन्दको मनोदशामा भेट्नुहुन्छ।‘

उनका कुरा पटक्कै यान्त्रिक लाग्दैनथे।
                                                                              ****
माओवादी ठान्थे
उनले गाएका गीत सुनेर धेरैले उनलाई माओवादी भन्ठाने। अहिलेपनि भन्छन्। ‘मसिनो गरी बुझ्नेलेमात्र अन्तर छुट्याउँथ्यो, नत्र धेरैले हामीलाई पनि माओवादी ठान्थे, ‘ उनी भन्छन्।

त्यसो त उनलाई माओवादीमा आउन धेरैपटक प्रस्ताव आयो। तर उनेले त्यहाँ जानु र नजानुको खास अर्थ देखेनन्।

उनलाई लाग्यो, पद, पैसा र प्रतिष्ठामा मरिहत्ते नगर्ने भएपछि कहाँबाट कहाँ जानुपर्‍यो? यहाँ बसेपनि के नबसेपनि के? त्यहाँ गएपनि के नगएपनि के?

‘आखिर जहाँ भएपनि मेरो कर्म शोषितपीडितका आवाज बोल्नु थियो’, उनी भन्छन्, ‘मैले गीत लेख्न र गाउन छोडिन।‘
माओवादी जनयुद्धकालमा उनका गीत झण्डै प्रतिबन्धित थिए।
                                                                              ****
उस्तै छ रुप देशको उस्तै छन् दुःखी जनता
१४-१५ वर्षको उमेरमै शोसितपीडित जनताका निम्ति जीवन समर्पण गर्ने अठोट गरेका उनी कहिल्यै विचलित भएनन्। भन्छन्, ‘कलिलो उमेरमा निर्माण भएको वैचारिक मनोविज्ञानको प्रभाव बाँकी जीवनभर नै परिरह्‍यो।‘

शोषितपीडितका गीतसंगीतको साटो अन्य क्षेत्र वा बिकाउ गीतसंगीत रचनामा लागेको भए आफ्नो व्यक्तिगत जीवन सरल बन्थ्यो भन्ने उनलाई पनि लाग्छ। उनका अगाडि दुईवटा बाटो थिए- एउटा सुखसयल र आनन्दको बाटो।

‘जिन्दगी सजिलो बन्थ्यो होला’, उनी भन्छन्, ‘तर मैले जे गरिरहेको छु त्यो सही छ भन्ने लाग्छ। शोसितपीडित जनताको पक्षमा गीत गाउँदै मर्नु नै उत्तम बाटो हो भन्ने लाग्छ।‘

जेलनेल लगाउँदा पनि उनले गाउन छोडेनन्। ‘गीत गाएर सुखमय जिन्दगी जिउन पाइएला, पैसा कमाइएला भन्ने त झन् कहिल्यै कल्पना पनि गरिएन’, उनी भन्छन्।

‘के कुराले तपाईँलाई यति बलियो बनायो?’

‘सर्वहारा वर्गप्रतिको सांस्कृतिक निष्ठाले’, उनले जवाफ दिए। ज्यान हत्केलामा राखेर गीत गाउनु सजिलो थिएन।

‘कुन बेला कहाँ जेलमा सडेर मर्नुपर्ने हो कि फाँसीमा लट्केर मर्नुपर्ने हो वा गोली खाएर मर्नुपर्ने हो भन्ने बेलामा हामीले गीत गायौँ’, उनी भन्छन्, ‘कहाँ समाउँछ र कुन खोलामा ड्याङ्ङ गोली हानेर मारेर फालिदिन्छ भन्ने लाग्थ्यो।‘

परिस्थिति बदलिएको छ। देशमा व्यवस्था फेरिएको छ। किशोरावस्थामा उनले सुनेको विकासको वाधक राजतन्त्र अहिले छैन। देश प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र प्रवेश गरिसक्यो। ‘तर सर्वसाधारणको अवस्था ज्युँका त्युँ’,  उनले गीतबाटै प्रष्ट्याए-

“फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छेहरु
फेरियो रंग शोसकको फेरिए लुट्ने मान्छेहरु
उस्तै छ रुप देशको उस्तै छन् दुःखी जनता
उस्तै छ दमन हामीलाई उस्तै छ फेरि व्यवस्था…”
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar