|
###
|
काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्।सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ।
संस्कृत भाषाका 'हरित' र 'आलिका' दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। हरितालिका तीजका सन्दर्भमा 'हरित' शब्दको अर्थ हरण गरिएको र 'आलिका' शब्दको अर्थ साथी भन्ने हुन्छ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेका गर्छन्। तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै उनले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताए। 'सर्वतः आत्मानं गोपायेत्' अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने पनि उनले बताए।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने पनि गौतमले जानकारी दिए। श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताए। अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवम् केटाले असल बर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको जानकारी पनि गौतमले गराए।
नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको पनि गौतमले जानकारी दिए।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत रहेको छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको सुख शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व रहेको छ। रासस
आधा घन्टामै दर्शन : कोष
काठमाडौं- तीजमा दर्शन गराउनका लागि पशुपतिनाथ मन्दिरमा तयारी सकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहीबारको तीजका बेला दर्शनार्थीलाई व्यवस्थापन गर्न कोषले सबै तयारी सकिएको बुधबार जनाएको हो। कोषले गहना नलगाउन, प्लास्टिकका झोला नबोक्न, दर्शन छिटो गर्न, मोबाइल प्रयोग नगर्न दर्शनार्थीलाई अनुरोध गरेको छ। दर्शन गर्नका लागि वनकाली, चार शिवालय, पञ्चदेवलपूर्व, बजघर, दक्षिणढोकासम्म पुग्ने पहिलो लाइनको व्यवस्था गरिएको छ। त्यसैगरी अर्को लाइनमा जयबागेश्वरी, भुवनेश्वरी, फलामेपुल, पश्चिम सानो ढोका दोस्रो लाइन र मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकीबाट मन्दिर प्रांगण प्रवेश गर्ने तेस्रो लाइनको कोषले व्यवस्था गरेको छ।
तीज विशेष गरी महिलाको पर्व भएकाले सूर्यघाटबाट आर्यघाटतर्फ पुरुषले प्रवेश पाउने छैनन्। कोषका सदस्यसचिव गोविन्द टण्डनका अनुसार सवारी पास भएकालाई तिलगंगा, देवउद्यान कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला र गुह्येश्वरीमा पार्किङ व्यवस्था मिलाइएको छ। 'बिहान ४ बजेदेखि दर्शनको व्यवस्था मिलाएका छौं,' टण्डनले भने, 'बेलुकी साढे आठ बजेसम्म दर्शन गर्न मन्दिर खुल्नेछ।' विशेष रुपमा छिर्न चाहनेलाई एक हजार रुपैयाँ तिराएरै लाइन नबसी दर्शनको व्यवस्था मिलाइएको उनले जानकारी दिए। टण्डनले मन्दिरभित्र पुगेको ३० मिनेटमा दर्शन गर्न सकिने बताए।
|
##
|

0 comments:
...