Headlines News :
Home » » बुद्ध जन्मभूमिबारे यथार्थ

बुद्ध जन्मभूमिबारे यथार्थ

###
मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय यात्रापछि नेपाल र भारतबीचको सम्बन्धमा नयाँं आयाम थपिने विश्‍वास गरिएको छ। भ्रमणका क्रममा साउनको सोमबार मोदीबाट भएको देवादिदेव महादेव पशुपतिनाथको पूजाअर्चनाले ज्ञानको भण्डार एवं आधुनिक विज्ञानको जननी हाम्रो प्राचीन ग्रन्थ वेदको महत्त्व थप बढेको छ।

ओमकार परिवार जोड्दा नेपालमा ८० प्रतिशत हिन्दु धर्मावलम्बी छन्। मोदीबाट भएको पशुपतिनाथको पूजाअर्चनाले ओमकारमा विश्‍वास गर्ने नरनारीमा समेत विशेष छाप परेको छ। धार्मिक र सांस्कृतिक भावनाले मोदीलाई नेपाल र नेपालीको नजिक ल्याइदिएको छ।

त्यसैले यसलाई सम्बन्ध सुधारको अवसरका रूपमा सदुपयोग गर्नुपर्छ। मोदीले देखाएको सदासयता र सद्‍भाव सदुपयोग गर्न सके सम्बन्धले नयाँ मोड मात्र लिने छैन, विगतमा मूल समस्याका रूपमा रहेको नेपाल-भारतबीचको आपसी अविश्वास पनि क्रमश: हट्दै जानेछ।



मोदीको नेपाल भ्रमणपछि अनावश्यक चर्चाको विषय बनाइएको शाक्यमुनि गौतमबुद्धको जन्मस्थानबारेका टीकाटिप्पणी पनि विस्तारै हुन छोडेका छन्। त्यसैले पनि सार्क शिखर सम्मेलनमा नेपाल आउँदा लुम्बिनीको भ्रमण गर्ने मोदीको कार्यक्रमले यस क्षेत्रका वासिन्दामा उत्साह थपिएको छ।

आज सबैलाई शान्ति चाहिएको छ। शक्ति , सामथ्र्य, ऐश्‍वर्य र धन छ तर अभाव खड्केको छ शान्तिको। बौद्ध दर्शनले यसको अभाव पूर्ति गर्ने सबैको विश्वास छ। हाम्रो मानव सभ्यताले पनि बौद्ध दर्शनप्रति आशा गरेको छ। बुद्धले दिएको शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह, निर्मोह जस्ता सद्गुण मानवका लागि ठूलो देन हो।

बुद्धसँग सम्बन्धित एक सय २७ स्थल भएको कपिलवस्तुस्थित तिलौराकोटलाई बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थलका रूपमा विकास गर्नुपरेको छ। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा बुद्धमार्गीको ठूलो बसोबास छ।

विश्वकै बौद्धमार्गीहरू बुद्धको जन्मस्थलो लुम्बिनीलाई विशेष श्रद्धा र प्रेम गर्छन्। त्यसैले ऐतिहासिक स्थल लुम्बिनी क्षेत्रप्रति बुद्धधर्म र दर्शनमा आस्था राख्नेहरू मात्र होइन, विश्‍वकै शान्तिकामी जनताको आकर्षण छ। त्यसैले पनि बुद्धको जन्मस्थलो लुम्बिनीको कपिलवस्तुस्थित तिलौराकोटलाई बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर एवं पवित्र तीर्थस्थल बनाउन जरुरी भएको हो।

बुद्धको जन्मस्थलबारे मित्रराष्ट्र भारत र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नकारात्मक टीकाटिप्पणी गरे। त्यसले लुम्बिनीवासीलाई मात्र होइन, आम नेपाली जनतालाई दु:खी बनायो। शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको र उनले बाबु राजा शुद्धोधनको राजदरबार रहेको तिलौराकोटमा २९ वर्षसम्म आफ्नो प्रारम्भिक जीवन व्यतित गरेर राजपाठ त्यागेका प्रामाणिक इतिहास छ।

आजसम्म यसको कतैबाट साधिकार खण्डन भएको छैन। तर केही वर्षअघि मित्रराष्ट्र भारत सरकारको उत्तरप्रदेशको बस्ती जिल्लालाई खण्डित गरी नयाँ सिद्धार्थनगर जिल्ला घोषणा गर्ने र सिद्धार्थनगरको अभिन्‍न अंगका रूपमा बौद्धकालीन अवशेष रहेको गनौरिया क्षेत्रका भग्नावशेषलाई नै राजा शुद्धोधनको दरबार क्षेत्र भनेर प्रचारप्रसार गर्ने उत्तर प्रदेश राज्यको घोषणाले कपिलवस्तुवासीलाई दु:खी तुल्याएको थियो।

हो, गौतमबुद्धसँग जोडिएका महत्त्वपूर्ण चार धाममध्ये तीन धाम भारतमै पर्छ- ज्ञान प्राप्त गरेको बोधगया, पहिलो धर्मदेशना गरेको सारनाथ र त्यसपछि परिनिर्वाण भएको कुशीनगर। तर नेपालमा जन्मिएका बुद्धलाई भारतमा जन्मिएको भनेर लुम्बिनी र कपिलवस्तुको ऐतिहासिक सन्दर्भलाई चुनौती दिन खोजिएका टिप्पणीले हामी कपिलवस्तुवासीलाई दु:ख लाग्नु स्वाभाविक हो।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि शाक्यमुनि गौतमबुद्धको जन्मस्थानबारे भ्रम हटेको छ। त्यसैले पनि सार्क शिखर सम्मेलनमा नेपाल आउँदा लुम्बिनीको भ्रमण गर्ने मोदीको कार्यक्रमले यस क्षेत्रका वासिन्दामा उत्साह थपिएको छ।
पहिले हामीले आफ्नै आँखाले देखेको गोरखपुरबाट गोन्डा जाने रेलवे स्टेसन नौगढदेखि बलरामपुरमा बुद्धको बाबु शुद्धोधनको राजप्रसादा तिलौराकोट यति किलोमिटर टाढा भनेर राखिएका माइल स्टोनहरू रातारात हटाइयो त्यसले पनि कपिलवस्तुवासीलाई चिन्तित तुल्यायो।

मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका क्रममा व्यवस्थापिका-संसद्लाई सम्बोधन गर्दा बुद्ध जन्मिएको देश भनेर नेपालप्रति गौरव गरे। त्यसले उत्तर प्रदेश राज्यले फैलाएका भ्रम हटाउने प्रयास भयो। सत्य एउटै हुन्छ। बुद्धिमान व्यक्तिले सत्य स्वीकार्छन् र त्यही सत्यका आधारमा सम्बन्ध स्थापित गर्छन् भन्‍ने उदाहरण मोदीले प्रस्तुत गरेर गए, यो नेपालका लागि स्वागतयोग्य हो।

लुम्बिनीका वासिन्दाको तर्फबाट म मोदीप्रति आभार प्रकट गर्न चाहन्छु। यसबारे फैलाइएका भ्रम पूर्णरूपमा निमिट्यान्न पार्न म भारत सरकारसँग विनम्र आग्रह गर्दछु। नेपाल आमाको छातीमा हान्दा नेपालीको मन अवश्य दुख्छ। त्यसैले सार्क सम्मेलनमा नेपाल आउँदा लुम्बिनीको भ्रमण गर्ने मोदीको इच्छाले पनि विगतका भ्रम निवारण हुनेमा हामी पूर्ण आशावादी छौं।

मित्रराष्ट्र भारतसँग हाम्रो आग्रह के हो भने विश्व जनसंख्याको एक तृतीयांशले बौद्ध धर्म मान्छन्। आज विश्वमै अशान्ति छ। युद्धको खतरा मडारिरहेको छ। कतैकतै प्रत्यक्ष युद्ध पनि भइरहेका छन्। बौद्धधर्मले विश्व शान्तिको मार्गप्रशस्त गरेकाले यसप्रति धेरैको विश्‍वास छ।

त्यसैले पनि बौद्ध धर्मप्रति धेरैको आकर्षण बढेको छ। यस्तो अवस्थामा बौद्ध धर्मको बजारीकरणमा सघाउने हो भने नेपाललाई मात्र होइन, भारतलाई पनि फाइदा पुग्नेछ। यसले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्ने हाम्रो चाहनाले पनि मूर्तरूप पाउनेछ। त्यसबाट दुवै देशलाई लाभ हुनेछ।

लुम्बिनीमा एक विद्वान् प्राध्यापक रामनिवास पाण्डे हुनुहुन्थ्यो। उहाँले बुद्ध जन्मस्थानबारे बाँचुन्जेल आफ्ना अकाट्य तथ्य, तर्क र प्रमाण पेस गर्नुहुन्थ्यो। गौतम बुद्ध जन्मिएको राजा शुद्धोधनको दरबार तिलौराकोट, कटुक्सन बुद्ध जन्मिएको गोटिहवा र कनकमणि बुद्ध जन्मिएको निक्लिहवा भएको सम्राट् अशोकले आफ्नो अशोक स्तम्भमा राखेर प्रमाणित गरेका छन्।

प्राध्यापक पाण्डेले मित्रराष्ट्र भारत सरकारले पनि यी कुरा प्रमाणित गरेको बताउनुहुन्थ्यो। पाण्डेले जीवनको अन्तिम समयमा आफूसँग भएको पुस्तक कपिलवस्तुको पुरानो ऐतिहासिक पशुपति पुस्तकालयलाई दान गर्नुभएको रहेछ। त्यसमध्ये भारतको सूचना तथा प्रसारण मन्त्रालयद्वारा २४ मे १९५६ मा प्रकाशित एस राधाकृष्णम्द्वारा लिखित 'पच्चीस सय एअरर्स अफ बुद्धिजम' नामक पुस्तकमा नेपालबारे लेखिएको रहेछ।

उक्त पुस्तकको पेज नं ८२ मा लेखिएको छ, 'बुद्ध धर्मका संस्थापक शाक्यमुनिको उत्पत्तिको थलोको रूपमा विश्वका बुद्धमार्गी मुलुकहरूमा नेपालले विशेष स्थान ओगट्छ। शाक्य राजाका छोरा गौतम ईशापूर्व ५४४ मा लुम्बिनीमा जन्मिएका थिए। जुन कपिलवस्तुस्थित उनका पिताको निवासभन्दा १५ माइल टाढा पर्दथ्यो।'

भारत सरकारले नै प्रकाशित गरेको यो पुस्तक नै यथेष्ट प्रमाण हो। त्यसैले भारत सरकारले तिलौराकोट दरबार लुम्बिनीका बारेमा कुनै विवाद गर्न सक्दैन र आजसम्म गरेको पनि छैन। उत्तरप्रदेश सरकारले आफ्नो पर्यटन विकासका लागि भनेर यस्तो प्रचार गर्नु हुन्‍न।

बौद्ध धर्मावलम्बी राष्ट्र धनी छन् र उनीहरूबाट सहयोग पाउन सकिन्छ भनेर गरिएको गलत प्रचारले दीर्घकालीन रूपमा फाइदा हुँदैन। आफ्नै केन्द्र सरकारको सूचना मन्त्रालयले प्रकाशन गरेको र विश्वको कुनै ठाउँबाट खण्डन नभएको विषयलाई उछालेर प्रदेशको विकास हुन सक्दैन।

गौतम बुद्धको जन्मस्थानबारे रेल मन्त्रालयले राखेका बोर्ड र लुम्बिनीलाई देखाएर राखिएका माइल स्टोन रातारात हटाएको विषयमा भारत सरकारको अझै ध्यान पुगेको छैन। यस विषयमा केन्द्र सरकारको ध्यान अवश्य पुग्नेछ भन्‍नेमा लुम्बिनीवासीको विश्वास छ।

आज विश्वयुद्ध विभीषिकाबाट ग्रस्त छ। त्यसैले विश्‍वमै शान्ति चाहने बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिको सहर बनाउने हाम्रो परिकल्पनालाई साकार रूप दिन पनि सबैले आआफ्नो ठाउँबाट सहयोग पुर्‍याउनुपर्छ। नैतिक चरित्र ह्रास हुँदै गएको अहिलेको अवस्थामा मानवमा सकारात्मक परिवर्तन आए उसको विचारमा पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने बुद्धको सन्देशको स्मरण गर्नु जरुरी छ।

बुद्धको स्मरण गर्ने तर उनका उपदेशविपरीत अन्याय र अत्याचारको मार्ग नछोड्ने हो भने हामी गन्तव्य भुलेको यात्रीजस्तै हुनेछौं। नेपाल शान्तिको देश भनेर विश्वमा चिनाउने अवसर हामीसँग अझै सुरक्षित छ। विश्व जनसंख्याको करिब एकतिहाइ मानिस बुद्ध धर्म मान्नेहरू छन्।

नेपालप्रति बौद्ध धर्मावलम्बीको जुन आकर्षण छ, त्यसअनुरूपको लाभ लिन हामीले अझै सकेका छैनौं। विश्‍व शान्तिको बाटोमा हिँडिरहोस् भन्ने २५ सय वर्षअगाडिको बुद्धको उपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छ। सम्पन्‍नता र शक्तिलाई मात्र शान्ति ठान्‍नेहरूका चिन्तनको उपज आज विश्वमा अशान्ति छ, सुख छैन, व्यक्तिलाई जीवन के हो भन्ने अनुभूति हुने सकेको छैन।

गौतम बुद्धले यस्तै सन्देश छोडेर गएका छन्। उनका उपदेश मात्र मनन गर्ने हो भने हामीलाई सम्पन्न हुन बेर लाग्ने छैन। तर हामीले आम नागरिकको शान्तिको चाहना पूरा गर्न र उनीहरूले अपनत्व महसुस गर्न सक्ने संविधान निर्माण गर्न सक्यौं भने त्यसपछि विकासका ढोका पनि खुल्नेछन् र नेपाल शान्तिको देशमा फेरि फर्कनेछ। सबैको चाहना नेपाल र नेपालीको हित नै हो भने मिलेर अघि बढौं।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar