|
###
|
गाउँ पारिपट्टि अरनिको राजमार्ग थियो, झोलुंगे पुल तरेर जानुपर्थ्यो। गाडी चढ्न केही अप्ठेरो थिएन। साउन १७ गते गाउँपारिको जुरेमा ठूलो पहिरो गएपछि भने उनलाई संसारबाटै एक्लिएजस्तो भयो।
‘राति ठूलो भुइँचालो आएजस्तो भयो। हतपत बाहिर निस्केर हेरेको, डाँडै गर्ल्यामगुर्लुम्म पल्टेको रहेछ। सुनकोसी थुनिएर बिहानसम्ममा पूरै गाउँसँगै पारि जाने झोलुंगे पुल पनि पुरियो। त्यसपछि हामी अर्कै देशका जनताजस्तो भयौं,' पहाडीले भने।
जसरी उनले पारि गाउँ जुरेमा त्यति ठूलो पहिरो जाने कल्पना गरेका थिएनन्, त्यसैगरी आफ्नो गाउँमा मोटर बाटो र पक्की पुल बन्ने पनि कल्पना गरेका थिएनन्। अकल्पनीय दुःखद घटनापछि उनले अहिले आकस्मिक खुसी पाएका छन्। चिनजानका व्यक्तिको जनधनको क्षति हुँदा उनलाई जति दुःख लागेको थियो, अहिले विस्तारै त्यसलाई बिर्संदै खुसी हुन थालेका छन्। उनकै शब्दमा विनाशले उनको गाउँमा विकास ल्याएको छ।
‘पुल र बाटो बनेर गाडी चल्दा अहिले खुसी लागेको छ। विनाशले पनि विकास ल्यायो। नत्र हाम्रोतिर पुल र बाटो ५० वर्षसम्म पनि बन्थेन होला,' पहाडीले भने। नेपाली सेनाले वैकल्पिक अस्थायी सडक निर्माण गरी सञ्चालनमा ल्याएपछि पहाडीलगायत गाउँलेमा खुसी छाएको हो। सुनकोसी नदीमा एक्रोब्रिज राख्ने कार्य सम्पन्न भएपछि सोमबारबाट सार्वजनिक यातायात (साना) का लागि सडक खुला गरिएको छ। सडकमा दैनिक ९० भन्दा बढी साना गाडी गुड्ने अनुमान छ।
साउन १७ गते सिन्धुपाल्चोकको राम्चे–५, जुरेमा गएको पहिरोले सुनकोसी थुनिँदा अरनिको राजमार्ग अवरुद्ध भएको थियो। त्यसपछि सरकारले वैकल्पिक अस्थायी सडक खोल्न निर्देशन दिएपछि सेनाले अरनिको राजमार्गपारि सडक बनाउन थालेको थियो। सेनाले निर्माण गरेको वैकल्पिक मार्ग खाडीचौरबाट सुरु भई एककिलो, पावरहाउस, उन्युचौर (टेकनपुर), दाबी (धुस्कुन) हुँदै बाह्रबिसे बजार पुगेर टुंगिएको छ।
Sunkosi 2
‘निर्माण साउन २७ गतेबाट सुरु गरेका थियौं। सुनकोसीमा एक्रोब्रिज राखेपछि अब बाटो सर्वसाधारणका लागि खुला गरिएको छ,' नेपाली सेनाका प्राविधिक मेजर इन्दिवर गुरुङ (इन्जिनियर) ले भने, ‘नयाँ वैकल्पिक अस्थायी सडकको लम्बाइ १०.८ किलोमिटर छ।' पहिरोले अरनिको राजमार्ग नबिगार्दा खाडीचौर–बाह्रबिसे सडकको दुरी सात किलोमिटर थियो।
सेनाले वैकल्पिक बाटो खोल्ने क्रममा २.६ किलोमिटर नयाँ ट्र्याक खोलेको हो भने बाँकी पुरानो सडक मर्मत गरेको हो। सेनाका अनुसार नयाँ ट्र्याकको चौडाइ ५.५ मिटर छ, पुरानोको ४ मिटर। ट्र्याक जोड्ने कार्य भदौ १२ गते सम्पन्न भए पनि सुनकोसीमा पुल नबन्दा सडक सञ्चालनमा आउन सकेको थिएन।
बाटो खोल्ने क्रममा सेनाले सुनकोसीमा एक्रोब्रिज, टौथली खोला र दाबी खोलामा अस्थायी कज्बे राखेको छ। सुनकोसी नदीमा राखिएको एक्रोब्रिज सेनालाई अमेरिकाले दिएको थियो। ‘नेपालमा एक्रोब्रिज प्रयोग पहिलोपटक गरेका हौं,' नेपाली सेनाका प्रमुख सेनानी सुरेशकुमार कार्कीले भने।
सेनाका अनुसार सुनकोसीमा राखिएको एक्रोब्रिजको लम्बाइ ३६.५८ मिटर र चौडाइ साढे पाँच मिटर छ। ३० टनसम्मको भार ब्रिजले वहन गर्नसक्ने जनाइएको छ।
कज्वेबाट यातायात सञ्चालन गरिएको भए पनि वर्षाका बेला त्यस्ता ठाउँमा पुल तथा कल्भर्ट निर्माण गर्नुपर्ने सेनाले जनायो। नयाँ सडकमा ठूला कन्टेनर चलाउनका लागि ठाउँ–ठाउँमा सडक बढाउनुपर्ने गुरुङले बताए।
सडक विभाग र व्यापारीले पनि पहिरो गएकै स्थानमा अस्थाई मार्ग खोली अवरुद्ध सडक सञ्चालनमा ल्याएका छन्। तर, उक्त सडकमा व्यापारीका कन्टेनरमात्र आवत–जावत गर्न दिइएको स्थानीय बताउँछन्।
|
##
|


0 comments:
...