Headlines News :
Home » » रिस रोक्‍नुस्, मुटु बचाउनुस्

रिस रोक्‍नुस्, मुटु बचाउनुस्

###
सामान्यत: रिसाउने बानी जोकसैलाई मन पर्दैन। अझ आफ्ना नजिकका मानिस त कहिल्यै पनि नरिसाऊन् भन्ने चाहना सबैको हुन्छ। तर पनि कतिपय मानिसले विभिन्‍न कारण र बहानामा एकअर्कामा रिस पोखिरहेको पाइन्छ।

कहिलेकाहीँ हैन, सधैंजसो झडंग रिसाउने बानी कतिपयको हुन्छ। रिसाउने बानीका कारण त्यस्ता व्यक्ति आफ्नो परिवार, आफन्त, साथीभाइसँग टाढिनु परेका कयौं घटना छन्।

चिकित्सकका अनुसार ससाना कुरामा झडंग रिसाउने व्यक्ति आफन्तसँग टाढिनेमात्र होइन, उनीहरू स्वयंलाई हृदयाघात हुने खतरा सबैभन्दा बढी हुन्छ। मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिका अनुसार रिस तथा कुण्ठाले मुटुको चाल असामान्य बन्ने र आकस्मिक मृत्युसमेत हुने गरेको छ।


केही समयपहिले बेलायतमा भएको एक अध्ययनमा वैज्ञानिकहरूले कमजोर मुटुलाई स्वचालनमा ल्याउन उपकरण शरीरभित्र प्रत्यारोपण गर्दा शारीरिक तनावले भन्दा मानसिक तनाव व्यक्तिको मुटुको गति असामान्य गराउने एकमात्र कारण भएको पत्ता लगाएका थिए।

डा. मूर्ति हृदयाघात बढाउँदै लैजानेमा रिसले महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन्। उनी भन्छन्, 'कम रिसाउने मानिसभन्दा झडंग रिसाउने मानिसमा दोब्बर बढी हृदयाघात हुने वा छाती दुख्‍ने समस्या हुन्छ, त्यसैले रिस नियन्त्रण गर्नैपर्छ।'

विशेषगरी कतिपय मानिस रिस उठेका बेला आफ्नो टाउको आफैं ठोक्ने, अगाडि भएको सामान फुटाउने, रिस वा मन नपरेको मानिसलाई जे पायो त्यहीले हान्ने गरेको पाइन्छ। यसका कारण कहिलेकाहीँ ठूल्ठूला दूर्घटनासमेत हुने गरेका छन्।

उनीहरूलाई समयमै सम्झाउन सकिएन भने रिसका कारण नोक्सान पुर्‍याउने खालका असर बढ्दै जाने र अन्तत: त्यसैले पछुताउन बाध्य बनाउँछ। मुटुरोग विशेषज्ञ अरुण मास्के भन्छन्, 'धेरै रिस चाहे त्यो लुकाइएको होस् वा व्यक्त गरिएको होस्, त्यसबाट बढेको तनाव खेप्ने मानिसमा बढी हृदयाघात हुन्छ, त्यसैले रिस नियन्त्रण गर्दै शान्त रहने कोसिस गर्नुपर्छ, हैन भने त्यसले क्षति पुर्‍याउँछ।'

रिस शान्त तरिकाले व्यक्त गर्न नसक्दा कतिपय मानिस पक्षाघातको सिकारसमेत भएको चिकित्सकहरू बताउँछन्। आफूलाई मन नपर्ने र आफूले नगरेको कुरा सुन्नासाथ धैर्य गर्न नसक्दा त्यस्तो समस्या झेल्नुपर्ने हुनसक्‍छ।

त्यसैले सकेसम्म नरिसाउने र रिसाउने कारण भए पनि शान्त तरिकाले व्यक्त गर्ने बानी विकास गर्न सके जीवन स्वस्थ हुनेछ, स्वस्थ जीवनले खुसी अवश्य ल्याउनेछ। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar