Headlines News :
Home » , » महिला आन्दोलनकी धरोहर सहानाको सरकारी सम्मानकासाथ अन्तेष्टि (भिडियोसहित)

महिला आन्दोलनकी धरोहर सहानाको सरकारी सम्मानकासाथ अन्तेष्टि (भिडियोसहित)

###
काठमाडौं, आश्विन ७ । नेपालको वामपन्थी र महिला आन्दोलनकी धरोहर एमाले नेतृ सहाना प्रधानको सरकारी सम्मानकासाथ अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा नेतृ प्रधानको पार्थिक शरीरमा उनका छोरा उमेश प्रधानले दागबत्ति दिएका थिए ।

त्यसक्रममा शसस्त्र प्रहरीले नेतृ प्रधानलाई सलामी दिएको थियो ।

यस्तै, नेतृ प्रधानको पार्थिव शरीरमा कार्यबहाक प्रधानमन्त्री बामदेब गौतमले राष्ट्रिय झन्डा, एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा, पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधव नेपालले पुष्पलालको तस्वीर अंकित झन्डा र अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले महिला संघको झन्डा ओढाएका थिए ।

सहानाप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न विभिन्न दलका नेता र शुभेच्छुकहरु पशुपति आर्यघाट पुगेका थिए ।

यसअघि श्रद्धान्जलीका लागि उनको पार्थिव शरीर बिहान ८ बजेबाट एमाले पार्टी कार्यालय बल्खुमा राखिएको थियो । बल्खुमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल र उपप्रधानमन्त्री बामदेव गौतम, कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एकीकृत माओवादीका नेता बाबुराम भट्टराई, गिरीराजमणि पोखरेल, नेकपा– मालेका महासचिव सीपी मैनालीलगायतले नेतृ प्रधानप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

८७ वर्षीया सहानाको सोमबार राति ११ बजे उपचारकै क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । तीन वर्षयता नसाको समस्याबाट पीडित प्रधान लामो समयदेखि बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत थिइन् ।

विक्रम सम्वत् १९८४ सालमा जन्मिएकी प्रधानको बाल्यकालका केही समय तत्कालीन बर्मामा बितेको थियो । उनले २००३ सालतिर देशमै पहिलोपटक महिला शिक्षा र मतदानको अधिकारका लागि आवाज उठाएकी थिइन् ।

२००४ सालमा दिदी साधना र महिला नेतृ मंगलादेवी सिंहसँग मिलेर नेपाल महिला संघ स्थापना गरी उनी राजनीतिमा होमिएकी थिइन् । भारतमा उच्च शिक्षा हासिल गरेकी नेतृ प्रधानको विवाह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भएको थियो ।

२०१५ सालमा पुष्पलालको पक्षमा प्रचार गर्दै हिँडेकी प्रधान २०१७ सालको राजनीतिक कान्डपछि पढाइतिरै फर्किएकी थिइन् । २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि उनी अध्यापनमा लागेकी थिइन् ।

२०३७ सालमा पुष्पलालको निधन भएपछि साहनाको राजनीतिक सक्रियता पुनः बढेको थियो । २०४६ सालमा संयुक्त वाममोर्चाको अध्यक्षको हैसियतमा जनआन्दोलनको नेतृत्व गरेकी साहना तत्कालीन अन्तरिम मन्त्रिपरिषदमा दोस्रो मर्यादाक्रममा मन्त्री बनेकी थिइन् ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar