|
###
|
भीमदत्तनगर: प्रहरीले चोरीका मोटरसाइकल चोरी गर्ने र नम्बर प्लेट परिर्वतन गरी मोटरसाइकल चलाउने गिरोहका चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का प्रेम विष्ट, मोहित कोइली, आशिष रिजाल र अमित ओड रहेका छन् । उनीहरूलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान एवम् नियन्त्रण सहयोग टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरू लामो समयदेखि मोटरसाइकल चोरी गर्दै आएको अनुसन्धान टोलीले जनाएको छ ।केही दिनअघि उक्त समूहले महेन्द्रनगरस्थित गङ्गोत्री होटलबाट म१प ३३२५, म१प ४३४१ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । अनुसन्धान टोलीले होटेलले प्रयोग गरेको सिसी टिभीको आधारमा उक्त गिरोह पक्राउ गर्न सफल भएको बताएको छ । “सिसिटिभीको मद्दतले चोरको पत्ता लगायौँ”–क्षेत्रीय अनुसन्धान एवम् नियन्त्रण सहयोग टोली महाकालीका एक प्रहरी अधिकृतले भने–“सोधपुछ गर्दै जाँदा उक्त गिरोहको बारेमा थाहा पाइयो ।”
“नम्बरप्लेटलाई मोटरसाइकल मर्मत गर्ने ठाउँमा लगेर म१प १४०३ बनाए”–ती प्रहरी अधिकृतले बताए । टोलीले मोटरसाइकलका नम्बरप्लेट परिवर्तन गर्न सघाउने मोटरसाइकल मर्मत गर्ने ठाउँको पनि अनुसन्धान गरिरहेको जनाएको छ । गिरोहबाट प्रहरीले युए०६ई १२५९ भारतीय नम्बरप्लेट भएको मोटरसाइलसमेत बरामद गरेको छ ।
प्रहरीले केही समययता जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि सक्रियता बढाएको छ । हालसम्म प्रहरीले जिल्लाका विभिन्न स्थानबाट झन्डै एक दर्जन चोरीका मोटरसाइकल नियन्त्रणमा लिई भन्सार चलान गरिसकेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पुष्करबहादुर चन्दले बताए । - रासस
|
##
|

0 comments:
...