Headlines News :
Home » » ' हतियार फिर्ता माग्दिनँ तर फेरी पनि विद्रोहको नेतृत्व म गर्छु '

' हतियार फिर्ता माग्दिनँ तर फेरी पनि विद्रोहको नेतृत्व म गर्छु '

###

काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस एमालले बहुमतको बलमा संविधान ल्याउने प्रयास गरेमा मुलुकमा ठूलो विद्रोह हुने र त्यसको नेतृत्व आफूले गर्ने बताएका छन्।

पहिचान र संघीयतासहितको संविधान निर्माण गर्न दबाब दिन खुलामञ्चमा शुक्रबार आयोजित बाइस दलको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'कांग्रेस एमालेले अहिलेको संविधानमा ल्याएको बहुमत तथाकथित हो। यसको बलमा संविधान जारी गर्न खोजिए मुलुकमा अर्को शान्तिपूर्ण विद्रोह हुन्छ। त्यसको नेतृत्व म गर्छु।' उनले शान्तिप्रक्रियाप्रति प्रतिवद्ध रहेकोले बुझाइसकेको हतियार फिर्ता नमाग्ने तर विद्रोहको नेतृत्व गर्न तयार रहेको स्पष्ट पारे।

उनले संविधान ल्याउने बाटो सहमतिबाहेक अर्को हुननसक्ने बताए। कांग्रेस एमाले सहमति छोडेर अर्को बाटोबाट संविधान ल्याउन खोजेमा मुलुकमा राजनीतिक दुर्घटना हुने चेतावनी दिए। उनले भने, 'हतियार बुझाएपछि संविधान तत्काल बन्छ भनियो। हामी इमान्दार भएर हतियार बुझायौं तर धोखा भयो।'

दाहालले अहिले संघीयता र धर्मनिरपेक्षताविरुद्ध डरलाग्दो हमला हुन थालेको बताए। विगतमा जनयुद्ध सुरु हुनुअघि यसैगरी खुलामञ्चमा आमसभा गरेर माग सुन्न आग्रह गर्दा तत्कालीन सरकारले बेवास्ता गरेका कारण सशस्त्र विद्रोह भएको स्मरण गर्दै दाहालले यस सभालाई पनि गम्भीर रूपमा लिन चेतावनी दिए।

२२ दलीय मोर्चाको संयोजक बनेपछि कांग्रेस र एमालेका नेताले आफूलाई 'तपाईं यताको कि उताको' भनेर प्रश्न गर्न थालेको दाहालले बताए। '२२ दल संघीयता र पहिचानसहितको संविधान जारी होस् भन्ने चाहन्छन्। विगतमा कांग्रेस-एमालेले पनि यसमा सहमति गरेका छन्। त्यसैले दुवै पक्षको उद्देश्य पनि एउटै भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्रको र २२ दलीय गठबन्धन दुवैको संयोजक हुँ भनेर जबाफ दिएको छु', दाहालले भने।

सभा सरकारविरोधी नभएको दाबी गर्दै दाहालले सल्लाह दिनमात्र डाकिएका प्रतिनिधिको भेलामात्र भएको बताए। 'टेबुलमा एक्लाएक्लै कुराकानी भइरहेको छ। त्यसले अलि पुगेन कि भनेर तपाईं जनताका प्रतिनिधिको माझबाट सरकारलाई सल्लाह दिऊँ कि भनेर कार्यक्रम आयोजना गरिएको हो', दाहालले भने। विगतमा भएको १२ बुँदे सहमति र पहिलो संविधानसभाले गरेको सहमतिका आधारमा नयाँ संविधान निर्माण हुनुपर्ने दाहालको माग थियो।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता, पहिचान र धर्मनिरपेक्षता खतरामा पर्दै गएको बताए। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस र एमालेको गठबन्धन अपवित्र भएको बताए। उनले पहिचान र संघीयताबिना नै संविधान जारी गर्ने षड्यन्त्र भएकाले त्यसलाई चिर्नुपर्ने बताए। तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले कांग्रेस र एमालेलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिँदै विगत निर्वाचनमा मोटाएको नभई सुन्निएको महसुस गर्न पनि आग्रह गरे।

संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जातीय पहिचान र संघीयताबिना बहुमतबाट संविधान जारी भए त्यो संविधानसभाभित्रै जल्ने बताए। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि पहिचान र अधिकारबिनाको संविधान मान्य नहुने चेतावनी दिए। सभामा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवलगायतले बोलेका थिए। सभा सुरु हुनुअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar