|
###
|
काठमाडौ, आश्विन २४ - विदेशमा रहेकाको हकमा नागरिकता प्रमाणितबिना नै हस्तलिखित राहदानीका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन पाउने व्यवस्थाले 'गैरनागरिक'हरू समेत 'नागरिक' बन्न सक्ने अवस्था देखिएको छ ।हस्तलिखित राहदानी बनाउने क्रममा कतिपय विदेशीले नक्कली नागरिकताका आधारमा नेपाली राहदानी लिएको खुलासा पटक-पटक हुँदै आएकाले त्यस्ता राहदानीबाट एमआरपी सहजै पाउने व्यवस्थाको दुरुपयोग हुन सक्ने स्वयं परराष्ट्र मन्त्रालयका अधिकारीहरू नै ठान्छन् ।
युरोप, अमेरिका र खाडी मुलुकमा रहेका नेपालीले हस्तलिखित राहदानीका आधारमा दिएको आवेदनबाट एमआरपी पाउँदै आएका छन् । उनीहरूले आवेदन फारम भरेपछि हस्तलिखित राहदानी र नागरिकताको फोटोकपी मात्र बुझाए पुग्छ । विदेशमा रहेको भन्दै परराष्ट्र मन्त्रालयले नागरिकता प्रमाणित गर्न आवश्यक ठानेको छैन । कतिपयले राहदानी बुझाएपछि नागरिकता विदेशमा नभएको भन्दै नम्बर मात्र उपलब्ध गराउँदा पनि एमआरपी बन्ने गरेको छ ।
नेपालमा सक्कल नागरिकता बुझाएर मात्र हुँदैन, त्यसलाई जिल्लामै गएर प्रमाणित गरेपछि मात्रै एमआरपी पाइन्छ । 'तर हस्तलिखित बनाउन सफल भएर विदेश पुगेका गैरनेपालीले विदेशबाट आवेदन दिएको खण्डमा सहजै एमआरपी बनाइरहेको हुनसक्ने शंका छ,' परराष्ट्रका एक उच्च अधिकारीले भने, 'विदेशमा रहेकाको नागरिकता र आवेदनका लागि दूतावास आउन अनिवार्य पनि नगर्नुले यसअघि बनाइएको हस्तलिखितलाई पूर्ण विश्वास गर्दै वैधता दिनु हो ।'यो विभेद मात्र नभई कुनै ठूलै 'माफियागिरी योजना' हुन सक्ने शंका उनले गरे । विदेशमा नागरिकता अनिवार्य गर्न हुँदैन भन्दै परराष्ट्रका केही अधिकारीहरूले नै 'लबिङ' गर्नु आफैंमा आश्चर्यजनक भएको समेत उनले बताए । नागरिकता अनिवार्य गर्दा समस्या हुने भन्दै उनीहरूले यस्तो गर्दै आएका हुन् ।
'सक्कल नागरिकता बुझाउँदा पनि जिल्ला प्रमाणीकरण चाहिने नियम लगाउनु राम्रै हो, दुरुपयोग रोक्नु हो, तर यो नियम नेपालमा मात्र लागू छ,' अर्का अधिकारीले भने, 'विदेशमा भने फोटोकपी मात्रैको आधारमा काम गर्नु भनेको गैरनेपाली -कतिपय हस्तलिखित विदेशीले पनि लिएको पाइएकाले त्यस्ता) लाई वैधता दिनु हो ।'
हस्तलिखितमा फोटो परिवर्तन गरेर बंगाली र भारतीय नागरिकहरू नेपाली बनेर विदेशमा काम गरेको तथ्यांक र प्रतिवेदनको चाङ परराष्ट्रमा छ । हस्तलिखित राहदानी बनाउने क्रममा धेरै विदेशीले नक्कली नागरिकताका आधारमा नेपाली राहदानी लिएको खुलासा बारम्बार हुने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पासपोर्टमा विदेश जान लागेका बंगाली नागरिकहरू पटकपटक पक्राउ परेकोबाट पनि स्पष्ट छ- नेपाली हस्तलिखितमा धेरै विदेशी नागरिक खाडी तथा मलेसियामा काम गरिरहेका छन् ।
मलेसिया दूतावासका उपप्रमुख हेमलाल भट्टराईले मलेसियामा भने नागरिकता लिएर स्वयं व्यक्ति उपस्थित हुनुपर्ने रहेको बताए । 'अन्य दूतवासले नागरिकताको फोटोकपी र हस्तलिखितका आधारमा आवेदन स्वीकृत गरेर विभाग पठाउने गरेको थाहा पाएको छु । मलेसियामा पनि पहिला त्यस्तो थियो तर दुई वर्षयता यस्तो छैन । सबैतिर सुधार हुन जरुरी छ,' उनले भने ।
बंगालीहरू नेपाली हस्तलिखित लिएर आउने, बाबुको पासपोर्टमा फोटो परिवर्तन गरेर छोरा
आउने जस्ता कार्यले गर्दा नागरिकता अनिवार्य गरेर त्यसको छानबिन समेत गर्ने गरेको मलेसियाका तत्कालीन द्वितीय सचिव रहेका चक्र सुवेदीले परराष्ट्र मन्त्रालयलाई दुई वर्षअघि पठाएको रिपोर्टमा उल्लेख छ ।
'यो अन्तर्राष्ट्रिय डकुमेन्ट हो । यसमा नेपालीको इमेज प्रतिबिम्ब हुने हुनाले हामीले ध्यान दिन आवश्यक छ,' भट्टराईले बताए । दसैं मान्न काठमाडौं आएका उनले सातामा दुईदेखि तीन जना अन्य मुलुकका नागरिकले हस्तलिखित लिखित लिएर मलेसिया आउने गरेको र त्यो दूतावासले खिचेर राख्ने गरेको स्पष्ट पारे । त्यहीँबाट जिल्ला बुझ्ने र राहदानीमा लेखिएको घरको ठेगानामा सोधेर परीक्षण गर्ने गरेको उनले बताए ।
साउदीस्थित दूतावासका एक अधिकारीले 'कम्पनीले नै फारम भरेर ल्याउने र व्यक्ति समेत नआउने हुनालेे जाँच्न नसकिएको' बताए । पुरानो राहदानीका आधारमा बनाइदिन राजदूतले समेत निर्देशन दिएकाले यसमा कडाइ गर्न नसकिएको उनले स्पष्ट पारे । त्यहाँ कम्पनीले ल्याएको डकुमेन्टमा शंका गर्नेबित्तिकै नेपालीको जागिर जाने र फिर्ता पठाउने हुनाले त्यस्तो समस्या आउन नदिन समेत पुरानो हस्तलिखितलाई विश्वास गर्दै एमआरपी दिने गरिएको उनले बताए ।
विभागका महानिर्देशक लोकबहादुर थापाले यो गम्भीर विषय भएकाले यसतर्फ चासो बढाइएको बताए । यसबारे मन्त्रालयमा बुधबार बैठक समेत भएको उनले जनाए । 'यस्ता समस्यालाई समाधान गर्दै अघि बढ्न चासो र चिन्तासँगै कसरी छानबिन गर्ने भन्नेमा लागेका छौं,' उनले भने ।
युरोप अमेरिकामा रहेका नेपालीले आफ्नो डकुमेन्ट हुलाकमार्फत पठाउने र त्यो फारम काठमाडौं पठाएर एमआरपी बनाइदिने गरेको अवस्था छ । खाडी तथा मलेसियाका जेलमा रहेका नेपाली राहदानी वाहकहरू गैरनेपाली रहेको र उनीहरूलाई सिधै काठमाडौं ल्याउँदा विदेशी 'क्रिमिनल' समूह भित्रिने खतरा रहेकाले यसतर्फ पहल गर्न नसकेकोमा दूतावासका एक अधिकारीले चिन्ता व्यक्त गरे ।
|
##
|


0 comments:
...