### |
फोटो :शिवराज खत्री ( अछामको मंगलसैन नगरपालिका ६ स्थित ठूलासैनामा खेत जोत्दै एक बालक। गाउँका युवा नोकरी गर्न भारत गएपछि खेतीपातीको काम बालबालिका, वृद्धवृद्धा तथा महिलाको काँधमा परेको छ। ) |
काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको संख्या असोज महिनामा ३१.५३ प्रतिशतले बढेको छ। गत वर्षको सोही महिनाकै तुलनामा यसपटक बिदेसिनेको संख्या ३१.५३ प्रतिशतले बढेको हो। गएको असोजमा कुल ३५ हजार पाँच सय ५० जना नेपाली कामको खोजीमा बिदेसिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
गत आर्थिक वर्षको सोही महिनामा जम्मा २७ हजार २९ जना कामदारमात्र काम गर्न विदेश गएका थिए। आन्तरिक बजारमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसकेकाले युवा बिदेसिन बाध्य भएका हुन्। चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख २९ हजार चार सय १० जना नेपाली काम गर्न विदेशी भूमिमा पुगिसकेका छन्।
विगत महिनाहरूमा जस्तै यसपटक सबैभन्दा धेरै नेपाली कामदारको रोजाइमा मलेसिया नै परेको छ। असोजमा मलेसियामा मात्रै १३ हजार नौ सय ७६ जना नेपाली काम गर्न गएका छन्। मलेसियामा इन्डोर (कम्पनीभित्र) काम पाइने भएकाले यो मुलुक धेरैको रोजाइ बनेको हो। तुलनात्मक रूपमा काम गर्न सजिलोसमेत भएकाले त्यहाँ जाने कामदार बढेका हुन्।
चालू आर्थिक वर्षको तीन महिनामा एक लाख २९ हजार चार सय १० जना नेपाली काम गर्न बिदेसिएका छन्।
मलेसिया जाने कामदारले न्यूनतम २८ हजार रुपैयाँ कमाउन सक्छन्। नौ सय रिंगिटभन्दा कम तलबमा काममा लगाउन नपाउने भएकाले कामदारको आकर्षण त्यसतर्फ बढेको हो। खाडी मुलुकको तुलनामा मलेसियामा खुला समाज भएकाले नेपाली कामदारले तुलनात्मकरूपमा सजिलो महसुस गर्ने गरेका छन्। हाल मलेसियामा सात लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन्।
मलेसियापछि कामदारको दोस्रो आकर्षण कतारतर्फ देखिएको छ। यो मुलुकमा असोजमा आठ हजार दुई सय ७९ जना गएका छन्। कतारमा सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले पूर्वाधार निर्माणका लागि धेरै कामदारको माग छ। नेपाली कामदारको पनि सोही प्रयोजनका लागि माग बढेको हो। यसैगरी कामदारको रोजाइको तेस्रो नम्बरमा साउदी अरब परेको छ। साउदीमा यो महिना पाँच हजार आठ सय ५३ जना कामदार पुगेका छन्।
सरकारले वैदेशिक रोजगारीका लागि विश्वका एक सय आठवटा मुलुक खुला गरेको छ। तर, बिदेसिने कामदारको प्रवृत्ति हेर्दा मलेसिया र खाडी मुलुकमा मात्र केन्द्रित रहेको देखिन्छ। कुल बिदेसिनेमध्ये करिब ९० प्रतिशत कामदार मलेसिया र खाडी जाने गरेका छन्। खाडी र मलेसियाबाहेक अन्य मुलुकमा कामदार पठाउनका लागि सरकारले अहिलेसम्म प्रवद्र्धनका ठोस कार्यक्रम सञ्चालन गर्न सकेको छैन। सरकारले नयाँ श्रम गन्तव्य खोजी पनि गर्न सकेको छैन।
## |
0 comments:
...