### |
हुन पनि केही प्रहरीको कठोर व्यवहार र तल्लो स्तरको गालीगलौजले धेरैजना पीडित छन् । प्रहरीभित्रको यो खराब प्रवृत्ति सुधार्न बेलाबेला अभियान पनि चल्दै आएको छ ।
‘अँ भाइ अब त हाँसेको हाँस्यै गर्नुपर्ने भो, आफू त हाँस्न जान्दिन, हाँसेको जस्तो भयो कि भएन भन त’ बुधबार दिउँसो रेडियो अन्तर्वार्ताको लागि उज्यालो कार्यालयमा आएका एकजना ट्राफिक प्रहरी निरीक्षक मोवाइलमा भन्दै थिए, ‘तिमी त हाँसिरहने मान्छे सजिलो भो, मलाई चाहिँ बानी बसाल्न केही समय लाग्लाजस्तो छ ।’
प्रहरीले बुधबारदेखि देशभर मुस्कान सहितको सेवा सुरु गरेपछि धेरै नहाँस्ने र कठोर स्वभाव भएका प्रहरीलाई साँच्चै अप्ठेरो पर्ने भएको छ ।
पहिले पनि एकपटक यस्तै अभियान थालेको प्रहरीले नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउन भन्दै फेरि मुस्कान सहितको सेवा थालेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बुधबारदेखि देशव्यापी रुपमा मुस्कान सहितको प्रहरी सेवा अनुशिक्षण तालिम संचालन भएको छ ।
काठमाडौंमा भएको तालिम कार्यक्रममा गृहमन्त्री बामदेव गौतमले सबैभन्दा पहिले आफैंलाई सुधार्न प्रहरीका उच्च अधिकृतलाई निर्देशन दिनुभयो ।
‘पहिला जवान र हाकिमबीचको सम्बन्ध राम्रो बनाउनुहोस्, फलानो यहाँ आइज, पानी ले, त्यहाँ जा, यसो गर्, उसो गर्, भन्ने अपमानित शब्द होइन, तपाईं शब्द प्रयोग गर्नुहोस्’ गृहमन्त्रीले निर्देशन दिनुभयो ।
गृहमन्त्री गौतमले कुनै पनि व्यक्तिको स्वयम् भित्रैबाट परिवर्तन नभई वाह्य परिवर्तन नआउने कुरालाई आत्मसाथ नगरीकन व्यक्तिको आचरण र व्यवहारमा परिवर्तन नहुने बताउनुहुँदै नेपाल प्रहरीमा माथिल्लो तह र तल्लो तहका कर्मचारीहरुबीचको सम्बन्ध मानवीय हुनुपर्ने र संगठनभित्रका कमी कमजोरीहरुलाई आजैबाट सुधार गर्न दिर्नेशन दिनुभयो ।
समारोहमा गृहसचिव सूर्यप्रसाद सिलवालले नागरिक केन्द्रित, स्वच्छ र व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने कार्यमा यस्ता कायक्रम अत्यन्तै आवश्यक र महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै तालिम संचालन पश्चात प्रहरी सेवा थप जनमुखी र नागरिक केन्द्रीत हुने बताउनुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल सरकारद्वारा पारित नेपाल प्रहरीको रणनीतिक लक्ष्यको सफल कार्यान्वयनको लागि प्रहरीको सेवा प्रवाहको स्तरबृद्धि गरिने र त्यसका लागि मुस्कान सहितको प्रहरी सेवाको अवधारणालाई अझै बढी परिष्कृत रुपमा देशभरी नै लागू गर्ने कार्यायोजना रहेको बताउनुभयो ।
मुस्कान सहितको प्रहरी सेवा एउटा बिम्ब हो, यसको शाब्दिक भन्दा पनि प्रतिकात्मक अर्थ गहन छ भन्ने उल्लेख गर्नहुँदै प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो, “हामीले यो सेवामार्फत केवल हाँसेर बोल मात्र भन्न खोजेको होइनौं, मुस्कान खुशी र हर्षको प्रतीक हो, यसर्थ केवल ओठमा हाँसो बोकर मात्र होइन, हृदयदेखि नै सेवाभावका साथ हामीले आमनागरिकप्रति गर्ने व्यवहार नै सभ्य, शिष्ट, स्वागतयोग्य हुनुपर्छ ।”
नेपाल प्रहरीको रणनीतिक कार्य योजनामा मुस्कानसहितको सेवालाई मुख्य प्राथमिकतामा राखेअनुरुप यसको कार्यान्वयनमा बिशेष जोड दिन अनुशिक्षण तालिम प्रदान गर्न लागिएको हो । यस अनुशिक्षणबाट प्रहरीको आचरण, व्यवहार र व्यावसायिक सुधारका साथै सहज र पारदर्शी तथा जवाफदेही प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई अभिप्रेरित गर्ने आशा प्रहरी संगठनले लिएको छ ।
## |
0 comments:
...