Headlines News :
Home » » घर फर्किइन् रिहाना

घर फर्किइन् रिहाना

###
काठमाडौं- दाइजोको निहुँमा पति र सासूले जिउँदै जलाएपछि डेढ महिनादेखि वीर अस्पतालमा उपराचार्थ बाँके, हिरमिनिया गाविस–८ अहिरपुरवाकी रिहाना सेख ढपाली बुधबार बिहानैदेखि निकै उत्साहित थिइन्। अरू दिन खाना खान आनाकानी गर्ने उनले बुधबार भने नियमितभन्दा बढी नै खाएको अस्पतालका नर्सहरूले बताए।
उनी आफ्नी आमालाई भेट्न अस्पतालबाट दुई साताको 'डिस्चार्ज' लिएर बुधबार दिउँसो घर गएकी छन्। एम्बुलेन्समा बाँके जानुअघि नर्सहरूले उनको घाउ सफा गरिदिएका थिए। घर बसुन्जेल घाउको हेरचाह गर्ने तरिका पनि सिकाइदिए।
दस दिनदेखि 'वाकर'को सहायताले बिस्तारै पाइला चाल्न थालेकी उनी बुधबार भने वाकरबिनै केही पाइला हिँडिन्। राजधानीबाट एम्बुलेन्स छुटेको झन्डै एक घन्टापछि रिहानाले नागरिकसँग टेलिफोनमा भनिन्, 'राम्रोसँग जाँदैछु, कुनै गाह्रो छैन।'
रिहानाले आमा र घरमा रहेका साना भाइबहिनीलाई भेट्न मन लागेको बताएपछि चिकित्सकले दुई साताको निम्ति डिस्चार्ज गरेर पठाएका हुन्। फर्किएर आएपछि छाला प्रत्यारोपण हुन नसकेको केही भागमा पुनः शल्यक्रिया गरिनेछ। त्यसपछि पनि सामान्य स्थितिमा फर्किन केही समय आराम गर्नुपर्ने डाक्टरहरू बताउँछन्।
उनलाई बिदाइ गर्न अस्पतालमा हेरचाह गर्दै आएकी सीमा पाण्डे पनि सहभागी थिइन्। नियमित फोनमा कुरा भए पनि दस दिनदेखि भेट्न नसकेकाले बिदाइ गर्न आएको सीमाले बताइन्। उनले रिहानाको उपचारका लागि आर्थिक सहयोग जुटाउन फेसबुकमार्फत अभियान चलाएकी थिइन्। बुधबार सीमाले नै रिहानालाई भर दिँदै वार्डदेखि एम्बुलेन्ससम्म ल्याएकी थिइन्।
सीमाका अनुसार पिता समिम सेख ढपालीको खातामा रिहानाको सहयोगका लागि २ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ। रिहानाले आमाबाबुसँग बसेर यही पैसाबाट चिया पसल थाप्ने बताएकी छन्।
रिहानाको उपचार एवं उनलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन 'बर्न भिक्टिम्स सर्भाइभल नेपाल' (बिभिएस) की रुमी राजभण्डारीले गरेकी हुन्। जलेका बिरामीलाई सहयोग गर्दै आएको यो संस्थाले रिहानाको शल्यक्रिया, औषधि उपचार, पोषण, फिजियोथेरापी, परामर्शमा सहयोग गर्दै आएको छ। रिहानाको आर्थिक पुनर्स्थापनका लागि चार वटा बाख्रा दिन लागेको संस्थाकी संयोजक राजभण्डारीले बताइन्।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar