Headlines News :
Home » , » यूएर्इमा बाटो बिराएका नेपाली महिला

यूएर्इमा बाटो बिराएका नेपाली महिला

###
मेघराज सापकोटा
बैदेशिक रोजगारले नेपाली समाजमा ल्याएको पारिवारिक बिखण्डनको चित्र डरलाग्दो छ। विशेषगरी लोग्ने मान्छे पैसा कमाउन घरमा श्रीमतीलाई एक्लै छोडेर बैदेशिक रोजगारको निम्ति मलेसिया र अन्य खाडी मुलुक जाने गरेका छन् । जसले केही ठाउँमा श्रीमान श्रीमतीबीच दूरी बढाएको देखिन्छ ।
श्रीमान विदेशको चर्को गर्मीमा पसिना काढ्दै पैसा कमाउने, सुन्दर भबिष्यको सपना देख्ने, छोराछोरीलाई राम्रो शिक्षा दिने कल्पना गर्ने, पैसा कमाउने र सुखी जीवन जिउने । सबै यस्ता भाग्यमानी कहाँ हुन्छन र ? २/४ वर्ष बिदेशमा बसेर घर फर्कदा न श्रीमती हुने न कमाएको सम्पत्ति नै । कोही कोही श्रीमानहरु नेपालमा श्रीमती र बालबच्चा हुँदा हुँदै बिदेशी केटी विवाह गरेर बिदेश तिरै पलायन भएको यदाकदा सुनिएको पनि हो । बिदेशमा पैसा कमाउन पठाएको यस्ता श्रीमान न पैसा पठाउँछन् न त आफु नै फर्केर आउँछन् ।
अब जमाना फेरिएको छ । कथा पनि अलि फरक छ तर उस्तै लाग्ने । हिजोसम्म धन कमाउन लोग्ने मान्छे मात्र बिदेश जाने समाजमा आजकल बैदेशिक रोजगारमा जाने महिलाहरु पनि प्रशस्तै भेटिन्छन् । अनि श्रीमतीलाई बिदेश पठाएर श्रीमानले उता नेपालमा दोस्रो विवाह गर्ने गरेको पनि पाइन्छ।
त्यो भन्दा नि बेग्लै कथा र वास्तविकता हो यो । यो कथा रस अल खेइमह भन्ने ठाउँको हो जुन दुबइबाट १०० किलोमिटर उत्तरमा पर्दछ । दाङ जिल्ला घर भई गत बर्ष मात्रै युएईको रास अल खेइमह आएकी सन्जु मिश्र बिगत ३ महिनादेखि रास अल खेइमहको जेलको हावा खाइरहेकी छिन् । उनीसँगै सल्यान घर भई केही बर्षदेखि नै रस अल खेइमहको कुनै एक ट्राभल्स कम्पनीमा कार्यरत मनोज कट्टुवाल पनि जेलमा छन् । यसको जानकारी मलाई मित्र रेशम लामाले केही दिन अगाडि नै सुनाएका थिए।
एक छोराकी आमा सन्जु रस अल खेइमहको एक क्लिनिङ् कम्पनीमा काम गर्थिन् । उनको घरको आर्थिक अवस्था त्यति राम्रो थिएन । बिदेश जाने सुन्ने बित्तिकै श्रीमानले हुन्न भने रे । ती मुश्किल पर्‍यो सम्झाउन त मलाई थाहा छ । लोग्ने मान्छेको जात शंका गरिहाल्ने त्यही माथि बिदेश- उनी भन्थिन रे । अन्तत उनले सँगै बाँच्ने सँगै मर्ने कसम खाएकी पति नर बहादुरलाई फकाएर छोडिन् । श्रीमान पनि मक्ख परे- श्रीमती बिदेश गएर पैसा कमाउछे र केही भए नि घरको आर्थिक अवस्थामा टेवा पुग्छ ।
उनको रस अल खेइमहमै एक ट्राभल्स कम्पनीमा काम गर्ने मनोजसँग भेट भयो। दुवैजनाले पिरती गाँसे। त्यसो त मनोज पनि २ छोराछोरीका पिता थिए। दुवैजनाले आफ्नो मान्छेलाई धोका दिए। हरेक दिन डेटिङ जान्थे । हुँदा हुँदा सन्जु मनोजको कोठामै जान थालिन्, बस्न थालिन् । अन्तत उनी गर्भवती भइन् । क्षणभरको मोजमस्तीले आफ्नो, श्रीमान/श्रीमती र बालबच्चाको भबिष्य धरापमा पारे । मनोजले औषधी खाएर गर्भ तुहाउने सल्लाह बमोजिम सन्जुले औषधी सेवन गरिन। पेटमा रहेको गर्भ त तुहियो तर पुरै सफा हुन सकेन।

यहाँको कानुन बमोजिम  गर्भपतन बर्जित छ । सञ्जुकी साथी सुमित्रा जी भन्छिन् - हामी साथीहरुले उनलाई नेपाल जाने सल्लाह दियौं। यहाँको अस्पताल नजान पटक पटक भन्यौ तर सुनिनन्। उनी पेटको दर्द सहन नसकेर नजिकैको अस्पातल गईन् । उनले अस्पतालले मागेको बैबाहिक प्रमाणपत्र प्रस्तुत गर्न सकिनन् । अस्पतालले प्रहरीलाई खबर गर्‍यो। उनी प्रहरीको फन्दामा परिन् । उनलाई पक्रेको ३ दिनपछि मनोज पनि पक्राउ परे।
एक दिनको कुरा हो, म र रेशम जी रस अल खेइमहको नखीलबाट झन्डै ४० किमी टाढा अल जजिरा भन्ने स्थानको आरएको सेरामिक्स भन्ने स्थानमा बिशेष कामले गएका थियौं । रातको ९ बजेर उकालो लागिसकेको थियो । अचानक रेशम जी को मोबाइलमा फोनको घन्टी बज्यो । उनी गफ गर्दै गरेको म आफ्नै धुनमा सुन्दै थिएँ । कुरा अलि गम्भीर नै थियो । हामी हत्त न पत्त त्यहाँ बाट बाटो लाग्यौँ ।
बीचबीचमा पनि नेपाली चेलीबेटीको रोदन सहितको फोन उनले उठाउँदै गए । हामी सिधै स्थानीय प्रहरी कार्यालयमा पुग्यौँ । घडीले १० बजाइसकेको थियो । पुगेको केही छिनमा ४ जना नेपाली केटीहरु हस्याङ फस्याङ गर्दै ट्याक्सीबाट ओर्लिए । हामी उनीहरुलाई लिएर प्रहरी कार्यालय भित्र उजुरीको लागि गयौँ । लाग्थ्यो उनीहरुलाई ठुलै बिपत्ती आइलागेको छ । त्यसो भए किन सहयोग नगर्ने ?
मैले भित्र जादै गर्दा ती मध्ये वास्तविक पीडितलाई भने- बहिनी डराउनु पर्दैन। जे जे भएको हो सबै भन्नु । आफुले एउटा कुरा गरेपछि परिवर्तन नगर्नु । यो ठाउँ सुरक्षाको दृष्टिकोणले महिला प्रेमी ठाउँ हो। जबसम्म हामी गल्ती गर्दैनौ तबसम्म डराउनु बिलकुल हुन्न। आफ्नो गल्ती पटक्कै नदेखाउनु है । उनले मुन्टो हल्लाइन ।
एकजना प्रहरीले सुरुवाती सोधपुछ गरेपछि हामी भित्र रहेको अपराध उजुरी तथा अनुसन्धान डेस्कमा पुग्यौ । रेशम, म र उनी सँगै छौं । कता कता डराएकी हुन कि भन्ने लाग्यो । उनको आँखा छेउनिर नील डाम छ । अलिकति सुन्निएको छ । कसैले हमला गरेकै हो । युएईमा बिशेष गरी अनुसन्धान विभागका प्राय सबै प्रहरीलाई हिन्दी भाषाको तालिम दिएको हुन्छ । हिन्दी भाषा त यहाँ स्थानीय भाषा जस्तै प्रचलित छ। प्रहरीले उजुरी दर्ता गर्नु अघिको प्रारम्भिक बयान लिन थाल्यो । मेरो होस हवास उड्दै गयो। नसोचेको बयान डराउदै डराउदै फरर !
उनी विबाहित रहिछन् । ४-५ बर्षको छोरो पनि छ रे । उनलाई उनको कोठामा गएर हमला गर्ने एक बंगाली बन्धु ग्यारेजमा काम गर्दा रहेछन् । माया प्रिती गाँसेको ४-५ महिनै भयो रे । ती बंगाली बन्धुले त मोवाइल किनेर उपहार पनि दिइसकेका रहेछन् । उनी बस्ने कोठैमा गएर जबर्जस्ती गरेर उपहार दिएको मोबाइल पनि लिएर हिंडेछन्।
त्यसपछि मलाई यहाँ रहेका महिलाहरुको वास्तविकताबारे जान्न चासो लागिरहयो। म बिभिन्न महिला क्याम्प रहेका स्थानहरुमा गएँ । उनीहरुसँग भलाकुसारी गरेँ । धेरै जसो सरसफाइको काम गर्दारहेछन् । यहाँ रहेका प्रायजसो महिलाहरु विवाहित रहेको पाएँ । केही अविवाहित पनि छन् । त्यसो त मैले अफिसमा काम गर्ने महिलाहरुसँग पनि भेटेको छु । सेल्समा काम गर्नेहरुलाई पनि भेटेँ । तीमध्ये केही त राम्रा, हुनेखाने सम्पन्न परिवारका पनि छन् । उनीहरुले यहाँ कसैले उनीहरु माथि औलो ठड्याउने मौका दिएका पनि छैनन् ।
धेरैले एसएलसी पास गरेका रहेछन् । कोही कोही साक्षर मात्रै पनि छन् । प्राय धेरैमा चेतना र शिक्षाको कमी नै देखियो । आधुनिकताको नाममा असुहाउँदो सिको गर्छन् । भड्किलो फेसन गर्छन। क्याम्पमा गएर भेटेका नेपाली चेलीहरुको बारेमा धेरै लेख्न मन लागेन । धेरैले बंगाली, पठानी (पाकिस्तानी) र भारतीय साथी बनाएछन् । कोही कोहीका त अरबी साथी पनि छन रे । खै, कसरी बयान गरुँ आफ्नै घरको कथा?
उता श्रीमान श्रीमतीको मायाले तड्पिएको होलान् । यता श्रीमतीको चाला यस्तो छ । मैले यो लेखिरहदा नेपालमा हुने असल श्रीमानज्युहरु, असल श्रीमतीमाथि बित्थाको शंका नगरिदिनु होला । तपाईंकी श्रीमती असल हुनुहुन्छ। युएई मै रहनुहुने असल महिला मित्रहरु पनि नरिसाइदिनु होला । म महिलालाई धेरै सम्मान गर्छु । महिला आमा हुन, धर्ती हुन् । कुनै दिन अर्को ब्लगमा महिला दिदीबहिनीहरुको राम्रो कुरा पनि लेख्नेछु । अहिले लाई जो जो खराब छन्, जान अन्जानमा खराब बनाइएका छन् यो ब्लग उनीहरुकै लागि समर्पित छ।
रसअल खेइमह, युएई
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar