Headlines News :
Home » , » विदेशबाट आउँदै गरेका श्रीमानलाई लिन आउँछु भनेर श्रीमती बेपत्ता -

विदेशबाट आउँदै गरेका श्रीमानलाई लिन आउँछु भनेर श्रीमती बेपत्ता -

###
गोरखा, भदौ ९ - मलेसियाका राजधानी क्लालालम्पुरबाट काठमाडौं उड्न लागेको मलेसियन एयरलाइन्सको विमान चढेपछि गोरखा ताकुकोटका सुरेश बरामले नेपालमै श्रीमतीलाई फोन गर्नुभयो ।
गाउँबाट उनकै स्वागतका लागि काठमाडौं आएकी श्रीमती बिमालाई उहाँले भन्नुभयो ‘सुन त म उड्न लागेको, किनमेल त्यतै गर्ने भनेर म त खाली हात आउन लाग्या छु, बरु अलि अलि पैसा झिकेर ल्याई राख ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट्ने वाचासहित उहाँ मलेसियाबाट काठमाडौंका लागि उड्नुभयो । यात्राभरि अब विदेश नफर्किने बरु गाउँमै केही ब्यवसाय गरेर परिवारका साथ सुखी र खुशी जीवन बिताउने कल्पना गर्दा गर्दै  काठमाडौंमा पाइला टेकेको उहाँले पत्तै पाउनु भएन ।
विमानस्थलमा विमान अवतरण गरे लगत्तै मोबाइलमा नेपालको सीमकार्ड राखेर उहाँले श्रीमती बिमालाई फोन गर्नुभयो । तर बिमाको मोबाइलमा सम्पर्क भएन ।
विमानस्थलबाट बाहिर ट्याक्सी स्ट्याण्डमा निस्केर पनि उहाँले पटक पटक बिमालाई फोन गर्नुभयो । तर श्रीमतीसँग सम्पर्क हुन सकेन । ‘मैंले फोन गरेको हरेक पल्ट टेलिकमकी केटी मात्र बोलिरही’ उहाँ भन्नुहुन्छ ‘मोबाइलमा तपाईंले खोजेको नम्बरमा अहिले सम्पर्क हुन सकेन, केहीबेरपछि फेरि सम्पर्क गर्नुहोला भनेको सुनेर म गोरखा आइपुगें ।’
दिउँसो ४ बजेतिर कलंकीबाट गोरखा हानिएका उहाँ राती नै गोरखा पुग्नुभयो । आफन्तको घरमा पुग्ना साथ उहाँले श्रीमती २ दिनअघि नै घरबाट हिँडेको सुन्नुभयो । श्रीमती घरमा नरहेको थाहा पाएपछि रातभर नसुतेका उहाँ भन्नुहुन्छ ‘राति निन्द्रै परेन, फोन लागिहाल्छ कि भनेर हजार पल्ट गरें, के को लाग्थ्यो ।’
भोलिपल्ट श्रीमतीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका सुरेश आफूलाई त्यतिबेला श्रीमती कुनै परिवन्दमा पो परी कि जस्तो लाग्थ्यो भन्नुहुन्छ ।
गोरखामा श्रीमती हराएको उजुरी गरेपछि घर ताकुकोटबाट जान खर्च निकाल्न भनेर बैंक छिरेका उहाँ त्यसपछि त झन छाँगाबाट खसे जस्तै हुनुभयो । उहाँको खातामा सुको पनि पैसा बाँकी थिएन । उहाँले मलेसियामा कमाएको रकम महिनैपिच्छे श्रीमतीलाई पठाउनु हुन्थ्यो । त्यो रकम दुवैले सल्लाह गरेर बैंकमा जम्मा गर्ने गरिएको थियो । ‘खर्च लिएर घर जाऊँ भन्ने लागेर बैंकमा पुगेको थिएँ’ आँसु खसाल्दै उहाँले भन्नुभयो ‘खातामा एक सुको पनि नराखि सबै निकालेर लगिसकिछ ।’
सुरेश ४ वर्ष अघि मलेसिया जानु भएको हो । सुरेशले आफू त्यहाँ पुगेको केही महिनापछि बिमालाई पनि उतै बोलाउनुभयो ।  दुवैजना मलेसियमा सँगै एउटा फर्निचर कम्पनीमा काम गर्थे । विमाको चिनजान सुरेशका अरु साथीहरुसँग पनि हुन थाल्यो । ‘पूर्वतिरको एउटा लिम्बू केटोसँग अलि बढी नै हेलमेल थियो’ सुरेशले आफन्तहरुको भनाईलाई समेत आधार मानेर भन्नुभयो ‘त्यहि केटोले भाग्न उक्साएको हुन सक्छ ।’
दुई वर्ष मलेसियामा सँगै काम गरेपछि पत्निसहित सुरेश नेपाल फर्किनुभयो । केही महिना घर बसेर उहाँ फेरि एक्लै मलेसिया उड्नुभयो । बिमासँग नियमितजसो फोनमा कुराकानी भैरहन्थ्यो ।
तर पछिल्ला दुई महिना यता बिमाले पहिले पहिलेजस्तो खुलेर बोल्न छोडेको उहाँ सम्झनुहुन्छ । ‘बरु त्यो लिम्बू केटोसँग भने दिनमै १० फेरसम्म कुरा हुन्थ्यो रे’ सुरेश भन्नुहुन्छ ‘उसैले फेसबुक खोल्दिएको रहेछ, त्यसमा फोटो पठाउने पनि गर्थे रे ।’
आफूले थाहा पाउँछ भनेर बिमाले छद्म नाममा फेसबुक एकाउन्ट खोलेको पनि सुरेशले बल्ल मात्र चाल पाउनुभयो । बिमाले आफ्नी दिदीसँग दोस्रो केटोसँगको आफ्नो गहिरो सम्बन्धबारे बताएको सुरेशले जानकारी दिएनुभयो । बिमाकी दिदीको अनुसार सुरेश घर फर्किनु अघिनै उनीहरु भागेर बिहे गर्ने टुंगोमा पुगिसकेका थिए । बिमाको पछिल्लो संगत भैरहेको केटो पनि एक हप्तापछि नेपाल आउन लागेको आफूले थाहा पाएको सुरेशले बताउनुभयो ।
‘त्यो केटो आउनु अघि नै फेला पार्न पाए घर लैजान्थें’ सुरेश भन्नुहुन्छ ‘त्यो केटा आइसकेपछि त मसँग आउँछे जस्तो लाग्दैन ।’ बिमाले आफूलाई छाडेर जो सुकैसँग विवाह गरेपनि आफूलाई आपत्ति नहुने तर चार वर्षको कमाई भने फिर्ता गर्नुपर्ने उहाँको भनाई छ । सुरेश र बिमाका गाउँमा १४ र ९ वर्षका छोरा छन् । बैंक खातामा भएको सबै रकम र गरगहना समेत लिएर श्रीमती हिँडेपछि छोराहरुलाई कसरी पढाउने र घरब्यवहार कसरी चलाउने भन्ने चिन्ताले सुरेश रन्थनिनुभएको छ ।
नेपाल उत्रेको ३ दिन भैसक्दा पनि उहाँ सदरमुकाम गोरखाबाट घरतिर अघि बढ्न सक्नु भएको छैन । गाउँ जाने कि नजाने टुंगोमा पुगि नसकेका उहाँ अहिले सदरमुकाममै आफन्तकोमा बसेर बिमाको खोजीमा लाग्नु भएको छ । ‘घरमा छोराहरुको रुवावासी छ भन्ने सुनेको छु’ उहाँले भन्नुभयो ‘अब त झन् घर जान मनै छैन ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar