Headlines News :
Home » » वर्षा र बाढीले जनजीवन प्रभावित(अपडेट)

वर्षा र बाढीले जनजीवन प्रभावित(अपडेट)

###
डडेलधुरामा ३ छात्रा बेपत्ता
बाँकेमा राजमार्ग अवरुद्ध, दाङमा ३५ जना घेरिए
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौ, श्रावण ३० -  अविरल वर्षासँगै आएको बाढी पहिरोले मुलुकभरको जनजीवन प्रभावित बनाएको छ । शुक्रबार बिहान पनि मुलुको विभिन्न भागमा वर्षा भइरहेको छ । भने नदीहरुमा जलस्तर बढेर बस्तीमा पुगेको कान्तिपुरका जिल्लस्थित संवाददाताहरुले जनाएका छन् । वस्ती र घरमा पानी पसेपछि कतिपयस्थानका वासिन्दा उँचोस्थानमा रात बिताएका छन् । राहत र उद्धारका लागि स्थानीय प्रशासन सक्रिय देखिएपनि त्यो प्रयाप्त हुन सकेको छैन । बाढीले धेरै स्थानमा राजमार्ग समेत अवरुद्ध भएको छ ।


खोलाले बगाएर ३ छात्रा बेपत्ता

डीआर पन्त

डडेलधुरा

बिद्यालय जाँदै गरेका तिन बालिका असीग्राम गाविसमा बग्ने रुवाखोलाले बगाएर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बरबहादुर चन्दका अनुसार बिहान बिद्यालय जांदै गर्दा असीग्राम ८ कि कक्षा ९ मा अध्ययनरत १६ वर्षीया मन्जु देउवा, १५ वर्षीया साबित्री देउवा र  भागरथी देउवा रुवाखोलाले बगाएर बेपत्ता भएकी हुन् ।

बेपत्ता भएकी तीनै जना स्थानीय असिग्रामा उच्च मावि रुवालखोलामा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनीहरुको प्रहरी र स्थानीय द्वारा खोजी कार्य जारी रहेको छ ।

खोलाले बगाएर १ को मृत्यु

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डुबानमा परेकालाई सुरक्षित ठाउँमा सारियो

विमल खतिवडा

चितवन

बुधबर रातिदेखि परेको अविरल वर्षाकाकारण चितवनको जनजीवन प्रभावित बनेको छ । पहिरोमा परी १ जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौं घर परिवार विस्थापित भएका छन् । अविरल बर्षासँगै आएको शक्तिखोर वडा नम्बर ८ स्थित कयरखोला तर्ने क्रममा अन्दाजी ३५ बर्षीय च्याङबा चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शान्तिराज कोइरालाले बताए ।

उता रत्ननगर नगरपालिका ५ स्थित रमाईलो बस्तीमा खगेरी खोला बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । उनीहरुलाई उद्दार गरी बछौली २ स्थित मालपुर निम्न माध्यमिक विद्यालयमा लगेर राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनका अनुसार नारायणि नदी खतरा लेवलमा पुगेकाले मंगलपुर, मेघौली, दिव्यनगरका स्थानीयलाई सर्तक रहन भनिएको छ । नारायणीमा पानीको लेवल ८ मिटर पुगेको छ । जुन लेवल खतरा मानिन्छ । मंगलपुरमा नारायणी नदीको बाढी पस्ने खतराले गर्दा उद्धारका सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ अवस्थामा डिएसपी कोइरालाले बताए । त्यस्तै नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत कविलासको १७ किलोमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सडक खुलाउन प्रहरी टोली पहिरो खसेको स्थानतर्फ गएको छ ।


बाढीले ३५ जना टापुमा घेरिए,हेलिकोप्टर ल्याउने तयारी

दुर्गालाल केसी

दाङ, ३० साउन- बबई नदीमा बाढी आउँदा डुरुवा गाविस वडानं. ९ चौपडिया गाउँका ३५ जना बीच टापुमा अल्झिएका छन् । गाउँका १८ घर डुबेर चारैतिर पानी भरिएपछि उनीहरुको उद्धारमा कठिनाइ भएको छ । पानीको बहाव बढ्दै गएकाले उद्धारका लागि हेलिकोप्टर ल्याउने प्रयास भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए ।

प्रहरी उद्धारका लागि गएपनि बाढीका कारण कन्जवार गाउँभन्दा अगाडि बढ्न नसकेको उनले जानकारी दिए । टापुमा थुनिएका मानिसहरुले गुहार मागिरहे पनि उद्धारका लागि पुग्न नसकिएको एसपी खत्रीले बताए । बबईको बाढीका कारण डुरुवाका साथै फूलबारी, गोल्टाकुरी, उरहरी, धनौरी, श्रीगाउँ र पञ्चकुले गाविसका बिभिन्न गाउँहरु डुबानमा परेका छन् ।

बाढीका कारण दाङमा हिजोदेखि नै यातायात पूर्णरुपमा अबरुद्ध भएको छ । लमही-तुलसीपुर सडकखण्डका खोलाहरुमा बाढी आएपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सिस्ने, बबइ, कटुवा, सेवार, गुज्रे, पत्रे, हापुर, संक्राम, ग्वार र काला खोलामा बाढी आएको छ । बाढीका कारण प्रहरीलाई समेत उद्धारमा खटिन कठिनाइ भैरहेको छ ।

तुलसीपुर-अमिलिया सडक खण्डको बबईपुलमा बाढीले कटान गरेर सडक अबरुद्ध भएको छ । सो सडकका बिभिन्न ठाउँमा पहिरो गएको छ । देउखुरीमा पनि राप्ती नदी र स्थानीय खोलाहरुमा बाढी आउँदा नदी किनारका अधिकांश गाउँहरु डुबानमा परेका छन् । सतबरियाको बिजुलीपुमा घर भत्कदा दुई जना घाइते भएका छन् । बिभिन्न ठाउँमा उद्धारका लागि संयुक्तरुपमा खटिन अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी गरिरहेका छन् ।

बाँकेमा राजमार्ग अवरुद्ध

ठाकुरसिंह थारु

लगातारको वर्षाले विभिन्न नदीमा आएको बाढीले बाँके जिल्लाको जनजीवन प्रभावित बनाएको छ । बाढीले शमशेरगञ्गस्थित राजमार्गमा रहेको कल्भर्ट भत्काउँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको छ । राप्ती नदीको बाढी होलिया गाविसको टेपरी गाउँमा पस्दा १ सय २३ परिवार विस्थापित हुन पुगेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी जनकबहादुर शाहीले काठमाडौं, बुटबल, पोखरा र अन्य क्षेत्रबाट नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर लगायतका स्थानका लागि आएको गाडी शमशेरगञ्जमा रोकिएको बताए । टेपरी गाउँका विस्थापितहरु रातभर गाउँकै अग्लो स्थानमा बसेर बिताएका छन । उनीहरुले प्रशासनले आफूहरुलाई नहेरेको गुनासो गरेका छन् ।

बाढीले कचनापुर गाविसको ७ र ८ टिकुलीपुर, नौवस्ताको वडा न. ८ कोहलपुरको वडा न. ११ डुबानमा छ । नेपालगञ्जमा पानीको बहाब नहुँदा शहरी क्षेत्र जलमग्न छ । बर्दियाको बरकादाहामा गाउँमा बबई नदीको बाढी बसेपछि ८ जना रुखमा झुन्डिएर बसिरहेका छन् । उनीहरु उद्धारकाे प‍्रतिक्षामा छन् ।

गण्डकमा पानीको बढयो

बेचु गौड

परासी - गण्डक (नारायणी) नदीमा पानीको बहाव बढे पछि नदी छेउको गाउमा त्रास फैलिएको छ । अविरल बर्षाले पानीको बहाव बढेर गण्डक बाँध अन्तरगत विग्याप बाँध र नेपाल बाँधका विभिन्न स्परहरु बग्न थाले पछि गाउमा त्रास फैलिएको हो । गण्डक नदिमा अहिले पानीको बहाव ३ लाख ३७ हजार क्युसेक पुगेको छ ।

गण्डकमा पानीको बहाव बढेर गाउँले त्रसित बनेका खबर आएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जनाए । उनका अनुसार अवस्था बुझ्नका लागि सहायक प्रजिअ श्यामकृष्ण बुढाथोकीको नेतृत्वमा टोली घटना स्थलमा पठाइए सकिएको छ । उद्धार टोली पनि तयारी अवस्थामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

सिरहा सदरमुकाम जलमग्न

देवनारायण साह

सिरहा- कमला नदीको पूर्वी तटबन्ध भेडियाको सिसौंघारी नजिक बिहिवार बिहान भत्किएपछि ९ गाबिस र सिरहा नगरपालिका प्रभावित भएको छ ।

१ सय ५० मिटर तटबन्ध भत्काएर नदीको बहाब नै पूर्वतिर फर्किएकोले खतरा बढेको छ । उच्च जोखिममा परेको बिष्णुपुर प्रराको जमुवा गाउका २ सय २१ जना बिस्थापित भएका छन् । उनीहरु प्राथमिक विद्यालय मझौलीया, उच्च मावि कल्याणपुर, कल्याणपुरस्थित दुगर्ाा र हनुमान मन्दिरमा आश्रय लिएर बसेका छन् । नेपाली सेनाको पूर्बी पृतनाबाट बोटसहित आएका उद्धार टोली, सशस्त्र र नेपाल प्रहरीले उनीहरुको उद्धार गरेका छन् ।

बीपी र मध्येपहाडी अवरुद्धै

राजकुमार कार्की

सिन्धुली

लगातारको बर्षाका कारण तीन दिनदेखि बन्द रहेको बीपी राजमार्ग र मध्येपहाडी लोकमार्गमा शुक्रबारपनि यातायात संचालनमा आउन सकेको छैन् ।

बीपी राजमार्गको ट्रयाक सञ्चालनमा आएको ३७ किलोमिटर लामो खुर्कोट-नेपालथोक खण्डमा झण्डै एक दर्जन ठाँउमा पहिरो जानुका साथै सडक बिग्रीनाले यातायात संचालनमा आउन नसकेको हो ।

त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत बाशेश्वर गाविसको अक्कर भन्ने ठाँउमा झण्डै ७० मिटर लामो पहिरो गएर सडक अवरुद्ध भएको छ ।

बीपी राजमार्ग र मध्य पहाडी लोकमार्गमा यातायात सञ्चालन हुन नसक्दा सिन्धुली सहित पहाडी क्षेत्रका ओखलढुंगा, खोटाङ्, सोलुखुम्बु, रामेछाप र उदयपुर जिल्लाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

बीपी राजमार्ग खुलाउन सम्बन्धित आयोजनालाई भनि सकेको र मौसममा सुधार आएपछि मध्यपहाडी लोकमार्ग खुलाउन प्रयास गरिने प्रजिअ बिष्णु पोखरेल बताए ।

बाजुरा पनि वर्षाले प्रभावित

अर्जुन शाह

बाजुरा

बुधवारदेखि परिरहेको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम मार्तडी क्षेत्रको बाहुलीको बस्ती बाढीको उच्च जोखिममा परेको छ । अनाई गाडले धार परिवर्तन गर्दा भंगालो बस्तीमा मोडिएपछि ४० बढी परिवार रातभरी बीचमा फसे । यी परिवार बिहीबादेखि विस्थापित छन् । मार्तडीको बिधुत गृह बग्नै थालेको छ । खानेपानी बाटोघाटो सबै क्षतीग्रस्त छ । स्थानीय सञ्चार माध्यम बन्द छन् । सञ्चार सेवा समेत अवरुद्ध छ । बाह्रविसमा जयबागेश्वरीकि २० वर्षीया सौरा नेपाली खोलामा बगेर बेपत्ता भएकि छिन् । वर्षा नरोकिएकाले जिल्ला भरको क्षतिको विवरण प्राप्त भई नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अनाई र बाहुली गाड बस्तीमा पस्ने खतरा भएपछि बाहुलीमा रातभर कोलाहल मच्चिएको थियो । बालबालिका र बृद्धबृद्धा सहित करिब दुई सय जनाले अग्लो ढिस्कोमा रात बिताए । अनाई र बाहुली गाडको बीचमा गाउले फसेपछि कोलाहल मच्चिएको हो । क्षतिको पूर्व विवरण अझै एकिन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी ध्रुबराज जोशीले बताए । 'बाहुलीको बस्ती उच्च जोखिममा परेको छ' प्रजिअ जोशीले भने ।भिडियो रिपोर्ट

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar