Headlines News :
Home » » तीन सय ७९ जना फर्काइए

तीन सय ७९ जना फर्काइए

###
काठमाडौं- मलेसियामा कार्यरत कम्पनी छोडेर गैरकानुनी रुपमा बसेका कारण जेलमा रहेका ६० सहित अरु तीन सय नौजना नेपालीलाई उद्धार गरी बिहीबार स्वदेश ल्याइएको छ।

त्यहाँ पुगेर फरक काम र तलब भएको भन्दै विभिन्न समयमा कम्पनीबाट भागेका कामदार गैरकानुनी भएपछि मलेसिया सरकारले पक्राउ गरी जेलमा राखेको थियो। तीमध्ये ६० जनाको फर्कने टिकट खर्च व्यवसायीहरुले बेहोरेपछि मलेसिया सरकारले जेलमुक्त गरी नेपाल पठाएको हो।
उनीहरुसँगै ट्राभल डकुमेन्ट बनाएर बसेका तीन सय नौ कामदार फर्केका हुन्। सबैलाई एयर एसियाको विमान चार्टर गरी नेपाल पठाइएको हो। श्रम तथा रोजगार मन्त्रालयको पहलमा मलेसियास्थित नेपाली दूतावास र त्यहाँ रहेका नेपाली व्यवसायीले कामदार नेपाल पठाउने व्यवस्था मिलाएका हुन्। असोज २ गते पनि तीन सय ७७ गैरकानुनी नेपाली स्वदेश फर्काइएका थिए।
मलेसियामा सम्झौताअनुसार तलब र काम नभएको भन्दै कामदार भाग्ने क्रम बढेको छ। कम्पनी छोडेर भागेपछि मलेसियाको नियमले गैरकानुनी हैसियत मान्छ। त्यहाँको सरकारले एक वर्षअघि गैरकानुनी रुपमा बसिरहेका नेपालीसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, बर्मेली र भियतनामीलाई पक्राउ गरेको थियो। अपरेसन बरसेपाडु (एकीकृत अभियान) नाम दिएर सुरु गरिएको धरपकडमा अध्यागमन विभागको नेतृत्वमा पुलिस, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका एक लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाइएको थियो। त्यसमा हजारभन्दा बढी नेपाली पक्राउ परेका थिए। यसअघि जेलमा रहेका दुई सय कामदार फर्किसकेका छन्।
इरिबाङ रोल्पाका हरि बुढाले मलेसिया पुगेपछि नेपालमा भनेको काम र तलब नपाएपछि मागेको बताए। आफूहरुलाई जेलबाट विमानस्थलसम्म हतकडी लगाएरै ल्याइएको उनले बताए। 'एयरपोर्ट ल्याएपछि भित्र जाने बेला खोलिदिए,' नेपाल आइपुगेपछि बुढाले भने, 'झण्डै एक वर्ष जेलमा राख्यो। यताबाट जाँदा ठगियौं उता पुगेपछि जेल परियो।' दसैंको मुखमा अरुले किनिदिएको चप्पल लगाएर आएको उनले बताए।
नेत्रकाली सिन्धुलीका लालकुमार वाइवा नेपालमा एउटा कुरा गरेर उता गएपछि अर्कै हुने बताउँछन्। 'हामी ६० जनाकै पीडा एउटै हो, दोहोरो मारमा पर्यौंन,' उनले भने।
जेलमा रहेका ६० जनालाई हार्भेस्ट मुन ट्राभल्सका राम श्रेष्ठ, नेपाल मलेसिया वैदेशिक रोजगार व्यवसायी संघका संयोजक हरि भट्टराई, आकर्षण इन्टरनेसनलका मिलन थापा, सुभाष हुमन ओभरसिजका सुवास गिरी, संयोज ओभरसिजका पुष्पराज चौलागाईं, सार्क ओभरसिजका आदेश शाक्य, डल्पि्कन ओभरसिजका खगेन्द्र न्यौपाने, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले हवाई टिकट सहयोग गरेको दूतावासका उपनियोग प्रमुख हेम भट्टराईले जानकारी दिए।
मलेसियामा रहेका गैरकानुनी नेपालीलाई स्वदेश फिर्ता अभियानअन्तर्गत दोस्रोपटक एयर एसियाको विमान चार्टर गरेर बिहीबार नेपाल ल्याइएको हो। नेपाली राजदूतावासले एक महिनाअघि कोपेरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन थालेको हो। गत महिना मलेसियाका मानव संसाधन मन्त्री डाटुक रिचर्ड जाइम नेपाल आएका बेला श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले उनको देशमा रहेका गैरकानुनी कामदारलाई सहज रुपमा नेपाल फिर्ता गराउन आग्रह गरेका थिए। जाइमले मलेसिया पुगेर अध्यागमनका पूर्वकर्मचारीको संस्था कोपेरासीको समन्वयमा गैरकानुनी कामदारलाई नेपाल पठाउन सहयोग गरेका हुन्।
मलेसियामा अवैधानिक बसेका र राहदानी नभएका नेपाली कामदारले नेपाल फर्कन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाउनुपर्ने हुन्छ। दूतावासले आगामी डिसेम्बर ३१ सम्म मलेसियामा रहेका गैरकानुनी नेपालीलाई घर पठाउने काम सुरु भएकाले तत्काल यात्रा अनुमतिपत्र बनाउन आग्रह गरिरहेको छ।
दूतावासले यात्रा अनुमतिपत्रको क्रम संख्याको आधारमा प्राथमिकता निर्धारण गर्ने र कोपेरासीमार्फत अध्यागमनबाट फिर्ता हुने पास लिएपछि कोपेरासीले हवाई टिकक उपलब्ध गराउने गरेको छ। यो अभियानमा सहभागी हुन कामदारले कोपेरासीलाई हवाई भाडा, अध्यागमनको जरिवाना/शुल्कसहित बढीमा मलेसियन रिंगेट १३ सय ४० (करिब ४० हजार २ सय) बुझाउनुपर्ने दूतावासले जनाएको छ।
दूतावासले गैरकानुनी हैसियतका र जेलमा रहेका नेपालीको उद्धार गर्ने जनाएको छ। मलेसियाको विभिन्न जेलमा अझै पनि आठ सय ५० नेपाली रहेकोले तिनीहरुलाई पनि उद्धार गरी स्वदेश फर्काउने पहल भएको दूतावासले जनाएको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar