Headlines News :
Home » » रोग बढ्ला है दसैंमा

रोग बढ्ला है दसैंमा

###
यतिखेर नेपालीको घरघरमा बडादसैंको रमझम चलिरहेछ। वर्ष दिनमा एकपटक आउने दसैंमा अधिकांश नेपालीलाई खानपिन, साथीभाइ तथा आफन्तसँग रमाइलो र भेटघाटमा व्यस्त हुँदा रमाइलो लाग्छ। तर चिकित्सकलाई भने यतिबेला बिरामीबाट आउने गुनासो सुन्न भ्यानभ्याइ हुन्छ। उनीहरू दसैंका बेला अधिकांश मानिसले यसअघि गर्दै आएको नियमित व्यायाम, खाँदै आएको स्वस्थ खाना, सुत्ने समयको बेवास्ता गर्नाले दीर्घकालीन समस्या भोग्न बाध्य हुने गरेको बताउँछन्।

मुटुरोग विशेषज्ञ अरुण मास्केका अनुसार दसैंका बेला धेरै खाने तर व्यायाम नगर्ने बानीले उच्चरक्तचापको समस्या बढाइदिन्छ। एकपटक बढेको रक्तचाप घटाउन उनीहरूलाई हम्मेहम्मे पर्छ। उनी भन्छन्, 'मुटुको सानोतिनो समस्या देखिएका मानिसलाई पनि यतिबेलाको खानाले कमजोर बनाउने गर्छ, यसप्रति कोही पनि सचेत हुँदैनन् अनि पछि के गर्नु गल्ती भयो भन्दै आउँछन्।'

दसैंका बेला पेटको समस्या पनि धेरै बढ्ने गरेको वरिष्ठ फिजिसियन डा. भूपेन्द्र बस्नेत बताउँछन्। बस्नेतका अनुसार अस्वभाविक मासुसहितको खाना र मदिराले अपच, झाडापखालाको समस्या देखिने गरेको छ भने निद्राको ठेगान नहुँदा ग्यास्ट्रिकको समस्या पनि बढ्ने गरेको छ। अत्यधिक मदिरा सेवनले कतिपयलाई त उपचारका लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउँछ। कतिपय समुदायमा मासुभात खानका लागि पहिलेदेखि नै पालेर राखिएका खसी, बोका, सँुगुर काटेर राख्ने चलन छ। यस्ता मासु त्यन्तै हानिकार हुने चिकित्सक बताउँछन्।

पौष्टिकतत्त्वको हिसाबमा माछामासु महत्त्वपूर्ण मानिए पनि धेरै खाने र यसमा प्रयोग गरिने अत्यधिक चिल्लो पदार्थले गर्दा जटिल रोग निम्तन सक्छ। सामान्य मानिसका लागि समेत हानिकारक मानिने मासु उच्च कोलेस्टोरल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूलाई त विषको काम गर्ने डा. मास्के बताउँछन्। विज्ञका अनुसार माछामासु प्रोटिनको राम्रो स्रोत भए पनि यसमा चिल्लो मात्र बढी हुने, कोलेस्टोरल, ट्राइग्लिसिराइड लगायत प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसक्दा यसले समस्या थप्छ।

दसैंका बेला ध्यान दिनुपर्ने कुरा

रातो मासु कम गरौं

बाथरोग विशेषज्ञ डा. अरुण गुप्‍ताका अनुसार युरिक एसिडका बिरामीले खसी, राँगा, आदिको रातो मासु, रक्सी, पालुंगोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली धेरै खाएमा छोटो समयमै बाथरोग बढ्ने गर्छ। खुट्टाको बुढी औंला सुन्‍निने र दुख्‍ने रोगबाट पनि मानिस पीडित हुन सक्‍छ।

मिर्गौलाका बिरामीले मदिरा टाढै राखौं

मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार दसैंमा अत्यधिक मदिरा सेवनले शरीरका अंगहरू असन्तुलन हुनका साथै कमजोर बन्‍ने गर्छन्। मदिराको सबैभन्दा बढी असर मिर्गौलामा पर्छ। बियर खाएपछि पनि शरीरमा पानीको मात्रा बढ्छ।त्यति नै मात्रामा पिसाबबाट बाहिर गएन भने त्यसले मिर्गौलाको कामलाई अवरोध गर्न सक्छ। मदिराले उच्च रक्तचाप पनि बढ्न सक्छ। जसको असर मिर्गौलामा पर्न जान्छ।

अनिदो हुँदा मानसिक समस्या आउन सक्‍छ

दसैंका बेला साथीभाइसँग अबेरसम्म मदिरा सेवन गर्दै कुराकानी गर्ने, चिल्लोपिरो बढी खाने, तास खेल्ने, तासमा हारेपछि रातभरि नसुत्ने समस्या बढी पाइन्छ। मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्ययका अनुसार यसको असर स्वास्थ्यमा पर्न जान्छ।जसबाट ग्यास्ट्रिक समस्या देखिनुका साथै बढी रिसाउने, चिडचिडाहट बढ्ने, अल्छिपना बढ्ने लगायत मानसिक समस्या पनि देखिन सक्‍छ।

दुर्घटना पनि हुन सक्‍छ

दसैंका बेला अत्यधिक मदिरा सेवनका कारण ठूल्ठूला दुर्घटना समेत हुने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक केशव अधिकारीका अनुसार अत्यधिक मदिरा सेवनका कारण अघिपछिभन्दा दसैंका बेला बढी दुर्घटना हुने गर्छ। दुर्घटनापछि समयमा उद्धार र उपचारको अभावमा कतिपयको मृत्यु हुन्छ।दुर्घटना न्यूनीकरणका लागि तर ट्राफिक प्रहरीले अघिपछि भन्दा मापसे जाँच कडा बनाउने गर्छ।

मदिराको सोझो असर मुटुमा

मदिरा सेवनका कारण मुटु कमजोर बन्ने गर्छ। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मदिरा सेवनले मुटुलाई नै राम्रो गर्छ भन्ने भ्रम मात्र हो। यसले मुटुको मांसपेशीलाई बिगार्ने काम मात्र गर्छ। अझ मदिरासँग खाइने जंकफुडले त मानिसलाई दीर्घरोगी समेत बनाउने गर्छ।

छाला बिग्रने समस्या सुरु हुन सक्‍छ

दसैंका बेला अनिदो बस्ने, बढी दौडधुप गर्ने, लामो समय खाली पेट बस्ने, सरसफाइमा व्यस्त हुने र एकैपटक चिल्लो र पिरो खानाले मानिसको छाला बिग्रन सक्छ। छालारोग विशेषज्ञ डा. अनिलकुमार मिश्रका अनुसार एकपटक बिग्रिएको छाला सुधार्न उनीहरूलाई वर्षौं लाग्ने गर्छ। कतिपय त पहिलेजस्तो आफ्नो छाला नभएपछि निकै चिन्तित हुने गरेको पाइन्छ। साथीभाइ, आफन्तको घुम्न जाँदा, सरसफाइ गर्दा, टीका थाप्ने बेला राम्रो क्रिम लगाएर अनुहार र छालालाई बचाउनुपर्छ। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar