Headlines News :
Home » » सीता दाहाल भन्छिन्, ‘काठमाडौंभन्दा रोल्पा–रुकुममा आनन्द’ प्रचण्डसँगका २५ वर्षे भूमिगत जीवनका सम्झना

सीता दाहाल भन्छिन्, ‘काठमाडौंभन्दा रोल्पा–रुकुममा आनन्द’ प्रचण्डसँगका २५ वर्षे भूमिगत जीवनका सम्झना

###
सीता दाहाल
विगतका धेरै तीतामीठा सम्झनाहरु छन् । ती सबै सम्झेर साध्य छैन । धेरै उकाली ओरालीहरु, धेरै दुःख कष्टहरु जुन सबै यहाँ बेलीविस्तार लगाउन सम्भव नै छैन । दिनहरु वित्तै जाँदा कति त स्मृतिबाट पनि हराइसके । कैयौं त्यस्ता दृश्यहरु घटित छन्, जुन आज पनि मानसपटलमा ताजै भएर आउँछन् ।


१५ वर्षमा भयो मागी विवाह
उहाँ (प्रचण्ड)सँग मेरो विवाह ०२६ सालमा भयो । विवाह गर्दा उहाँ र म पन्ध्र बर्षका थियौं । उहाँभन्दा ६ महिना म जेठी छु । हाम्रो मागी विवाह भएको हो, चितवनमा । मेरो मामा अहिले पनि हुनुहुन्छ, उहाँ लगभग ८० बर्षको हुनुभएको छ । उहाँले नै माग्नु भएको हो । उहाँले हाम्री आमाले नन्दहरु धेरै भएको घरमा छोरी दिंदा छोरीले दुःख पाउँछे भनेर दिन्न भन्नुभएको थियो । तर मामाले ‘तपाईले छोरी नन्दहरुलाई दिने हो कि केटालाई दिने हो, केटो टाठो छ, दिनैपर्छ ।’ भनेर जिद्धि कस्नु भो । मेरा छ वटी नन्दहरु थिए । त्यतिबेला धेरै नन्द भएको ठाउँमा छोरी दियो भने दुःख पाइन्छ भन्ने बुझाइ थियो ।
उहाँले मलाई मन पराउनुहुँदो रहेछ । विवाह पछि मात्र थाहा पाएँ । मलाई हेर्न केटी माग्न नआएपनि बाटो हिंड्दा आकलझुकल भेट हुन्थ्यो ।
उहाँ पढ्नी म काम गर्नी
मलाई विवाह गर्दा उहाँ दश कक्षामा पढ्दै हुनुहुन्थ्यो । विवाह गरेको भोलिपल्ट हातमा किताब बोकेर स्कूल पढ्न गएको दृश्य मेरो आँखामा कहिले काही झल्को आउँछ । उहाँ पढ्नी म घरको काम गर्नी । म त कहिल्यै स्कूल गइनँ । तर सामान्य नेपाली चाहिं पढ्छु । सामान्य साक्षर छु ।


राता किताब र कम्युनिष्ट
एसएलसी पास गरेर उहाँ आइए पढ्न काठमाडौं जानु भयो । त्यस्तै ०२८÷०२९ सालतिर । त्यतिबेला रुपलाल विश्वकर्माको पार्टीमा लाग्नु भएको रहेछ । त्यही पार्टीले नै उहाँलाई पार्टी सदस्यता दिएको रहेछ । रुपलाल कहिले काही हाम्रो घरमा पनि आउने गर्दथे । कम्युनिष्ट भनेको यस्तो उस्तो भनेर उहाँले भन्नुहुन्थ्यो । माओका राता किताबहरु ल्याएर उहाँ (प्रचण्ड)ले पढ्ने गर्नुहुन्थ्यो । त्यो किताब ठाउँ सारी सारी लुकाउने गर्नुहुन्थ्यो । मैले एक दिन सोधेँ, ‘के किताब हो यो ? कहिले यता कहिले उता लगेर लुकाउनु हुन्छ ?’ अनि उहाँले माओ र कम्युनिष्टहरुको बारेमा बेला बेलामा बताउने गर्नुभयो ।


उता उहाँ पार्टीमा भूमिगत, यता परिवारले छुट्याइदिए
म बुहारी मान्छे, त्यतिबेलाको गाउँघरको परिवेशले गर्दा पनि राजनीतिको विषयमा हामीबीचमा त्यस्तो छलफल केही हुँदैनथ्यो । ०३५ सालको असारमा, जुनबेला सानी(कान्छी) छोरी पाँच महिनाकी थिई, लाई छोडेर उहाँ पार्टीमा पूर्णकालीन रुपमा भूमिगत हुनुभयो । पूर्णकालीन हुनुपूर्व उहाँ गोर्खाको एउटा विध्यालयमा पढाउनु हुन्थ्यो । राजनीतिमा पूर्णकालीन भएपछि ‘केटाकेटी धेरै छन्, हामी पाल्न सक्दैनौं, तिमीहरु आफ्नो अंश लिएर छुट्टै बस’ भन्ने पारिवारिक दबाब आउन थाल्यो । हामी वाध्यात्मक रुपमा छुट्टिनु प¥यो । ०३५ सालतिरैबाट छुट्टै खान बस्न थालियो । छुट्टिएपछि धेरै दुःख कष्ट झेल्नु प¥यो ।


गाडा र पाडा बेचेर पार्टीलाई लेवी
कठोर समस्याहरु झेलेर भएपनि मैले उहाँलाई राजनीतिमा सहयोग गर्दै गएँ । मलाई पनि विस्तारै कम्युनिष्ट भनेको राम्रो हो, पार्टीमा लाग्नुपर्छ भन्ने लाग्न थाल्यो । मैले दुःख गरेर भएपनि उहाँले पार्टीमा काम गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गयो ।
घरपरिवारबाट छुट्टिएको अवस्था, खाने बस्ने समस्या थियो । त्यो बेला हाम्रो एउटा गोरु गाडा थियो । त्यसलाई बेचेर पार्टीलाई पैसा बुझाएको थिएँ । लेवी उहाँले नियमित रुपमा बुझाउनु पथ्र्यो । कुखरा, बाख्रा, पाडा यस्तै बेचेर पनि लेवी तिर्ने गर्थेँ । उहाँले ‘सीता घर खर्च चलाउँ’भनेर कहिल्यै एक पैसा पनि दिनुभएन ।
त्यसबेला बच्चाहरु पढाउन ५÷१० रुपैयाँ फिस तिर्नु पथ्र्यो, सरकारी स्कूलमा । भूमिगत राजनीतिकै कारण तीन छोराछोरीहरुले एसएलसी नै दिन पाएनन् । पछि मात्रै दिएर पास गरेका हुन् । बर्षेनीका छोराछोरी हुर्काउन कति कठीन पर्छ त्यो दुःख भोगेकालाई मात्र थाहा हुन्छ ।
प्रचण्ड ‘प्रचण्ड’ बन्न गाह«ो पथ्र्यो
म ०४३ सालबाट पूर्णकालीन भएर उहाँसँगै पार्टीमा हिंड्न थालेँ । मैले घरमा आएका मानिसहरुलाई खाना बनाउने, खुवाउने, कपडा धोइदिने लगायत हरेक कुराको हेरचाह गर्नुपर्दथ्यो । किरण जी, बादल जीहरु सबैलाई मैले गरेको सेवा (काम)को बारेमा राम्रो थाहा छ । संगठनमा काम गर्न मैले पाइनँ । म संगठनमा लागेको भएँ प्रचण्ड ‘प्रचण्ड’ बन्न पनि गाह्रो पथ्र्यो होला । मैले मेरो कुनै ध्यान नदिइकन उहाँको लागि मात्र ध्यान दिएँ ।
कुम्भेश्वरको काठामै खोल्सो थियो
बहुदल आएपछि उहाँ काठमाडौं बस्न थाल्नुभयो । हामी सुरुमा निरञ्जन गोविन्द बैद्यको धाँजैधाँजा भएको घरमा महिनाको ३ सयजति बत्ति र पानीको मात्रै पैसा तिरेर बस्थ्यौं । पछि पाटन बंगलामुखीको कुम्भेश्वरमा नरबहादुर कर्माचार्य दाइको आश्रममा बस्यौं । कोठा चौविसै घण्टा बत्ती बाल्नुपर्ने खालको थियो । बीचमा खोल्सोजस्तो थियो । कपडाले बेरेर केटाकेटीलाई एकातिर हामी अर्कोतिर सुत्थ्यौं । पानी लिन टाढा जाुनपथ्र्यो । प्रायः उहाँहरु पानी लिन जानुहुन्थ्यो । केटाकेटीहरु सानै थिए । प्रकाश सात÷आठ वर्षको थियो । कहिलेकाहीं सुका, मोहर, रुपैयाँ दिएर फकाइ फकाई प्रकाशलाई गिलेन दिएर खाना पकाउने पानी लिन पठाउने गर्थेँ ।


जनयुद्धमा हाम्फाल्ने निर्णय
हामी यस्ता हौं भन्ने बसेको घरबेटीलाई थाहाँ थिएन । हामी खुल्लैरुपमा आवत जावत गथ्र्यौं । वरिपरिका कसैलाई पनि थाहा थिएन । अरुका आँखा हामीतिर लागेनन् । त्यही कुम्भेश्वरमा बस्दा बस्दै जनयुद्धमा हाम्फाल्ने निर्णय गर्नुभएको हो, उहाँ लगायतका नेताहरुले । मलाईं चाहिं जनयुद्धमै जान सकिदैन कि जस्तो लाग्थ्यो । तर म विश्वस्त के मा थिएँ भने नेपालमा कम्युनिष्ट व्यवस्था आउनैपर्छ, आखिर घर छोडेकै हो । युद्ध गरेरै भएपनि त्यो व्यवस्था ल्याउनै पर्छ भन्ने लाग्ने गथ्र्यो ।
म गाउँको महिला, बुहारी, त्यसमा पनि सुरुमा छोरी छोरी जन्माएँ । छोरीहरुलाई हेर्ने त्यतिबेलाको समाजको दृष्टि राम्रो थिएन । दोष बुहारीमाथि नै थोपरिन्थ्यो । सुकुम्बासी भएपछि खान पाउँछन् कि पाउँदैनन्, कसरी बस्नु, खानुपर्छ भन्ने कुराको राम्रो अनुभूति भएकाले पनि होला ममा कम्युनिष्ट व्यवस्था ल्याउनै पर्छ भन्ने दृढ विश्वास पैदा हुन्थ्यो । त्यसका लागि आवश्यक परे ज्यानै दिन पनि तयार हुनुपर्छ भन्ने लाग्ने गर्दथ्यो ।


कहिले भारत कहिले नेपाल, छोराछोरीको भयो बेहाल
जनयुद्ध सुरु भएपछि धेरै दुःख झेल्नु प¥यो । भूमिगत हुँदा कहिले भारत कहिले नेपाल गरिरहनु पर्दथ्यो, उहाँले । सुरुका २२÷२३ दिन त काठमाडौंमा नै बस्नुभयो । केटाकेटीहरु १०, ७, ५ कक्षामा पढ्दै थिए । म चाहिं कहिले उहाँ भएको ठाउँमा त कहिले केटाकेटी भएको ठाउँमा आउनु पथ्र्यो । एक्लै कहिले पोखरा, कहिले काँकडभिट्टा, कहिले कहाँ कहिले कहाँ पुग्नुपथ्र्यो । केटाकेटी पनि मेरो बाटो कुरिरहेका हुन्थे । यस्तो तालले हुँदैन भनेपछि केटाकेटीहरुलाई स्कुलमै छाडेर म उहाँसँगै बस्न थालेँ । पछि पुलिसले केटाकेटीहरुको खोजी गर्न थाले पछि स्कूलबाट निकालियो । केटाकेटीहरु तितरवितर भए । कसैको विवाह गरियो, कसैलाई कता, कसैलाई इण्डियातिरै लगियो । केटाकेटीहरुको बेहाल भयो । कसैलाई पनि राम्रो शिक्षादीक्षा दिन सकिएन । त्यो बेला प्रकाशले आठ कक्षा पढ्दै थियो । काठमाडौंको स्कूलबाट निकालेपछि डेढ बर्षसम्म प्रकाशको पढाइ बिग्रियो । अनि बल्लतल्ल इण्डियाको पंजावको एउटा स्कूलमा पढ्न हालियो ।


प्रचण्डको सुरक्षामा सँधै चनाखो
इण्डियामा कोठा लिएर भाडामा बस्दा म गोपनियता र उहाँको सुरक्षाप्रति अत्यन्तै सचेत हुन्थेँ । घरबेटीसँग अनावश्यक हेलमेल गर्दैनथेँ, समयमै भाडा दिने, उनीहरुले अपेक्षा गरेभन्दा सफासुग्घर गर्ने, को कस्ता मान्छेहरु नजिकमा आउजाउ गर्छन् लगायतका विषयमा म सँधै चनाखो हुने गर्थेँ । घरबेटीलाई उहाँले डाक्टरी पढ्दै हुनुहुन्छ भन्थ्यौं । घरबेटीसँग घुलमेल भइसकेपछि हामी छोडेर हिंड्दा नरोएका कुनै घरबेटी छैनन् इण्डियामा । सिलगुडीमा बस्दा खेरी हामी बसेको घरकी एउटी बुढी अत्यन्तै धार्मिक थिइन् । उनी पिसाब फेर्न समेत लुगा फेरेर जाने गर्थिन् । तिनीको समेत चित्त बुझाएको थिएँ मैले । हिड्ने बेलामा बस्दाबस्दै किन छोडेर हिडेको, हामीले के भनेको छ र बस्नुस् भन्दै रोइन् ।


इण्डियामा रौं रौंले बचेका ती दुई घटना
इण्डियामा पुलिससँग हाम्रो दुई चोटी नै जम्काभेट भयो । एकदमै पीडादायी दुईवटा अनुभव छन् । एकपटक हामी दिल्लीबाट गोरखपुर आउँदै थियौं । गोरखपुरमा मिटिङ थियो । त्यसबेलामा इण्डियामा मुस्लीमहरुलाई त्यहाँको पुलिसले एकदमै बढी खानतलासी गथ्र्यो । हामी रेलमा थियौं । हाम्रो एउटा मात्र सिट थियो, दुईजनाको । माओवादीहरुको विभिन्न डकुमेन्टहरु पनि उहाँले बोकेर ल्याउनु भएको रहेछ । मैले त भनेको थिएँ, ‘हामीले यो बाकेर न हिडौं, बुढा !, बरु पछि अनन्त जी ले लिएर आउनुहुन्छ ।’ तर उहाँले ‘केही हुन्न’ भन्नु भो लिएर आएका थियौं । त्यसबेला उहाँले लामो लामो दाह«ी पाल्नुभएको थियो । हामी निदाइसकेका थियौं । एउटै सिटमा दुईतिर टाउको पारेर हामी सुतेका थियौं । बाटोमा केही पर्ला भनेर मैले हातभरि चुरा, सिउँदोमा सिन्दुर, सारी चोलो लगाएको थिएँ । त्यो रेलको डिब्बामा एकएक गरेर सबैको झोला पुलिसले खानतलासी गर्न थाल्यो । हाम्रोमा आएर पुलिसले ठेल्न थाल्यो । उहाँ उठ्न खोज्नुभएको थियो, मैले इशारा गरेँ, ‘मुख छोपेर सुत्न’ । उहाँले मुख छोपेर सुत्नुभयो । पुलिसले मलाई हे¥यो । सायद उसलाई शंका नभएर होला । हाम्रो झोला खानतलासी गरेन । हामी बच्यौं ।
त्यस्तै, सुरेश आले र मात्रिका यादवलाई गिरफ्तार गरेको बेला पनि हामी रौं रौंले बचेका हौं । दिनभरि बादल जीसँग कुरा गरेर उहाँ बेलुकै मात्रिका जी भएको ठाउँमा जान खोज्नुभएको थियो । मैले रोकेँ । ‘साँझ परिसक्यो, अब खाना बनाउनु पर्छ, भोलि विहान जाउँला, म पनि जान्छु’ भने । उहाँले मान्नुभयो । विहान विहानै जान लाग्नुभयो । मैले ‘चिया, नास्ता गरौं, अनि जाउँला, किन हतार गरेको ?’ कराएँ । तीन चोटी जुत्ता लाउँदै, भित्र आउँदै बाहिर जाँदै गर्नु भयो । चिया नास्ता गरेपछि मैले भने, ‘फोन नगरी जानु हुन्न, कहाँ भेट्ने हो, फोन गर्नुस् पहिले ।’ मात्रिका र सुरेश आलेको फोन नलागे पछि एकजना पत्रकार हुनुहुन्थ्यो (उहाँको नाम बिर्सिएँ), लाई फोन गर्नुभयो र त्यहाँ पठाउनु भयो । भेट्ने भनेको चियाँ पसलबाट मात्रिका र सुरेश आलेलाई पुलिसले पक्रेर लगेको खबर त्यो पत्रकारले दिएपछि पो झसङ्ग भइयो ।


रोल्पा रुकुममा आनन्द
नेपाल आएर रोल्पा रुकुमतिर बस्दा धेरै आनन्द थियो । जनताले हामीलाई धेरै मायाँ गर्थेँ । अहिले त रोग लागेको छ । सुगर छ, प्रेसर छ । केही खानु हुँदैन । त्यसबेला जनताले आफूले नखाइ नखाइ पनि हामीलाई घ्यू, दूध, दही खुवाउँथे । अहिले भन्दा त्यो बेलाको धेरै सुखानुभूति हुन्छ ।


हिजोका युवा आजका बुढा
हिजोका ती दिन युवाका दिन थिए, आज बुढाबुढी भइयो । केही गर्नुपर्छ भन्ने जोशले भरिएका थिए । आज त्यसमा कमी आएको छ । हिजो हामी बलिदानका निम्ति तयार भएरै जनयुद्धमा गएका थियौं । हामी त युद्धबाट ‘बाइचानस’ बाँचेर आएका न हौं । रोल्पा रुकुममा बस्दा हामी बसेको ठाउँलाई नै लक्षित गरेर धेरै ठाउँमा बम बार्डिङ भो ।


रोल्पामा हामी बसेको घर बमले ध्वस्त
एकचोटी हामीले घर छोडेको मात्रै दुई रात भएको थियो, त्यही घरमा बम खसालियो । त्यो घरमा हामी बसेको ३÷४ महिना भइसकेको थियो । पासाङ जीको घर भएको डाँडो (ठाउँको नाम बिर्सेँ)मा थियो त्यो घर । यति लामो समय एउटै घरमा बस्नु हुँदैन । जनता सदरमुकाममा आवत जावत गरिरहेका छन् । कुरा एक कान दो कान मैदान हुन सक्छ । हामीले तत्कालै यो घर छोड्नुपर्छ भनेर ६÷७ दिनदेखि मैले भनि पनि रहेको थिएँ । त्यो घर छोडेर पारिपट्टि डाँडामा गएर अर्को घरमा बसेका थियौं । माघ ३ गते त्यो घरबाट सरेका थियौं, ५ गत्ते त बम खसालेर ध्वस्त पारे । बाटोमा हिंड्दा, घरमा बस्दा, कार्यक्रम स्थल वरिपरि त कति बम बार्डिङ भो भो, त्यसको यकिन नै छैन ।


यता नआइ सुखै थिएन
शान्ति प्रक्रियामा आउँदै गर्दा हामी कता जाँदै छौं, के होला भन्ने लागेको थियो । यसो नगरी सुख पनि छैन । गर्ने के त ? भन्ने पनि लाग्दथ्यो । युद्धबाट मात्रै अघि बढ्दा देखिने चुनौतीहरु धेरै जोखिमपूर्ण थिए । पेरु पो हुने हो कि भन्ने डर पनि थियो । हामी युद्ध लडिरहेको भए, अन्तर्राष्ट्रिय शक्ति लागेर सिध्याउँथ्यो कि भन्ने लाग्छ । अहिले आएर बिटुलो हुनुभन्दा युद्धमै सिद्धिएको भएपनि हुन्थ्यो भन्ने पनि लाग्छ ।


प्रचण्डलाई ‘प्रचण्ड’बनाउन कसको कति योगदान ? मूल्यांकन होला
युद्धकालमा मैले एक दिन पनि प्रचण्डलाई छोडिनँ । प्रचण्डलाई प्रचण्ड बनाउन सहीद, वेपत्ता, घाइते, आम जनता, सिंगो पार्टी नेता, कार्यकर्ता, समग्र आन्दोलनको योगदान छ । त्यसमा मेरो योगदानको मात्रा पनि छ । त्यो आम जनता र पार्टीका नेता–कार्यकर्ताले मूल्यांकन गर्ने कुरा हो ।


बुझ पचाउने पार्टी, किरण–बादल जीलाई थाहा छ नि !
पार्टीले पनि कहिलेकाहीं बुझेर पनि बुझ पचाउँदो रहेछ । पोष्टबहादुर बागटी विरामी हुनुभन्दा दुई रात अगाडि मात्रै हाम्रोमा आउनु भएको थियो । उहाँले भन्नुभयो, ‘बहिनी ! तपाईंलाई धेरै पीडा छ, मैले बुझिराखेको छु । कर्नरमा परिएको छ । भन्ने मौका कहीं पाइएको छैन । यो पार्टीको पहिलो महिला पूर्णकालीन सदस्य त तपाईं हो ।’ यसो भनेर केही कुरा डायरीमा टिपोट गर्नुभयो । गएको दुई दिनमै त्यस्तो घटना भयो । मेरो बारेमा किरण जी, बादल जीलाई सबैभन्दा राम्रो थाहा छ ।


पार्टी फुट्दाको पीडा
‘भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न’ भने झैं जतिसुकै पीडा भएपनि मान्छे त अगाडि बढ्नैपर्दो रहेछ । पीडा पचाउनै पर्दोरहेछ । पार्टी फुट्दाको पीडाको त सीमा नै छैन ।


वियोगको यो बज्रपात, ‘संघर्ष नै रहेछ जिन्दगी’
छोरी ज्ञानुलाई क्यान्सर भएको दशवर्ष भएको थियो । त्यो बेलामा हामी रोल्पामा थियौं । क्यान्सर भएको खबर पाउँदा छाँगाबाट खसेजस्तै भइयो । उपचारका लागि सकेसम्मको प्रयास ग¥यौं । तर बचाउन सकेनौं । ज्ञानु साह«ै असल छोरी थिई । मेरो घरभित्रको कुरा गर्दा असल छोरी र असल परिवार गुमाउनु प¥यो । यसको पीडा कति छ कति (भक्कानिदैं), पार्टीभित्रको एउटा असल खम्बा(बोगटी), जसले यो परिवारलाई धेरै माया गथ्र्यो, लाई गुमाउनु प¥यो, आमा बित्नु भयो, उता मामा पनि यही बेला वित्नुभयो । सबै पीडा एकैचोटी प¥यो । (आँसु पुछ्दै) जे भएपनि अगाडि बढ्दै पर्दो रहेछ । रुनी कराउनी, संघर्ष गर्ने, अगाडि बढ्ने । यही त रहेछ जिन्दगी । संघर्ष गरे टिक्यो, बाँच्यो । संघर्ष गर्न नसके सिध्यो । यही हो रहेछ जिन्दगी ।


जारी राख्नुपर्छ संघर्ष
अहिलेको स्थितिलाई हेर्दा संघर्ष, आन्दोलनमा त जानैपर्छ । त्यही हिजोको जनयुद्ध त म भन्दिनँ । तर आन्दोलन नगरी केही होला जस्तो लाग्दैन । अब नयाँ ढंगले आन्दोलन गर्नैपर्छ, अगाडि बढाएर पार्टीलाई सशक्त बनाएर लैजानै पर्छ । स्वास्थ्य र शरीरले देला नदेला आफ्नो ठाउँमा छ, तर फेरि झोली तुम्बा बोकेर गाउँमा जनताको बीचमा जान तयार छु । अझै पनि दुःख गर्न सक्छु भन्ने हिम्मत छ । म दुःख गरेर आएको हुनाले अहिले पनि दुःख गर्न मन पर्छ ।

मेरो लवाइ खुवाइले पनि त्यही विगतलाई बताउँछ । जीवनको ६१ वर्षमा आइपुग्दा मैले नभोगेको र नदेखेको भन्ने कुरा केही पनि छैन । अहिले म यसो कल्पना गर्छु, म जस्तोसुकै ‘हाइ लेवल’(ठूल्ठूला नेताहरु बस्ने ठाउँ) मा पुगे पनि हाम्रो आधार त जनता, आन्दोलन वा संघर्ष नै त हो । जनता भनेका नै हाम्रा छोराछोरी हुन् । चुनुवाङको बैठकपछि कलाकारहरुले देखाएको नाटक हेरेर हामी सबै(नेताहरु) रोएका थियौं । त्यो नाटकमा देखाइएको युद्धमा होमिएका योद्धाहरुको पीडालाई सजिव रुपमा अभिनयमा उतारिएको थियो । त्यो भावोत्तेजक दृश्यले जो कसैलाई भावुक बनाउथ्यो । आजको यस घडीमा सबै नेता कार्यकर्ताहरुले त्यो क्षणलाई एकपटक फेरि सम्झन जरुरी छ र अगाडि बढ्ने हिम्मत गर्नुपर्छ ।
(कुराकानीमा आधारित)
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar