Headlines News :
Home » » दसैंका यात्रु: बुकिङ नखुल्दै सकियो टिकट !

दसैंका यात्रु: बुकिङ नखुल्दै सकियो टिकट !

###
काठमाडौं : सरकारले दसैं, तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिकट सकिएको जबाफ पाउन थालेका छन्। यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।

घट्टेकुलो बस्दै आएकी बबिता अधिकारीले असोज १२ गतेका लागि झापा जान टिकट काटिसकिन्। उनले गौशालास्थित एक होटेलमार्फत नमस्ते डिलक्सका तीनवटा टिकट लिएकी हुन्। उनका आफन्त सन्तोष पौडेलले झापाकै दमकका लागि टिकट लिन विभिन्‍न बसका काउन्टर पुगे तर पाएनन्।

त्यसपछि उनले पनि सोही होटेलमार्फत शुक्रबार दुईवटा टिकट लिए। 'दिदीहरू पनि घर जाने भएपछि हामीलाई थप दुईवटा टिकट चाहिएको थियो तर सिट छैन भन्दै कुनै काउन्टरले दिएनन्', उनले भने।

भक्तपुर बस्दै आएकी इटहरी सुनसरीकी निरू दाहालले फूलपातीका दिनको टिकट बुकिङ गरिसकिन्। नोबल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्, 'कोटेश्वरबाट मेट्रो डिलक्समा टिकट पाएँ, केही दिनअघि बुकिङ गरें, अहिले त पाइँदैन रे।'

रकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो।
कोटेश्‍वरमा काउन्टर रहेको महालक्ष्मी डिलक्समा घटस्थापनादेखि नवमीसम्मका लागि टिकट छैन। काउन्टरका एक कर्मचारीले भने, 'तपाईंलाई चाहिएको भए अर्को गाडी थपिएपछिमात्र पाउनुहुन्छ, पछि आउनोस्।'

घटस्थापनाको पर्सिपल्ट घर जान टिकट खोज्दै कोटेश्वरस्थित साकिरा यातायातको कार्यालय पुगेका धर्मराज कार्कीले भने, 'साकिराका पूर्वाञ्चलका लागि झन्डै डेढ दर्जन बस छन्। तर मैले कुनै पनि गाडीको टिकट पाइनँ।'

सुन्धारास्थित प्रिन्स डिलक्सका कर्मचारीले सुन्धारा काउन्टरबाट पूर्वका लागि सबै टिकट बिक्री भइसकेको बताउँदै अन्य काउन्टरमा गएर टिकट खोज्न सल्लाह दिए। अग्नि र मकालु यातायातले भने २५ गतेअघि टिकट बिक्री नगर्ने जानकारी दिए।

कोटेश्वरस्थित काउन्टरका एक कर्मचारीले भने, '२५ गतेदेखि टिकट बिक्री गर्ने भने पनि यात्रु आएपछि टिकट दिएका हौं। यात्रुको चाप अधिक भएकाले थेग्न कठिन भयो।'



मध्यपश्‍चिम र सुदूरपश्‍चिममतिर जाने बसले भने टिकट बिक्री गरेका छैनन्। डोटी सिलगढीका लागि टिकट खोज्न सुन्धारा पुगेका कालोपुल बस्ने राजीव बोगटीले भने, 'अघिल्ला दुई वर्ष मुढा र एक वर्ष बुनोटमा बसेर अत्यन्तै दु:खले घर पुगें। त्यसैले यसपालि चाँडै टिकट खोज्न आएको हुँ।'

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव शरद सिटौलाले बुकिङ खुला हुनुअघि टिकट बेच्नु सम्बन्धित यातायात व्यवसायीको कुरो भएको बताए। उनले भने, 'एउटा आधार खडा गरिएको हो, सबैले मानिदिए राम्रो।'

उनका अनुसार दसैंको मुखमा थानकोट, कोटेश्वर, बालाजु र बल्खु गरी चार नाकाबाट बाहिरिनेको यात्रुको संख्या यसपटक ३५ लाखभन्दा बढी हुन्छ। उनले भने, 'त्यसको सहज व्यवस्थापनका लागि महासंघले मात्रै सक्दैन।' सिटौलाले फूलपातीदेखि तीन दिन दैनिक तीन हजार पाँच सय बस उपत्यकाबाट बाहिरिने बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले भने, '२५ गतेअगाडि नै टिकट बिक्री भएको जानकारी आएको छ। यसबारे महासंघ र प्रहरीसँग समन्वय गरेर यथार्थ बुझी कारबाही प्रक्रिया अघि बढाउँछौं।'
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar