Headlines News :
Home » » सेक्स समस्या र समाधान

सेक्स समस्या र समाधान

###
   प्रकृतिले वनस्पति तथा पशुपक्षीलाई विशेष ऋतु वा अवस्थामा प्रजननका लागि मात्र सेक्सप्रति क्रियाशील बनाउँछ तर मानिसलाई ऋतु र समयको छेकबार छैन।मानिस प्रत्येक ऋतुमा 'यौनक्रीडा' मा सक्रिय रहन सक्छ। यस्तो सफल यौनक्रीडाले महिला पुरुष दुवैलाई आनन्द दिने गर्छ। तर, यौनक्रीडा सफलतापूर्वक सम्पन्‍न गर्न पति वा पत्‍नीको मनमस्तिष्क तथा शरीरले समेत साथ दिनुपर्छ। होइन भने सेक्स एक समस्या बन्‍नुका साथै पारिवारिक जीवनलाई नै संकटमा पार्छ।
सामान्यत: यौन प्रक्रियामा लगातार देखा पर्ने समस्यालाई यौन विकार (सेक्सुअल डिस्फङ्सन) भनिन्छ। यस्ता यौन समस्या थुप्रै किसिमका हुन्छन् र अनेक कारणबाट देखा पर्न सक्छन्। अधिकांश सेक्स समस्या मनोसामाजिक कारणले पैदा हुन्छ। जस्तो कि भागदौडको तनावपूर्ण जीवन, चिन्ता, डिप्रेसनजस्ता मानसिक रोगका कारण पनि सेक्स समस्या आउँछ।
यसैगरी यौनप्रतिको दृष्टिकोण, यौन अन्तद्वन्द्व, पतिपत्‍नी एकअर्कोलाई आर्कषण नलाग्नु, पति वा पत्‍नीको व्यवहार ठीक नहुनु, पति वा पत्‍नी यौनक्रियाप्रति व्यावहारिक नहुनु, यौनसम्बन्ध स्थापित गर्दा अरूले देख्‍ने, समातिने र दण्डित हुने डर र चिन्ता, विफलताको भावना, दोषपूर्ण यौन व्यवहार, अन्तद्वन्द्व, कुण्ठा र अपमानका भावनाहरू, पतिपत्‍नीबीचको झैझगडा, आशाअनुरूप यौन व्यवहारको अभिव्यक्ति नहुनु तथा व्यक्तिगत तथा पारिवारिक उल्झनहरू आदि।
पुरुषहरूमा देखिने थुप्रै यौन समस्या विफलतको भावनाबाट देखा पर्ने गर्छन्। पहिलो चोटि संर्सग गर्ने अधिकांश पुरुषको मनमा यौनक्रीडामा विफल हुने त होइन भन्ने भय रहने गर्छ भने पटकपटक सफलतापूर्वक यौनक्रीडा सम्पन्न गरेका कतिपय पुरुषको मनमा समेत यौनसाथी वा पत्नीलाई पूर्ण सन्तुष्ट पार्न सकिनँ कि भन्ने हीनताबोध रहेको हुन्छ। पुरुषको मनमा उब्जिएका यस्ता काल्पनिक भावनाहरूले अनेक यौन समस्या पैदा गर्न मलजल हाल्ने काम गर्छ।
प्रकाश (नाम परिवर्तन) एक ३० वर्षीय युवक हुन्। केही महिना अघिमात्र २५ वर्षीया ज्योति (नाम परिवर्तन) सँग उनको विवाह भएको थियो। उनी लजालु तथा अन्तर्मुखी स्वभावका छन्। निकै कम बोल्छन्। उनका निकै कम साथी छन्। उनले आफूलाई शारीरिक रूपमा निकै कमजोर ठान्छन्। अर्कोतिर ज्योति निकै आकर्षक छिन्। उनी तार्किक र निकै बोलैया पनि छिन्। उनका थुप्रै साथी छन्। प्रकाशका लागि सुहागरात निकै खल्लो भयो। तर पनि उनले प्रयास गर्दै गए। विस्तारै प्रकाशको यौन इच्छा घट्दै गयो र लिंगमा तनावको समस्या देखा पर्न थाल्यो। कहिले उनको लिंगमा तनाव नै आउँदैनथ्यो त कहिले योनीमा प्रवेश गराउनुपूर्व नै वा तुरुन्त लिंगको तनाव कम हुन्थ्यो। यस्तो समस्या देखिएपछि प्रकाशज्योति युरोलोजिस्टकहाँ गए। तर, युरोलोजिस्टले कुनै शारीरिक कारण नभेट्टाएपछि सेक्स मनोवैज्ञानिककहाँ रिफर गरे।
सेक्स मनोवैज्ञानिकले दुवैलाई एकसाथ र छुट्टाछुट्टै अन्तर्वार्ता लिए। ज्योतिसँगको छुट्टै कुराकानीमा ज्योतिले प्रकाशले आफूलाई वास्ता नगरेको र उनको मर्का नबुझेका गुनासो गरिन्। तर, प्रकाशको भनाइ थियो, 'म ज्योतिलाई निकै माया गर्छु। उनीसँग सधैं रहन चाहन्छु।' पहिलो रात तपाईंलाई कस्तो लाग्यो? मनोवैज्ञानिकको प्रश्‍नको उत्तरमा प्रकाशको भनाइ थियो, 'साँच्चै म उनको यौनप्रतिको अग्रसरताले निकै डराएको थिएँ। मलाई लाग्यो, म यौनको शिशु कक्षामा पढ्दैछु, उनी भने त्यसको हेडमास्टर हुन्। सुरुदेखि नै मलाई हीनता महसुस हुनुका साथै उनीप्रति शंका बढ्न थाल्यो। अनि लिंगमा तनाव कम हुने समस्या देखा पर्‍यो। यौनक्रियाका बेला उनी मलाई सिकाउँथिन्। तर मैले उनले भनेजस्तो गर्न कहिल्यै सकिनँ। साथै मेरो लिंग उनले चाहेजस्तो गरी कहिल्यै कडा भएन।'
पुरुषमा विफलताको भय हुन्छ भने कतिपय महिलामा पीडाको भय रहने गर्छ। नेपालजस्तो पुरुषप्रधान देशमा महिलाहरू घरेलु कामकाजमा धेरै व्यस्त हुन्छन्। अनि पारिवारिक तनाउ र यौनप्रति खुलस्त हुन नसक्दा पनि यौन समस्याको चपेटामा पर्छन्।
यौन समस्याले मानसिक समस्या थपिने गर्छ। डिप्रेसन तथा दुश्‍चिन्ताको एक कारण यौन समस्या पनि हो। डिप्रेसनजस्ता मानसिक रोगहरूबाट पीडित कतिपय पुरुष तथा अधिकांश महिला आफ्नो सेक्स समस्याका बारेमा खुलस्त बताउन हिच्किचाउँछन्। कतिपयलाई आफू वा आफ्नो पार्टनर सेक्स समस्याबाट पीडित भएको अवगत हुँदैन। यसले गर्दा चिकित्सकलाई उनीहरूको स्वास्थ्य समस्या समाधान गर्न गाह्रो पर्छ। त्यसैले आफू वा आफ्नो पार्टनरमा चिडचिडापन, उदासी तथा बैचनी बढेको छ, सामान्य विषयमा पनि अनावश्यक झैझगडा हुने गरेको छ भने यसको कारण सेक्स समस्या पनि हुनसक्छ। त्यसैले चिकित्सकसँग खुलेर कुरा गरौं।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar