### |
भारतीय प्रधानमन्त्री मोदीले भारतको राजधानी दिल्लीका जनतालाई विजुली दिन नसकेको शर्माले बताए । आफ्नो देशका जनतालाई केही दिन नसक्नेले विदेशमा विकासको मूल फुटाउँछु भन्नु हास्यास्पद रहेको उनले बताए । एमालेको महाधिवशेनमा भाकपा मार्क्र्सवादीका तर्फबाट शुभकामना दिन आएका कम्युनिष्ट नेता शर्माले अनलाइनखबरसँगको विशेष कुराकानीमा भने-’मोदी भारतको इतिहासमा सपथ खाएको एक महिना नबित्दै पुत्ला जलाइएका प्रधानमन्त्री पहिलो हुन्, अहिले देशैभरि उनको पुत्ला जलिरहेको छ ।’
‘मोदीले रेलको भाडा बढाए, डिजेलको भाऊ बढाए । ग्यासको दाम बढाए । १६ मेमा जब चुनावी नजिता आयो, त्यस दिनदेखि लिएर अहिलेसम्म सब्जीको भाऊ पौने दुईगुणा बढिसकेको छ । तमाम खाद्यवस्तुको मूल्य बढेको छ । सरकार भनिरहेको छ कि ढुवानी भाडा पनि बढ्दैछ । मोदीले भनेका छन कडा दबाइको जरुरत छ । कडा दबाइको मतलब के हो ?’ कम्युनिष्ट नेता सिंहले भने-’अब बजेट आउनेवाला छ, हामीलाई थाहा छ, यसबाट जनतामाथि हमला हुनेछ । बेरोजगारहरुमाथि हमला हुन्छ ।’
मोदीको हालत कांग्रेसको भन्दा पनि खराब हुनेछ
प्रकार करात र सीताराम यचुरी नेतृत्वको भारतको पुरानो कम्युनिष्ट पार्टीका नेता रहेका शर्माले नरेन्द्र मोदी र बीजेपीको हालत कांग्रेस आएको भन्दा पनि खराब हुने दाबी गरे । उनले भारतमा ठूलो जनआन्लदोलन उठ्न लागेको बताए । ‘तपाईहरुले देख्नुहुने छ कि अब छिट्टै जनता यो सरकारसँग असन्तुष्ट हुनेछन् र यसको हालत कांग्रेसको भन्दा पनि खराब हुनेछ,’ अनलाइनखबरसँग विशेष कुराकानी गर्दै उनले भने- ‘भारतमा यो दक्षिणपन्थी शक्तिको कुनै भविश्य छैन । हेर्नुहोला, भारतमा चाँडै ठूलो जनआन्दोलन सुरु हुनेवाला छ । हामी पूरै विश्वस्त छौं अर्कोचोटि हामी वामपन्थीहरु भारतमा पहिलेको भन्दा पनि शक्तिशाली भएर उदाउने छौं ।’
‘यो मोदीको ‘पे ब्याक टाइम’ हो
लोकसभा चुनावमा ठूला ब्यापारी र पुजीपतिले मोदीमाथि लगानी गरेको र अहिले तिनैको पैसा फिर्ता गर्न मोदी सरकारले महंगी बढाएको भारतीय कम्युनिष्ट नेता शर्माको आरोप छ । मोदी सरकारको कडा आलोचना गर्दै उनले भने-’चुनावमा कर्पोरेट हाउसहरुले जुन ३५ हजार करोड भारू दिएका छन्, मोदीबाट उनीहरुले त्यसको ब्याजसमेत असुल गर्नेछन् । अहिले बीजेपीका लागि ‘पे ब्याक टाइम’ हो । यसका लागि भ्रष्टाचार पनि हुनेछ र जति पनि प्राकृतिक संशाधन छन्, त्यसमा लुट मच्चाइने छ । अहिले उसले भनिरहेको छ, ग्यासको दाम बढाइन्छ । रिलाइन्स, जुन अम्बानीको कम्पनी हो, ऊ चाहन्छ कि ग्यासको दाम दुईगुणा गरियोस् ।’
कांग्रेस नीतिको निरन्तरता
भारतीय कांग्रेस भ्रष्टाचारका कारण बदनाम भएपछि मोदीलाई ‘अमेरिकी साम्राज्यवाद’ र अम्बानी लगायतका भारतीय कर्पोरेट हाउसहरुले प्रधानमन्त्रीका रुपमा अघि सारेको शर्माको आरोप छ । मोदी सरकारले पनि अमेरिकाको पिछलग्गुका रुपमा कांग्रेस सरकारकै नीतिलाई निरन्तरता दिने उनले बताए । कम्युनिष्टहरुलाई दमन गरेर सिध्याउने मोदीको योजना रहेको उनले आरोप लगाए ।
## |
0 comments:
...