Headlines News :
Home » , » तीज: के भन्छन् पति

तीज: के भन्छन् पति

###
श्रीमतीको खुट्टा ढोग्छु: रवीन्द्र मिश्र, पत्रकार

म त उनलाई हरेक पटक व्रत नबस भनेर अनुरोध गरिरहेको हुन्छु तर मान्दिनन्। दीघार्यु, सुस्वास्थ्य र सम्बन्ध सुमधुर बनाउन व्रत नै बस्नुपर्छ जस्तो मलाई लाग्दैन। उनले मलाई देखाएको इमानदारिता र मानवीयता नै मेरा लागि काफी छ। मैले पनि उनलाई सोही तरिकाबाट उत्साहित गर्दा उनलाई खुसी मिल्छ। सधैंभरि आमा-सरह सेवा गर्ने श्रीमतीका लागि श्रीमान्ले वर्ष दिनमा एक पटक आउने तीजमा विशेष प्रकारले आभार प्रकट गर्नुपर्छ भन्ने मलाई लाग्छ।

मैले झन्डै आठ वर्षदेखि तीजका दिन तिमीले होइन, मैले चाहिँ तिमीसामु आभार प्रकट गर्दै शिर नुहाउनुपर्छ भनेर श्रीमतीको खुट्टा ढोग्ने गरेको छु। रमाइलो हुन्छ - छोराछोरीले झुक्काएर उनलाई झ्यापझुप्प समाउँछन् अनि मचाहिँ त्यही मौका पारेर ढोग्छु।

पहिले पनि मैले यस्तो सन्देश राख्दा धेरैले सकारात्मक रूपमा लिएका थिए। कतिपयले भने श्रीमतीको खुट्टा ढोग्ने चलन नै ठीक होइन, श्रीमान्-श्रीमतीका बीचमा त बराबरको सम्बन्ध हुनुपर्छ, कसैले पनि कसैको खुट्टा ढोग्नु नपर्ने स्थिति हुनुपर्छ भनेर टिप्पणी गरेका थिए। यो बहसको अर्कै पाटो हो।

तीजमा चोखो बस्छु: दीपकराज गिरी, कलाकार

मलाई मेरी श्रीमती जतिको माया र सम्मान अरू कसैले गर्दैन। उनी मेरै लागि साउनको हरेक सोमबार र तीजको व्रत बस्छिन्। व्रतको आवश्यकता पर्दैन न, तिम्रो माया भए पुग्छ भनेर मैले जहिले भन्छु तर उनले नसुने झै गर्छिन्। म आफू पनि साउनको हरेक सोमबार व्रत बस्छु। तीजका दिनको उनको निराहार व्रत देखेर म पनि चोखो बस्छु। उनको भावनाको कदर गर्दै त्यस दिन म माछामासु, लसुनप्याज खान्न र ड्रिङ्क पनि गर्दिनँ अनि उनी दंग पछिन्।


श्रीमतीले ढोग्दा म पनि उनलाई ढोग्छु: डा. योगी विकाशानन्द, आध्यात्मिक गुरु

हामी कुनै पनि पर्व धुमधामले मनाउँदैनौं। त्यसैले उनी तीजमा व्रत बस्ने कुरा पनि आउँदैन। अघिपछि भने म स्वास्थ्यका लागि उनीसँगै व्रत बस्छु। व्रत बसेर पति दीघार्यु र स्वस्थ बन्ने, दाम्पत्य जीवन सुमधुर बन्ने भन्नेमा हामीलाई विश्वास छैन।

उनको मायासँग मेरो सम्मान जोडिएको छ। सम्मानबिना मायाको कल्पना गर्ने हो भने त्यो दाम्पत्य जीवन सुखी र खुसी हुन सक्दैन। श्रीमतीप्रतिको सम्मान गुमायौं भने हामीले कहिले पनि उनको चोखो माया पाउन सक्दैनौं। त्यसैले म सबैभन्दा पहिले उनको हरेक कुरामा सम्मान गर्छु त्यसपछि माया स्वत: प्रकट हुन्छ। उनले मेरो खुट्टा ढोक्न थालिन् भने भने म पनि उनको खुट्टा ढोकेर उनीप्रतिको सम्मान प्रकट गर्न म कहिल्यै पछि पर्दिनँ।


सत्य नै व्रत: डा. भगवान कोइराला, चिकित्सक

तीजका धेरैजसो दिन मेरो अस्पतालमै बित्छन्। घर पुग्दा उनी व्रत बसिरहेकी हुन्छिन्। उनलाई जहिले पनि मेरो अनुरोध हुन्छ, स्वास्थ्यका लागि हो भने व्रत बस हैन भने मेरो दीर्घायुको कामना गर्दै व्रत बस्नु पर्दैन तर उनी मान्दिनन्। मन र कर्म स्वच्छ भएपछि व्रत बसेर श्रीमान्को आयुको कामना गर्नु पर्दैन जस्तो मलाई लाग्छ। सत्य काम हाम्रो निष्ठा हो जसलाई हामीले सदैव जोगाउनुपर्छ। त्यसैमा माया, खुसी सबै मिल्छ। जुन कुरामा उनले मलाई साथ दिइरहेका छिन्। उनको माया र सम्मानले नै मलाई मेहनत गर्न मन लाग्छ।


सम्बन्धमा सहयोगी: गगन थापा, सभासद्

तीज मेरा लागि पनि विशेष दिन हो। त्यसैले म उक्त दिन उनीसँगै उनको जन्मघरमा समय बिताउँछु र उनको तीज सेलिब्रेसनमा साथ दिन्छु। उनलाई सहयोग मिलोस् भनेर म पनि त्यस दिन शुद्ध खानेकुरा मात्र खान्छु। श्रीमान् र श्रीमतीबीचको सम्बन्ध अझ प्रगाढ बनाउनमा तीजले ठूलो भूमिका निर्वाह गरेको हुन्छ।

उनी आफैं सजग भएकाले आफ्नो स्वास्थ्य हेरेर कहिले व्रत बस्छिन् त कहिले बस्दिनन्। त्यसमा मलाई पनि खुसी र सन्तुष्टि मिल्छ। व्रत बस्दा उनलाई खुसी मिल्छ भने त्यसमा मैले हस्तक्षेप गर्न मिल्दैन। तर निराहार व्रत बसेर शरीरलाई अनावश्यक दु:ख दिएको र स्वास्थ्य जोखिममा पारेको मलाई राम्रो लाग्दैन। मेरो आमा निराहार व्रत बस्दा बुवालाई आमाको स्वास्थ्यको अति नै चिन्ता हुन्थ्यो। त्यो चिन्ता मलाई नदोहोरियोस् भन्ने कामना गर्छु।


श्रीमती पानी नखाई व्रत बस्दा दु:ख लाग्छ: रमेश खरेल, एसएसपी, नेपाल प्रहरी

हरेक तीजमा उनी व्रत बस्छिन्। वर्षमा एक पटक व्रत बस्नु आफंैमा राम्रो हो। तर मेरो लागि पानीसमेत नखाएर उनी व्रत बसेको देख्दा मलाई दु:ख लाग्छ। व्रतमा फलफूल, दूध दही त खाऊ भन्छु त उनी मान्दिनन्। उनको मप्रतिको श्रद्धा देखेर तीजका दिन उनीसँगै समय बिताउन मन लाग्छ तर जागिर नै यस्तो त चाहेको बेला आफ्ना लागि समय निकाल्न कठिन हुन्छ। तैपनि भरसक तीजको दिन म बिदा मिलाउने कोसिस गर्छु।

अनि घरमा उनले जस्तै शुद्धता अपनाएर उनको पूजा आराधनामा संलग्न हुन्छु। त्यसदिन मलाई पनि खु:सीको अनुभव हुन्छ। वर्षदिनमा एकपटक महिला दिदीबहिनी र आमाहरू जम्मा भएर आफ्नो दु:खसुख साट्ने गर्छन्। एक अर्काप्रति सहकार्य र मेलमिलाप जुटाउने काममा तीजले भूमिका निभाएको जस्तो मलाई लाग्छ। तर तीजमा निराहार व्रत बसेको मलाई पनि राम्रो लाग्दैन।

(दीपा दाहालसँगको कुराकानीमा आधारित)
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar