|
###
|
नेपालीहरू एक प्रकारले भाग्यमानी नै हुन्, किनभने नेपाल बनाउने मौका बारम्बार आइरहन्छ। तर उनीहरू उत्तिकै अभाग्यमानी भएका छन्, किनभने उनीहरूले सो मौका छोप्न सकेका छैनन्। उदाहरणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले एउटा मौका दिएको छ, तर नेपालले त्यसलाई छोप्न सक्लाजस्तो छैन।
भारतले नेपालप्रति देखाउनुपर्ने सद्भावना देखाइदिएको छ। यो बदलाब आओस् भन्ने कामना नेपालीले धेरै वर्षदेखि कुरिरहेका थिए। जब त्यो प्रत्यक्ष देखाप:यो त्यसबेला नेपाली अलपत्र परिरहेको देखापरे। हामीलाई थाहै भएन कि हामी भारतबाट के चाहन्छौं। हामी अहिले अवाक परेका छौं।नेपाली झैं नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि भाग्यमानी नै हुन्। विगत निर्वाचनमा अप्रत्याशित प्रकारले उनको दल नेपाली कांग्रेस सबभन्दा ठूलो दल भएर निस्क्यो। प्रधानमन्त्री पदका लागि आफ्नो दलका दुई प्रतिद्वन्द्वीहरूलाई एकातिर पन्छाउन सफल भए।
प्रधानमन्त्रीको पदमा पहिलो हकवाला भए र हासिल पनि गरे। उनलाई नेपाल बनाउने ठूलो मौका पनि आएको छ। एउटा छिमेकी चीनले भने नेपालको सबभन्दा ठूलो आयोजना के छ, हामीलाई भन्नुस्, बनाइदिन्छौं।
प्रधानमन्त्री चुप लागेर बसे। त्यसलगत्तै भारतका प्रधानमन्त्री आए र तपाइँहरू के चाहनु हुन्छ भन्नुस्, हामी गरिदिन तयार छौं भने। त्यसमा पनि हाम्रा प्रधानमन्त्री चुप लागेर बसेका छन्। दैनिक २० घन्टा खटिनुपर्ने बेलामा उनी अस्वस्थ परे र शून्य काटेर दुई घन्टा मात्र भए पनि काममा लाग्नसक्ने अवस्थामा परेका छन्। मौका आउँछ तर पर्खन्न भन्न नेपाली उखान छ र त्यो चरितार्थ हुन लागिरहेको छ।
नेपालका प्रधानमन्त्रीलाई देश बनाउने र नेपालीको भलो गर्ने मौका बारम्बार आएको हामीले देखेकै हो। गिरिजाप्रसाद कोइराला धेरैपटक प्रधानमन्त्री भए र एउटा उच्चतम व्यक्तित्व बनाए, तर उनले देश बनाउने मौका गुमाए।
उनको सबभन्दा ठूलो देन नेपालको शान्तिप्रक्रियामा भएको मानिन्छ। तर मानिसहरू के भुल्दैछन् भने माओवादीको व्युत्पत्ति उनकै कुशासनको कारणले भएको थियो। संयोगवश त्यो समस्या सुल्झाउने बेलामा पनि उनै सत्तामा थिए।
उनकै सहयोगी शेरबहादुर देउवा पनि पटकपटक प्रधानमन्त्री भए। उनको कार्यकालमा पनि नेपालको भलो गर्ने मौका आइपरेको थियो। एकातिर नेपाल माओवादी युद्धबाट आक्रान्त थियो अर्कोतिर इराकमाथिको आक्रमणले अन्तर्राष्ट्रिय जगत् प्रताडित थियो।
त्यसबखत राष्ट्रसंघले प्रदान गरेको मौका छोपेको भए नेपालमा शान्ति बहाल हुने र अर्कोतिर इराकमा शान्ति कायम गर्न सहयोग पु:याउन सकिने थियो। उनले त्यस्तो मौका न देख्न सके, न देखाउँदा पनि बुझ्न सके।
विगत ६० वर्षको इतिहासमा हामीले नेपाललाई अनेक मौका आइपरेको देखेका हौं, तर नेतृत्वको कमजोरी र स्वार्थले ती मौका गुमेका मात्र छन्, जसबाट नेपालले सधैं पछाडि धकेलिइरहनुपर्यो।
राज्य प्रमुख र सरकार प्रमुख भएको बेला ज्ञानेन्द्रले पनि देशलाई केही दिने मौका पाएका हुन्। तर देशको दुर्भाग्य र उनको दुर्भाग्य उनले देशलाई केही दिनुको साटो देशबाट सबै थोक लिन मात्र रुचि देखाए। आखिर आफू पनि बिग्रे र देशलाई पनि बिगारको लामो बाटोमा धकेलिदिए।
नेपालको इतिहास उनले पाएको मौका अद्वितीय थियो। उनको कार्यकालमा नेपालका दलहरू कमजोर भएका थिए। माओवादी विद्रोह चर्किएको थियो र उनीहरूले राजासित मात्र वार्ता गर्ने र राजनीतिक निकास निकाल्ने भनिरहेका थिए।
दलहरूको तालमालबाट वाक्क भएका अन्तर्राष्ट्रिय समुदायले नयाँ राजालाई सघाउन थालेका थिए। माओवादीविरुद्ध अमेरिकाले राजालाई पूरा मद्दत गर्न तयार थिए। नेपालमा शान्ति कायम गर्ने, राजनीतिक व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय सहयोग लिने, नेपालीलाई शान्ति र विकासतिर डोर्याउने, राजतन्त्रलाई एउटा नयाँ मोड दिनेजस्ता सुनौला मौका आएका थिए, तर उनले गान्धीजीका तीन वाहनले जस्तै न सत्य देखे, न बोले, न सुने।
यस्तो ऐतिहासिक मौका बिरलै आउने गर्छन्। उनको समयमा यस्तो सुनौला मौका आएको देखियो र द्रूतगतिले गएको पनि देखियो। नेपालको ६० वर्षको इतिहासमा नेपाल बनाउने एउटा सुनौलो मौका पाएका हुन् बीपी कोइरालाले।
संसद्को दुईतिहाई बहुमतको बलले उनले प्रजातन्त्र र देश विकासको लागि जग बसाल्न सक्थे, तर उनी सैद्धान्तिक धेरै र व्यावहारिक कम भएकाले उनले पनि त्यो मौका गुमाए। उनका आफ्नै दलका साथीहरूले साथ छोडिदिएकाले राजा महेन्द्र उनीमाथि जाइलागे।
बीपीको हारमा नेपालले धेरै दीर्घकालीन लाभ गुमायो, तर राजा महेन्द्रले आफ्नो कार्यकालमा नेपालको लागि केही गरेरै छोडे। पूर्व-पश्चिम राजमार्ग, कोदारी राजमार्ग, चीनसितको सीमा सम्झौता, विभिन्न सार्वजनिक संस्थाहरूको स्थापना आदि उनकै देन हुन्।
आजको परिप्रेक्षमा उनको सबभन्दा ठूलो देन नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई बलियो बनाउने कदमहरू देखा पर्छन्। अन्तर्राष्ट्रिय जगत्मा उनले हासिल गरेको गौरवलाई मात्र आज कायम गर्न सके भने वर्तमान नेताहरूले जनताको दुष्कार सुन्ाुपर्ने थिएन।
उनको अचानक देहावसानबाट नेपालले धेरै क्षति बेहोर्नुप:यो। नेपालका अरू प्रधानमन्त्रीहरूको मूल्यांकन गर्न गाह्रो पर्छ। किनभने उनीहरू सत्तामा भए पनि शक्तिशाली थिएनन्। त्यसको सबभन्दा ज्वलन्त उदाहरण पुष्पकमल दाहाल हुन्।
व्यक्तिगतरूपमा उनी एक क्रान्तिकारी नेता देखिए तर प्रधानमन्त्रीको रूपमा उनको शक्ति सीमित थियो। एउटा साझेदारी प्रधानमन्त्रीले आफ्नो योग्यता र क्षमता देखाउन सक्दैनन्। त्यही मापदण्ड डा. बाबुराम भट्टराईलाई पनि लागू हुन्छ।
विगत ६० वर्षको इतिहासमा हामीले नेपाललाई अनेक मौका आइपरेको देखेका हौं, तर नेतृत्वको कमजोरी र स्वार्थले ती मौका गुमेर गएको अनुभव भयो। यस सिलसिलामा एउटा कथाको सम्झना हुने गर्छ। एउटा इमानदार कुमाले थियो।
मेहनत गर्थ्यो, माटोको भाँडा बनाउँथ्यो र बेचेर आफ्नो परिवार पाल्थ्यो। एक दिन अचानक हुरीबतासमा परी उसका सबै भाँडा फुटे। ऊ निराश भएर रुन थाल्यो। यो करुण दृश्य देखेर भगवान् प्रकट भए र वरदान माग भने।
बिचरा कुमाले अवाक् प:यो। मेरी पत्नीसित सोधेर आउँछु भनेर घरतिर लाग्यो। बाटोमा साथी भेटे र उनले राम्रो सल्लाह दिए धन सम्पत्ति माग्न भने। तर कुमालेलाई आफ्नी पत्नीसित नसोधी चित्त बुझेन। पत्नीले भनिन्- मेहनत गरेर कमाउनको लागि अरू दुई हात र दुई आँखा माग।
त्यसबाट आम्दानी दोबर हुने र सुख पाइने कुरा बताइन्। कुमालेले त्यसै गर्यो। भगवान्ले तथास्तु भने र कुमालेको अब चार हात र चार आँखा भए। उनी घर फर्कंदै गर्दा मानिसले देखे र दैत्य भनी सम्झे। ठूलो भीड जम्मा भयो र उनीहरूले कुमालेमाथि ढुंगा हान्न थाले। कुमाले बिचरा मरेर गयो। हामीले पाएको मौका र वरदानको गति पनि कतै यस्तै नहोस्।
|
##
|

0 comments:
...