Headlines News :
Home » , » डा. भोला रिजालसँग विशेष कुराकानी: प्रधानमन्त्रीको उपचार स्वदेशमै गर्नसक्छौं

डा. भोला रिजालसँग विशेष कुराकानी: प्रधानमन्त्रीको उपचार स्वदेशमै गर्नसक्छौं

###
२००४ सालमा धरानमा जन्मिएका भोला रिजालमा सानैदेखि गीतसंगीतप्रति रुची थियो । अनि चिकित्सक बन्ने सपना पनि सानैदेखीको । ओम अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. भोला रिजालले हालसम्म कतिजनाको शल्यक्रिया गरे होलान् ? भन्छन्, ‘खै, त्यसको त अब हिसाब नै राख्न छाडें, कति हो कति ।’
नेपालमा पहिलो पटक इन्भीर्टो फर्टीलाइजेशन विधि भित्र्याएका स्त्रीरोग विशेषज्ञ डा. भोलाले धेरै निःसन्तान दम्पत्तीको मुहारमा खुशी ल्याएका छन् । त्यसको भने उनीसँग रेकर्ड छ । भन्छन्, ‘यहाँबाट हालसम्म करिब पाँच सय टेष्टट्युब बेबीको जन्म भइसकेको छ ।’ आफ्ना दौंतरी डाक्टरहरु अधिकांश विदेश पलायन भए पनि डा. भोला स्वदेशमै रहेर विरामीको सेवा गरिरहेका छन्. । यो त उनको व्यक्तित्वको एउटा पाटो भयो । कुनैबेला रेडियोमा घन्किन्थ्यो, ‘मेरो गाउँले साथीलाई, मेरो पाटी पौवालाई ।
’ भोलाकै स्वरमा रेकर्ड भएको यो पुरानो नोस्टाल्जीक गीतको भिडियो अहिले युट्युबमा पनि हेर्न सकिन्छ । हालसम्म १५ वटा गीत गाएका र एक दर्जन बढी गीतमा संगीत भरेका भोलाको संगीतमा स्वर किन्नरी तारादेवीले समेत गीत गाएकी छिन् । सिर्जना विधामा भोला अचेल गीत लेखनमै बढी भिजेका छन् । उनले २०५७ सालतिर ‘सगरमाथा रोइरहेछ’ शीर्षकको एल्बम निकाले, जुन निकै चर्चित रह्यो । सामाजिक चेतनामूलक र देशभक्तिले भरिएका उनका उनका दर्जनौं गीत अहिले पनि रेडियो र टिभीमा घन्किन्छन् । उनले लेखेका करीब पच्चिस सय वटा गीतको पाण्डुलीपीबाट छानेर दुईवटा संग्रह प्रकाशीत भएको छ । ‘साथी’ र ‘छोरीबुहारी’, ‘एक नम्बरको पाखे’, ‘गौंथली’, ‘अप्सरा’, ‘उकाली ओराली’, ‘लक्ष्मी पुजा’लगायत ९ वटा चलचित्रको निर्माण र कथा पनि लेखेका भोलाले हालसम्म करीव एक सय वटा चलचित्रमा गीत लेखेका छन् । ‘के साइनोले बोलाउँ’, ‘चोरी भो चोरी भो, यो छोरीको जोवन चोरी भो’, ‘मैना ए मैना’, ‘सारंगीको तार टुट्यो’लगायतका गीत चर्चित छन् । उनको आत्मवृत्तान्त केही समयमै पाठकमाझ आउँदैछ । प्रस्तुत छ, चिकित्सा विज्ञानसँगै साहित्य, सँगीत र कलालाई एकअर्काका परिपुरकका रुपमा अंगालीरहेका लोकप्रिय व्यक्तित्व डा. भोला रिजालसँग उनकै कार्यकक्षमा रातोपाटीका लागि कुसुम भट्टराईले गरेको कुराकानी :
dr bhola rijal (2)
डाक्टर साब, एक चिकित्सकका रुपमा तपाईंले विरामीको उपचार त गरिरहनुभएकै छ, बेला बेलामा मुलुकमा संकट र अशान्तिको वातावरण उत्पन्न हुँदा तपाई सिर्जनाको माध्यमबाट पनि उपचारको सन्देश दिइरहनुहुन्छ । अचेल सिर्जना उपचार कस्तो चलीरहेको छ ?
२०५७–५८ सालतीरको त्यो कहालीलाग्दो क्षण अझै पनि म सम्झन्छु । त्यसबेला माओवादी जनयुद्ध चलिरहेको थियो । जाँडरक्सी, जुवा तासविरुद्ध भाटा कारवाही सुरु भयो । भैंसी पालन र तरकारीखेतीको अभियान सुरु भयो । त्यसबाट गृहणीहरु खुशी पनि थिए, तर गाउँ गाउँमा राज्य र विद्रोही पक्षबीच हिंसात्मक भिडन्त र मृत्युका खबर पनि आइरहेका थिए । त्यो देखेर मेरो मन रोयो । अनी मैले ‘सगरमाथा रोइरहेछ’ नामक एल्बम बजारमा ल्याएँ । त्यो एल्बम आज पनि चर्चित छ । सायद नेपाली सँगीतमै पहिलो पटक मैले द्वन्द्वलाई संवोधन गरेर गीत लेखें । ‘बन्द गरौं नेपालीले नेपालीलाई मार्न’ बोलको गीत निकै लोकप्रिय भयो । एल्बमले नेपालमा मात्र हैन, अमेरीका र बेलायतमासमेत प्रभाव पा¥यो । गीतको एउटा पँक्ती यस्तो थियो ः
‘फूलको माला सजिएको फोटो मात्र झुल्छ
जो मरे नी नेपालीकै सिउँदो खाली हुन्छ
नेपालीकै छोरो मर्छ जसले मारे पनि
जीत हुन्न नेपालीको जसले हारे पनि
आमा जसले हारे पनि’
त्यसबेला मलाई धेरैपटक अन्र्तवार्तामा ‘सगरमाथा रोइरहेछ’ भन्ने शीर्षक किन राख्नुभयो ? भनेर सोधीयो । मैले भनेको थिएँ, ‘दाजु भाईको लडाईका कारण आज देशै रोइरहेको छ । सगरमाथा पनि हामीवीचकै अस्तीत्व हो । दाजुभाईहरु रोइरहँदा सगरमाथा कहिल्यै हाँस्न सक्दैन ।’ मुलुकमा सहअस्तीत्वको भाव विकास भएको भए र आपसमा सद्भाव भएको भए कसले बन्दुक उठाउँथ्यो र ? त्यसैले मैले लेखें ः
‘यस्तो बरदान देउ हे आमा
मनमा सद्भाव जगाओस्
यी हातले बन्दुक होइन
किताब कपी कलम समाओस्
शान्ति प्रकृया सुरु भएपछि पनि नेताहरुलाई झक्झक्याउनु भयो हैन ?
माओवादी मुलधारमा आए । केही वर्ष सहमतीय राजनीति पनि भयो । तर जव फेरी नेताहरु स्वार्थका लागि झगडा गर्न थाले । अनी मैले लेखें :
‘सुन सुन साथीहरु केही कुरा भन्छु
नेपाल र नेपालीको सवाई कहन्छु
एकादेशमा सात राजा एकैपल्ट आए
नेपालीको भाग्य पनि बाँडीचुडी खाए
माछा माछा भ्यागुताको खेल खेल्न थाले
जनतालाई मालिक हैन नोकर भन्न थाले
जनता सँधै भरीया कै भरीया
के हुन्छ दुःख बिसैया’
जव परिस्थितिमा केही सुधार हुँदै गयो, मुलुकले काँचुली फेरीहाल्छ की भन्ने आशाको किरण देखाप¥यो, अनी कर्ण दासको स्वरमा अर्को गीत आयो ः
‘नयाँ युग तिमीलाई शुभकामना
नेपाल आमा गर्दछिन् आज बन्दना’
मुलुकको परिस्थिति जव फेरी संकटपूर्ण भयो, आशाहरु निराशामा परिणत हुन थाले र देशकै अस्तित्वमाथि प्रश्न चिन्ह खडा भयो, अनि एक वर्षअघि सत्यराज र स्वरुपराज आचार्यको स्वरमा अर्को गीत आयो ः
‘मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपुत छौ की कोही माझी बचाइदेउ
अझै ढुकढुकी छ बाँकी मर्न त्यसै नदेउ’
तपाई एप्रोन लगाएर हरघडी विरामीको सेवामा हुनुहन्छ । मुलुकको राजनीतिक र आर्थिक बेथिति, समाजिक बेथिति र विरामीको क्रन्दनबीच तपाईलाई यस्ता भावहरु कसरी फुर्छन् डाक्टर साब ?
मलाई यही परिस्थितिले त गीत लेख्न प्रेरित गर्छ । विरामीबाटै मैले शिक्षा लिने हो । जव विरामीको आँखामा आँसु देख्छु, उनीहरुको रोदन जव मेरो छातीभित्र पस्छ, अनी निस्कन्छन्–मनका भावनाहरु । अनी घर गएर कोर्न थाल्छु, गीतहरु । मुलुक विखण्डन हुने त हैन ? भन्ने चिन्ता बढीरहेको बेला अस्ती भर्खर मैले संगीतकार अर्जुन पोखरेलजीलाई नयाँ गीत कम्पोज गर्न दिएको छु । त्यो गीतको एउटा अंश यस्तो छ :
‘तिमीलाई चिन्ता छ अर्को जनमको
म यही जनमको कुरा सोच्दैछु
तिमी बाँडौं भन्छौ तराई पहाड
म संसार जोडने कुरा सोच्दैछु ’
dr bhola rijal (2)
तपाईका धेरै साथीहरु विदेश गए । तर तपाई नेपालकै गाउँले साथी र पाटी पौवाकै माया गरेर बस्नुभयो । केले प्रेरित ग¥यो ?
टिचिङ अस्पताल छाड्ने मसँगैका २३ जना साथीहरु विदेश गए । उनीहरु कोही फर्केर आएका छैनन् । म यतै बसें । यही देशको चिन्ता गरेर यही देशको माटोलाई माया गरेर बसियो । आफु त विदेश गईएन नै, विदेश जानेहरुलाई पनि नजाउ है भनेर सल्लाह दिइयो । सरकार रेमिट्यान्समा गर्व गरेर बसिरहेको छ । । स्वदेशमै अवसर जुटाउनुको साटो धमाधम विदेशीने होड छ । तर, वैदेशिक रोजगारीमा जाने हाम्रा दाजु भाईको लास बाकसमा आउँदा आँसु झार्दैनौं । त्यस्तोमा मैले ‘हर्कजीत फर्कीआउ’ बोलको गीत लेखें । यसरी स्वदेशमै केही गरौं भनेर बसियो भने मैले मायाँ गर्ने भनेको पनि स्वदेशकै दाजुभाई दिदीबहिनी, पाटी पौवा, डाँडा, काँडालाई नै हो । मलाई यी सबैले गीत लेख्न प्रेरित गर्छ ।
तपाई एउटै मानिसमा चिकित्सक र सर्जक व्यक्तित्व उत्तिकै सशक्त छ । विज्ञान र साहित्यका यी दुई पृथक विधालाई कसरी एक साथ लैजान सकिरहनुभएको छ ?
दुवै विधा एक अर्काका परिपुरक हुन् । सौता हैनन् । म भगवानलाई भन्न चाहन्छु, ‘हे भगवान कुनै पनि चिकित्सकलाई अलीकती भए पनि साहित्यको आवाज देउ, उनीहरुमा साहित्यिक चेतना जगाइदेउ, ताकी उनीहरुले पनि मनभित्रको कुरा बुझ्न सकून् ।’ साहित्यिक संवेदना नभएको मानिस त टर्रो हुन्छ । उसले के बुझ्छ र ? एउटा औषधि मात्र त उपचार हैन नी । त्यसैले साहित्य र चिकित्सा परस्पर सहयोगी हुन । हिन्दीमा एउटा गीत छ, ‘पिते हैं तो जिन्दा है, ना पिते तो मर जाते ।’ साहित्य, संगीत, कला मबाट निकालीदिने हो भने सायद म बाँच्न सक्दीनथें होला । मैले पनि अरुको मन बुझ्न सक्दीनथें होला । जव नौ बजे राती अस्पतालको काम सकेर घर फर्कन म गाडीमा बस्छु, तब दिनभरी मबाट भए गरेका काम एक एक स्मरण गर्छु । कुनै कमी कमजोरी भयो की भनेर केलाउँछु । र अर्को दिन सच्याउने र अझ पुर्णताका साथ काम गर्ने प्रण गर्छु । अर्कोको मनभित्र पसेर जव तपाई उपचार गर्नुहुन्छ नी, त्यो उपचारको नतिजा नै बेग्लै हुन्छ ।
चिकित्सा शास्त्रले त विज्ञानमा विश्वास गर्छ । तपाई कुनै विरामीको शल्य क्रिया गर्न जाँदा विज्ञानमा विश्वास गर्नुहुन्छ की भगवानलाई प्रार्थना गर्नुहुन्छ ?
म विज्ञानको सम्पूर्ण शक्ति र क्षमता प्रयोग गर्छु । तर, म भौतिक तरीकाले मात्र उपचार गर्दीन । भौतिक तरीकाले मात्र उपचार गरें भने आधा उपचार अधकल्चै रहन्छ । त्यसैले म भावनात्मक र आध्यात्मीक रुपमा पनि निको होस् भनेर कामना गर्छु । कसैले कसैको लागि गुड वीस गर्नुले पनि प्रभाव पार्छ । त्यसैले मेडिकल साइन्समा म प्रार्थनालाई पनि फ्युजन गर्छु ।
चिकित्सा विज्ञानले आश मारिसकेको तर, चमत्कार भएर विरामी बाँचेको उदाहरण छन् तपाईको जिवनमा ?
धेरै छन् । ओम अस्पतालमै त्यस्ता धेरै केश छन्. । बाहिरबाट कुनै अपरेशन गर्न नमिल्ने, चक्कु चलायो भने मर्ने भनिएका विरामी र गर्भवती आमाहरु पनि बाँचेका छन् । दुई महिनासम्म भेन्टिलेटर र एक महिना जनरल वार्डमा बसेर निको भएका विरामी अहिले दिनहुँ पशुपति आउँछन् । खेर गएको भनिएको २७ हप्ताको गर्भलाई पनि जोगाइएको छ । त्यो बच्चा अहिले पाँच वर्षको भएको छ । त्यसैले हामीले सोचेको भन्दा अर्को एउटा शक्ति, जसको दया, माया र सुदृष्टी विरामीमा प¥यो भने त्यसबाट चमत्कार हुन्छ । त्यो सुदृष्टी मेरो काममै प¥यो भने पनि म विरामीलाई बचाउन सक्छु । ‘विरामीलाई मर्न दिन्न, बचाउँछु’ भन्ने मेरो अठोटमै त्यो कृपा वर्षीयो भने मेरो प्रयास सफल हुन्छ र मैले त्यस्तो चमत्कार धेरै देखेको छु ।
साहित्यकारहरु अक्सर हृदयको कुरा गर्छन् । अझ, दिमागको हैन, हृदयको कुरा हो भन्छन् । एउटा चिकित्सकका लागि हृदय भनेको त मुटु नै हो र त्यो मुटु पनि मश्तीष्कले नै संचालन गर्छ । भनेपछि भावनात्मक अंगका रुपमा संवोधन गरिने त्यो हृदय के हो ? त्यो कहाँनेर छ ?
आत्मा कहाँ हुन्छ ? भनेजस्तै हो । यो एउटा संवेदनशील पक्ष हो । हामी भन्ने गर्छौं, ‘उसको पिडा देखेर मेरो हृदयमा करुणा भाव जाग्यो ।’ त्यो भावना हृदयमा आउने त हैन नी । त्यो भावना मस्तिष्कमा नै आउने हो । हो, त्यो भावना आएपछि मुटुको गतिमा अवश्य नै फरक पर्न थाल्छ । मुटुको गतिमा केही उतार चढाव होला, तर त्यसलाई नियन्त्रण गर्ने पनि मश्तीष्कले नै हो । मैले उपचार गर्नुपर्छ भन्ने भाव पनि मश्तीष्कमै जाग्ने हो, गीत लेख्नु पनि मस्तिष्ककै काम हो । विरामीप्रतिको मेरो जुन आत्मीयता र संवेदनशीलता हुन्छ, त्यो पनि मश्तीष्ककै कार्यविधि हो । मुटुमा कुनै भावना जाग्दैन । तर, एउटा भावनात्मक हिसाबले हामी हृदयको कुरा गर्ने गर्छौं ।
एउटा चिकित्सकलाई मानव शरीरका हरेक अंगका बारेमा जानकारी हुन्छ । आखिर मानिसको शरीर के रहेछ ? तपाईको आजसम्मको अनुभवले के भन्छ ?
मानिसको शरीर तिन चिजले बनेको हुन्छ । ति हुन, भौतीक तत्वहरुले बनेका खम्बाहरु, आध्यात्मीकताको प्रवेशका कारण संवेदनशीलता र तेस्रो एउटा यस्तो अज्ञेय चिज छ, जसलाई हामी आत्मा भन्छौं । यी तीन चिजका बारेमा विज्ञानले पनि पुष्टि गरिसकेको छ र आजभन्दा हजारौं वर्ष पहिले लेखिएको गरुण पुराणमा पनि यसबारेमा उल्लेख छ । यी तीन तत्वलाई बुझाउन आजसम्म धेरै प्रयास भएका छन् । सवै चिज बुझिसकेपछि पनि आत्मा र परमात्माको ‘कनेक्सन’ भने अहिलेसम्म कसैले बुझ्न सकेका छैनन् । आत्मा र परमात्माको पक्ष छोडिदिने हो भने मानव शरीर एउटा अनौठो भौतिक अवयव हो । कस्तो उच्च मेकनाइज्ड भने तपाईको मुटु चल्नैपर्छ, त्यसबाट रगतले मश्तीष्कमा अक्सीजन पु¥याउनुपर्छ र अनी मात्र मस्तिष्क चल्छ । त्यसो हुन सकेन भने मस्तिष्क चल्दैन र तपाईको शरीर बाँच्न सक्दैन । हरेक अंगको एउटा सन्तुलीत संचालन । यो एउटा सुसंगठीत भौतीक संरचना हो । तर यसलाई एउटा भौतिक संरचनाका रुपमा मात्र पनि हामीले हेर्नु हुदैन । यसभित्रको जुन आध्यात्मीक अंग छ, त्यसलाई आत्मा या जुनसुकै नाम दिउँ, त्यो रही रहन्छ ।
मेडिकल साइन्सले विकास त गरेको छु, तर मानिसको जीवन झन्–झन् अस्वस्थकर भइरहेको छ । रोगीहरु बढिहरेका छन् । किन डाक्टर साब ?
नेपालमा चिकित्सा क्षेत्रमा गुणात्मक प्रगति भएको छ । यहाँ नभएका धेरै सुविधा अहिले भित्रिएका छन् । निसन्तान दम्पतिका लागि ओम अस्पतालको इन्भीर्टो फर्टीलाइजेशन सेन्टर, मुटु रोगीका लागि गंगालाल अस्पताल, मृगौला प्रत्यारोपणका लागि टिचीङ अस्पतालमा धेरै स्तरीय सेवा छ । निजी क्षेत्रले स्तरीय सेवा दिन थालेका छन् । यसबाट मानिसका सानाभन्दा साना रोग पनि उजागर हुन थालेका छन् । चिकित्साशास्त्रको जति विकास हुन्छ त्यति नै साना समस्याहरु पनि उजागर हुन्छन् र मानिस त्यसबाट चिन्तीत र सजग हुँदारहेछन् । पहिला गाउँघरमा कुनै महिला घाँस लिन जाँदा बायु लागेर मरीन् भनीन्थ्यो । केको बायु पस्नु ? ब्रेन ह्यामरेज भएको हुनसक्छ, छातीमा कुनै समस्या हुनसक्छ, हर्ट फेल भएको हुनसक्छ । तर त्यसको परिक्षण र डायोग्नोसीस हुँदैनथ्यो, अनी बायु लागेर मरयो भनीन्थ्यो । अचेल जसलाई देख्यो, क्यान्सर लागेको भन्छन् । हाम्रै चिकित्सा क्षेत्रका साथीहरुलाई पनि क्यान्सर लागेको देखिन्छ । भएको के हो भने पहिला थाहा हुँदैनथ्यो, अहिले प्रविधिका कारण रोग लागेको थाहा हुन्छ ।
अर्कोतिर हाम्रो जिवनशैलीमा अस्वस्थ प्रतिश्पर्धा बढेको छ । यो अस्वस्थ प्रतिश्पर्धाका कारण सही चिज सही समयमा पाउनै मुश्कील छ । यो हावा पनि अस्वस्थ छ । हामीले खाने पानी झन अस्वस्थ छ । म सरकारका अधिकारीलाई बारम्बार भन्ने गर्छु, ‘तपाईहरु स्वास्थ्यको के कुरा गर्नुहुन्छ ? कमसे कम पिउने शुद्ध पानी त दिनुस् ।’ अहिलेसम्म काठमाडौंको फोहर मैला व्यवस्थापन गर्न सकेका छैनौं । फोहरमैला व्यवस्थापनका लागि अमेरीकाबाट दुई ठुला कम्पनी आएका थिए । उनीहरुले पाँचवर्षपछि सरकारलाई एक अर्ब रुपैयाँ दिन्छौं भनेका थिए । तर, उनीहरुसँग सुरुमै पचास करोड रुपैयाँ घुस मागियो, उनीहरु यहाँबाट अपमानीत महसुस गर्दै फर्कीए । यस्तो रोजनीति छ देशमा । जमीनमुनी खनेर पानी खान खोज्दा पनि बन्द गरिएको छ, धाराको पानीमा ढल मिसिएको छ । आज मानिसहरु डाइरियल डिजिज र स्वासप्रश्वासको समस्याबाट मरीहरेका छन् । यी दुईटा समस्या नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय विफल छ । प्रिभेन्सनका नाममा सरकार के गरिरहेको छ ? त्यसैले यो अरुले बनाइदिएको समस्या हैन ।
यस्तो बेथिति देख्दा विरामीको अपरेशन गर्न छाडेर देशकै अपरेशन गरुँजस्तो लाग्दैन ?
लाग्छ, त्यसैले त गीत लेख्छु । हरेकले आ–आफ्नोतर्फबाट योगदान गर्नुपर्छ । मैले ‘साथी’ र ‘छोरी बुहारी’ जस्ता ९ वटा चलचित्र बनाएँ । चलचित्रका माध्यमबाट जनतालाई जागरुक गराउने कोशीस गरें । चिकित्सकका रुपमा विरामीको सेवा गरीरहेको छु । गीत, सँगीत, साहित्य र बोलीबाट जनताको सेवा गरिरहेकै छु । यसभन्दा अझ बेसी सेवा राजनीतिका माध्यमबाट गर्नुपरेमा म त्यसका लागि पनि तयार छु । तर मुलुकका केही पदमा रहेका व्यक्तिहरु राजनीतिबाट निरपेक्ष रहनुपर्छ । मैले २०५४ सालतीरै भनेको थिएँ, समाजको हरेक क्षेत्रमा जुन राजनीतिकरण भइरहेको छ, त्यसले समाजमा बेथिति ल्याएको छ । जस्तै राष्ट्रपती, प्रधानमन्त्री र सभामुख जुनसुकै दलबाट चुनीएका किन नहुन, तर के पदमा पुगीसकेपछि उसले राजनीति गर्न मिल्छ ? के उ आफ्नो दलको मात्र राष्ट्रपती वा प्रधानमन्त्री हो त ? प्रधानमन्त्री कुनै पार्टीको झण्डा बोकेर पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जान मिल्छ ? प्रधानमन्त्रीले आफुलाई राष्ट्रको पो भन्नुपर्छ त ? त्यसैगरी प्रधान न्यायाधिश, आइजीपी, कमाण्डर इन चीफ जुनसुकै विचार बोकेर आए पनि पदमा पुगेपछि उनीहरुले राजनीति गर्नुहुदैन । बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि मैले एक टेलिभिजन अन्तर्वार्तामा भनेको थिएँ, ‘महाभारत युद्धमा भिष्म पितामह र गुरु दोर्णाचार्य मारिए । त्यसबेलासम्म दुर्योधनलाई अलीकती पनि पीर परेको थिएन । जव कर्ण मारिए, अनी बल्ल दुर्योधन रोएका थिए । उनले भनेका थिएः
‘भीष्म, दोर्ण र कर्ण आदि बलवान त्यस्ता महावीरको
पत्ता केही चलेन ति सब गए प्रत्यक्ष नै देखियो
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी
लागेकै छ मलाई हे बलवती आशा अहो तैपनि ’
‘डुबतेको तिनके का सहारा’ भनेजस्तो हुँदो रहेछ । मुलुक बनाउन अझै पनि हामीले चाह्यौं भने सक्छौं । हिम्मत हार्नुहुँदैन ।
अचेल बच्चा जन्मिने प्राकृतिक प्रकृयाको साटो अपरेशन गरेर निकाल्ने सिजरियन प्रकृया चल्तीमा छ । शहरका महिलामा प्रसव बेदनाबाट बच्चा जन्माउने प्रकृयामा ह«ास आएको हो ?
यसलाई यसरी हेरौं, आजभन्दा ३० वर्षअघि हाम्रै मुलुकमा मातृ मृत्यदर एक हजारमा एक सय थियो भने अहिले त्यो झरेर ५५ मा आएको छ । सुत्केरी गराउने जनशक्ति सक्षम नभएकाले आमाहरु बढी मर्थे । त्यसैगरी निसन्तान हुनु भगवानको श्राप हो, त्यसको अरु उपाय छैन भन्ने भ्रम थियो । अहिले आएर त्यसमा परिवर्तन आएको छ । निसन्तान हुनु भगवानको श्राप पनि हैन, अनी बच्चा पाउन नसकेर मर्नुपर्ने बाध्यता पनि हैन भन्ने मान्यता स्थापीत भएको छ । टेष्टटयूब बेबी जन्माउनसक्ने प्रविधि आएको छ । यससँगै सिजरियन सेक्सन पनि शक्रिय भएको छ । अहिलेको पुस्ता कस्तो भने ‘सिजरियन अन डिमान्ड’ भयो । ‘अंकल मलाई नर्मल डेलिभरी गराउनु नै छैन, तपाईले गराउनुहुन्न भने म अन्त जान्छु’ भन्नेहरु धेरै छन् । यसले बाल र मातृ मृत्युदर घटाएको छ । बच्चाहरु जन्मीने क्रममा धेरै समय लाग्ने, भ्याकुम लगाउनुपर्ने र त्यसबाट बच्चामा असर पर्ने अवस्था छैन । तर सर्जनहरुले दुइ चार पैसा बढी कमाउन जसको पनि अपरेशन गर्छन भन्ने जुन आक्षेप आइरहेको छ, त्यसमा पनि केही सत्यता भने पक्कै छ ।
dr bhola rijal (1)
ओम अस्पतलामै पहिलो टेष्टटयुब बेबीका रुपमा ओममणी तामाङको जन्म भयो, अहिलेसम्म कतिजना टेष्टटयुब बेबी जन्मीए त ?
झण्डै पाँच सय टेष्टटयुब बेबी पुग्दैछन् । डेढ वर्षअघि हामीले तिन सय टेष्टटयुब बेबीको उत्सव मनायौं । अब आउँदो जुलाईमा हामी पाँच सय टेष्टटयुब बेबीको उत्सव मनाउनेछौं । त्यो कार्यक्रम भव्य हुनेछ । उनीहरु को कहाँ छन, हामीले रेकर्ड राखेका छौं । कार्यक्रममा सकेसम्म सबैलाई बोलाउनेछौं । पहिलो व्याजमा पहिलो जन्म ओममणी तामाङको भयो । यही व्याजका डा. शुसील कोइरालाका दुई पुत्र युगेश्वर र युगम्बर पनि अहिले दश–एघार वर्षका भइसके । कलाकार केशव भट्टराईका टेष्टटयुब बेबी पनि यही व्याजका हुन् । कार्यक्रममा सबैलाई बोलाउनेछौं ।
निजी क्षेत्रबाट खुलेका अस्पतालले धेरै गुणात्मक र स्तरीय सेवा दिइरहेका छन् । तर, हाम्रा नेताहरु किन धमाधाम विदेशमा उपचार गर्न गएका होलान् ?
सय जना नेतामा हामीले ९८ जनाको सेवा गरेका छौं । उनीहरुको सफल उपचार गरेका छौं । त्यसमध्ये जम्मा दुइ जना मात्र विदेश गएका छन् । केही नेताहरु विदेशमा गएर उपचार गराउँदा नेपालको स्वास्थ्य क्षेत्रकै अवमुल्यन भइरहेको छ । म ठुल ठुला नेता र उनीहरुका परिवारको प्रमाण दिनसक्छु, जसको यही ओम अस्पतालमै सफल उपचार गरेका छौं । उहाँहरु पुर्ण सन्तुष्ट हुनुहुन्छ ।
सम्माननीय प्रधानमन्त्री शुसील कोइरालाको उपचार नेपालमै गर्न सकिन्छ की सकिदैन ?
अमेरीकामा प्रधानमन्त्रीज्यूको उपचार एउटा निरन्तरता हो । उहाँ उता नजानुभएको भए यही सेवा दिन सकिन्थ्यो । अहिलेसम्म पेट स्क्यान प्रविधि नेपालमा छैन, लाजमर्दो कुरा हैन ? रातोपाटीले केही समयपहिले ‘नेताहरुको उपचार खर्चमा लागेको ५० करोड रुपैयाँ तपाईले पाएको भए के गनुहुन्थ्यो ?’ भनेर मलाई सोधेको थियो । मैले त्यसबेला पनि भनेको थिएँ, यदि ५० करोड रुपैयाँ जिल्ला अस्पतालमा खर्च गरेको भए आज कम्तीमा जिल्लामा दश वटा अस्पताल स्तरीय हुन्थ्यो । यदि वर्षको दश वटा अस्पताल स्तरीय हुने हो भने सात वर्षमा हाम्रा सत्तरी वटा जिल्ला अस्पताल स्तरीय हुन्थे । तर त्यसतर्फ कसैको ध्यान गएको छैन । हाम्रो खर्च प्रिभेन्सनको नाममा भएको छ । खाल्डो खनिन्छ, पानी हालीन्छ, त्यसमा खसेर भैंसी मर्छ, भैंसी म¥यो भनेर खाल्डो पुरीन्छ । न त खाल्डो खनीएको थियो, न त पुरीयो । हामीले प्रिभेन्सन गर्नु नै थियो भने डाइरियल डिजिजका लागि गर्नुपर्ने थियो । दार्चुलामा त्यत्रा मानिस डाइरियल डिजिजबाट मर्नुपर्ने कुनै कारण थिएन । काठमाडौंजस्तो ठाउँमा ढल र पानीको पाइप मिसीएर दुषित पानीका कारण मानिसहरु डाइरीया र कलेराबाट मर्नुपर्ने कुनै कारण थिएन ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा माफियाहरु सलबलाइरहेका छन् । तिब्र प्रतिश्पर्धा छ, चोक चोकमा अस्पताल र नर्सीङ होम खुलेका छन् । यसबाट आम जनताले स्वास्थ्य सेवा पाइरहेका छन् या स्वास्थ्य क्षेत्रका केही सीमीत मानिस धनी भइरहेका छन् ?
यो पनि सरकारको अर्कमण्यता हो । यसलाई हामीले सकारात्मक रुपमा पनि हेर्नुहुदैन र धेरै नै नकारात्मक रुपमा पनि हेर्नु हुदैन । सोच विचार राखेर पहिलो निर्देशीका अनुसार काम गरेको भए यस्तो अवस्था आउने थिएन । अहिले लगानी गर्ने ठाउँ केही पनि छैन । की बैंक खोल्नुप¥यो, हैन भने लगानी सुरक्षीत राख्न स्वास्थ्य र शिक्षामै जानुप¥यो । यसमै म के स्पष्ट पार्न चाहन्छु भने आजभन्दा तिस वर्षअघिको शिक्षा क्षेत्रको आँकडा हेर्नुभयो भने दश प्रतिशत हुनेखानेका छोराहरु नेपालमा पढथे र नब्बे प्रतिशत बाहीर जान्थे । आज नब्बे प्रतिशत छोराछोरी नेपालमा पढ्छन र दश प्रतिशत मात्र बाहीर पढ्न जान्छन् । अन्य क्षेत्रमा केही नभए पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा यो उपलब्धी भएको छ । यसलाई धराशायी पारेर फाइदा लुटन हाम्रा छिमेकी राष्ट्रका केही संस्था र लाखौं करोडौं कमीसन खान पल्कीएका मानिसहरु सलबलाएका हुन । उदाहरणका लागि नेपालमा बिएससी नर्सीङको पढाइका लागि विसवटा भन्दा बढी सीट दिनु हुँदैन भनेर मेडीकल काउन्सील र त्रिभुवन विश्वविद्यालयले रोकीरहेका छन् । बाहीर एक सय पचास जनाको समुहमा एउटै कक्षामा पढेका विएससी नर्सिङका विद्यार्थीले नेपालमा इकुभ्यालेन्ट मान्यता पाउनसक्छन् भने नेपालमा चालिस पचास वटा सीट किन दिन नसकिने ? ओम अस्पताललाई किन चालीस वटा सीट नदिने ? यसमा माफीयाको ठुलो चलखेल छ । जव जव नेपालमा इन्ट्री सुरु हुन्छ, यहाँ नियोजित रुपमा मेडिकल कलेजमा ताला लाग्न थाल्छ, हडताल हुन थाल्छ , ताकी यी बिद्यार्थी बाहीर जाउन् ।
यसमा अदृश्य शक्ति केन्द्रहरु लागेकै हुन ?
एकदम । एउटा सानो उदाहरण, नेपाल मेडिकल कलेजको पोष्ट ग्राजुयशनको सीट घट्यो । किन घटयो मलाई थाहा भएन । घटनु पर्ने कारण नै थिएन । तैपनि ५२ वटा सीटबाट २२ वटा सीटमा घट्यो । त्यसले मलाई घाटा त भएन, तर देशलाई घाटा लाग्यो । यहाँ पढेका बिद्यार्थीको स्तर काउन्सीलले मुल्यांकन गर्छ । यहाँबाट पढने सय जनामा जम्मा दश जना फेल हुन्छन् भने बाहीरबाट पढेर आएका सय जनामा जम्मा दश जना पास हुन्छन् । यो त काउन्सीलले मुल्यांकन गरिरहेको छ नी । यहाँ अप्ठयारो अवस्था आयो भने विद्यार्थी बाहीर जान्छन् । नेपालको बातावरण कसले बिथोलीरहेको छ ? त्यसतर्फ सम्बन्धीत निकायको ध्यान गइरहेको छैन ।
स्वास्थ्य क्षेत्रमा कर नतिर्ने अस्पतालहरुको सूची विभिन्न पत्रिकामा पढ्न पाइन्छ । तर ओम अस्पताल भने कर तिर्ने मामलामै अग्रणी देखिन्छ नी ?
उ त्यो फोटो हेर्नुस (भित्तामा रहेको एक फोटो देखाउँदै, जसमा डा. भोलाले प्रधानमन्त्रीबाट उत्कृष्ट करदाताको पुरस्कार थापीरहेको देखिन्छ ) हामीले कर तिरेर राष्ट्रिय पुरस्कार पाइसकेका छौं । हाम्रो मुल्य मान्यता के हो भने तपाई जे कुरा गर्नु हुन्छ, त्यो पारदर्शी हुनुपर्छ । तपाईले राष्ट्रका लागि केही गर्नुभयो भने पो राष्ट्रले तपाईका लागि के ग¥यो या गरेनन भनेर लेखाजोखा गर्नसक्नुहुन्छ । तपाईले राष्ट्रका लागि केही नगर्ने, तर राष्ट्रबाट मात्र खोज्ने हो भने तपाईले केही गर्न सक्नुहुन्न । एउटा उदाहरण दिउँ, राजश्वमा कुनैबेला दिप बस्नेतजी सचिव हुनुहुन्थ्यो । करीव १२ वर्षअघि आफ्नो पालामा उहाँले एउटा आब्हान गर्नुभयो, ‘तपाईहरु आउनुस्, हामी तपाईहरुलाई सहयोग गर्र्छौं, तपाईहरु हामीलाई सहयोग गर्नुस । अहिले स्वास्थ्य क्षेत्रबाट दशदेखी पन्ध्र करोड रुपैयाँ मात्र राजस्व उठीरहेको छ, यसमा ठुलो विसंगती छ ।’ त्यसपछि मैले एफीमको अध्यक्षका नाताले मुलकुभरीका स्वास्थ्य सँगठनका सदस्यलाई बोलाएर ‘तपाईहरु शत प्रतिशत पारदर्शी हुनुस, हैन भने भोली केही भएमा हामी जिम्मेवार हुनेछैनौं’ भनें । हामीहरु नै पहिलो संस्था हौं, जसले पारदर्शीता अपनायौं । अहिले स्वास्थ्य क्षेत्रबाट एक अर्ब १९ करोड रुपैयाँ राजस्व उठीरहेको छ । साथीहरु हामीलाई कहिलेकाँही गाली गर्छन्, ‘तपाईले हामीलाई भड्खालोमा जाकीदिनुभयो । पहिला नतिर्दा बरु ठिक थियो, अहिले २५ प्रतिशत सिलीङबाट झुक्याएर ३५ प्रतिशत बनाइयो ।’ गाली खानुपर्छ भन्ने थाहा थियो, तर देशका लागि गर्नुपर्छ । सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको पालामा अर्थमन्त्रालय मन्त्रालयका अधिकारीले धेरै गलत काम गरे । गर्ने भनीएको एउटा थियो, गरियो अर्कै । त्यसको विरुद्ध मैले आजसम्म धेरै संघर्ष गरीरहेकै छु ।
संविधानसभाको २६ मा मनोनीत हुन विभिन्न क्षेत्रका मानिसहरुको रुवाबासी छ । पैसाको बिटो बोकेर पनि हिँडे । तपाईमा पनि सभासद हुने रहर पलाएन ?
मलाई सभासद बन्ने इच्छा त थिएन । यस्ता अवसरहरु आउँदा साथीहरु फोन गरेर भन्ने गर्छन्, ‘डाक्टर साब सभासद्मा तपाईको पनि नाम आउनसक्छ है ।’ राजा ज्ञानेन्द्रका पालामा मलाई मन्त्री खान भनीएको थियो । एउटा सार्वजनिक कार्यक्रममा गएर र मैले भनेको थिएँ, ‘राजाको जुृन कदम छ, त्यो स्वीकार्य छैन । कुनै पनि देशको राजा मन्त्री परिषदको अध्यक्ष हुन्छ ? यो के भुत सवार चढेको ? सैतानी जिन्न दिमाग पस्यो भने मात्र मान्छेले त्यस्तो गर्छ । पहिला राजाले आफ्नो कदम सच्याउनुपर्छ । राजनीतिक दलले सरकार चलाए मात्र मलाई केही जिम्मेवारी दिएमा स्वीकार्नेछु ।’ म त मन्त्री भएन, अरु नै कोही भए । त्यसपछि हरेक पटकका उतार चढावमा मेरो नाम पनि चर्चामा आउनेगर्छ ।
अहिलेसम्म कतिवटा अपरेशन गर्नुभयो ?
त्यसको त हिसाब किताब नै छैन । नेपालमा गर्भपतनले कानूनी मान्यता पाउनुपर्छ भन्ने म नै पहिलो व्यक्ति हुँ । असुरक्षीत गर्भपतनबाट नेपाली महिला मरेको म देख्न चाहन्न थें । पछि गएर सुनील भण्डारी र सपना मल्लजीहरु लागेर विधेयक ल्याउनुभयो । त्यो विधेयक आउनुअघि नै मसँग बिबिसीसँगको कुराकानीमा मैले करीब १५ हजार गर्भपतन गराएको सार्वजनिक रुपमा भनेको थिएँ । त्यसले निकै हंगामा खडा ग¥यो । भोला रिजाललाई फाँसी दिनुपर्छ जस्ता कुरा पनि आए । अरुणा उप्रेतीजीले ‘यदि डाक्टर रिजालले गल्ती नै गरेको हो भने किन फाँसी नदिने ?’ भनेर सकारात्मक कोणबाट लेख लेख्नुभयो । मैले अपरेशन कति गरें, मेजर कति करें, माइनर कति गरें, त्यो पनि थाहा भएन । मलाई एकजना पत्रकारले ‘जिन्दगीमा कति चुरोट खानुभयो ?’ भनेर सोधेका थिए । अब कति खाइयो, त्यसको हिसाब कसले राख्ने ? २०४५ सालसम्म म चुरोट खान्थें । २०४५ सालतीर डा. गोबिन्द शर्मा (हाल केएमसीमा एमडी)ले भन्नुयो, ‘डा. भोलाज्यू, म पहिलो पटक तपाइसँग केही माग्छु । तपाई चुरोट छाडनुस् ।’ अनी मैले चटक्कै चुरोट छाडें । पहिला खाएको चुरोटको प्रभाव अझै पनि बाँकी छ र त्यो अझै पाँच वर्षसम्म बाँकी रहन्छ । चुरोट खाइरहेको भए त अहिलेसम्म के हुन्थ्यो थाहा छैन ।
डाक्टर साब स्वयंको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?
अहिले मेरो स्वास्थ्य ठिक छ । आजभन्दा तिन वर्षअघि नियमीत चेक अपका क्रममा जाँदा मुटुको दुईवटा भल्भ केही साँघुरिएको देखियो । अनी मैले आफ्नो भाईजस्तै ठान्ने डा. भरत रावतलाई फोन गरेर आफ्नो समस्या बताएँ । उहाँले मलाई आफ्नै अफीसमा बोलाउनुभयो । उहाँकै सल्लाह अनुसार एनजीयो प्लास्ट गरियो । मुटुमा दुईवटा स्टेन्ट हालीयो । त्यसपछि नियमीत औषधि सेवनका साथै खानपीनको पनि ख्याल गर्दै आएको छु । यसबाहेक अन्य कुनै समस्या छैन । मेरो ब्याक हिपमा डिस्क स्लीप भएको छ । यो २०३४ सालदेखीकै समस्या हो । मैले यसको एमआरआई रिपोर्ट विश्वभरका चिकित्सककहाँ पठाएँ, तर अपरेशन हुन नसक्ने भनीएकाले मैले बस्दा उठदा ख्याल गर्नूपर्छ । सीधा अडेस लगाउन मिल्ने कुर्सीमा बस्नुपर्छ । अपरेशन गर्दा लगाउने मेरो बेग्लै बेल्ट छ । त्यो बेल्ट मैले अमृतसरबाट मगाएको हुँ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar