Headlines News :
Home » » राजमार्गका होटलमा मनपरी मूल्य

राजमार्गका होटलमा मनपरी मूल्य

###
धादिङ-यात्रुलक्षित राजमार्गका होटलले मनपरी मूल्य लिने गरेको पाइएको छ। धादिङको नौबिसेदेखि मुग्लिनसम्मका होटलमा एउटै खाद्य वस्तुको फरकफरक मूल्य लिने गरेको अनुगमनका क्रममा फेला परेको हो। सादा खानाको ९० रुपैयाँदेखि १ सय ५० रुपँयासम्म, बोटलको पानी १५ देखि ३० रुपैयाँ, चिसो पेय ४५ रुपैयाँसम्म लिएको पाइएको छ।

उपभोक्तासँग बढी मूल्य लिएर गाडी चालकलाई कमिसन दिनुपर्ने बाध्यता रहेको होटल सञ्चालक बताउँछन्। उनीहरुले व्यापार बढाउन गरेको उपायले यात्रु ठगिएका छन्।

वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रुपमा गरेको अनुगमानमा मनपरी मूल्य र कमिसन दिएको व्यापारीले स्वीकार गरे। जिल्ला प्रसाशन कार्यालय धादिङ, फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले चार वर्षयता नियमित अनुगमन गरिरहेको छ। तर, अनुगमन चाडपर्बमा मात्र हुँदा अरुबेला मूल्य र गुणस्तरमा सुधार आएको पाइँदैन। होटलवालाले यात्रुलाई व्यवहारमा समेत सुधार आएको छैन। विभागले राजमार्गका होटलमा सुधार ल्याउन सुरु गरेको गुणस्तर स्टिकर टाँस्ने अभियान मलेखुमै सीमित छ। मूल्य र गुणस्तरको सबैभन्दा बढी दुरुपयोग हुने यात्रु लक्षित होटलमा विभागले उचित ध्यान नदिएको यात्रुको गुनासो छ।

होटल व्यावसाय सुधार गर्न दिएको सल्लाह, सुझाव र मौकाबाट सिकेर सुधार्ने प्रयत्न गरेको भन्दै जिल्ला होटल संघका अध्यक्षसमेत रहेका कान्तिपुर होटलका सञ्चालक राजकुमार प्याकुरेलले सञ्चारमाध्यमले त्यस्तो मौका नदिएको भन्दै आक्रोश पाखे। उनले पत्रकारहरु पनि यही जिल्लाका हुन् हामीलाई सुटुक्क भनेर सुधार्ने मौका दिनु पर्थ्यो। एकैचोटि मिडियामा दिँदा धादिङ जिल्लाकै बदनाम हुने भन्दै पत्रकारले खेदो खनेको आरोप लगाए। उनले गुणस्तर, मूल्य, राजमार्गका होटलमा हुने यौन धन्दा, मलेखुमा खुवाइने माछाका विषयमा पत्रकारले लेखिदिँदा प्रतिष्ठामा आँच आउनुका साथै व्ययसाय धरापमा परेको बताए।

व्यवसायीका नेताले समेत पत्रकारलाई तह नलगाएको भन्दै आक्रोश पोखे। उनी अनुगमन टोली आउँदा आफूले पहिल्यै जानकारी नपाएकामा उद्योग वाणिज्य संघका पदाधिकारीप्रति पनि खनिएका थिए। प्याकुरेलको होटलमा मटन खाना दुई २० चिकेन खाना एक ८० र सादा खानाको मूल्य एक सय २० रुपैयाँ छ। मूल्य र गुणस्तरमा सुधार नआएकैले अधिकांश यात्रु होटलमा खाना खान ओर्लिंदैनन्। पेट भोकै भए पनि असाध्यै महँगो र खाएपछि स्वास्थ्य ठीक नहुने भएकाले होटलमा खाना खान मन नलाग्ने स्याङ्जाका भीम पौडेल बताउँछन्। उनी भन्छन्, ‘यहाँ भोक लागे पनि चाउचाउ र पानी खाने हो।'

अमेरिकाको क्यालिफोर्नियादेखि धादिङको सिम्लेसम्म नारा दिएर गोविन्दप्रसाद ढकालले सञ्चालन गरेको नमस्ते नेपालमा खानाको मूल्य सबैभन्दा बढी पाइएको छ। ढकालले सादा खानाको एक सय ५० रुपैयाँ लिएको स्वीकार गरे। यसरी खाना महँगो लिनुको कारण ड्राइभरलाई भत्ता दिनुपर्ने कारण नै मुख्य भएको उनी बताउँछन्।

धार्केमा भेटिएका उनी राजमार्गका सरोकारवालाको चितवन भेलाको खबरले उत्साहित देखिन्थे। सबै मिलेर गाडी साहु र चालकलाई दिन नपरे अहिलेको भन्दा निकै सस्तो खुवाउन सकिने उनी बताउँछन्। सस्तो र गुणस्तरीय खुवाउँदा धेरै यात्रुले खाने हुँदा नाफा उत्तिकै हुने उनको बुझाइ छ। चालकलाई प्रतिटिप पाँच सयदेखि एक हजारसम्म दिनुपर्ने, बस कम्पनीका मालिकले एकमुष्ठ ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म माग्ने हुँदा होटल सञ्चालक मर्कामा परेको उनी स्वीकार्छन्।

‘यहाँ प्रतिस्पर्धा ज्यादा छ। कस्ले धेरै बस लगाउने भन्ने छ। आज एउटाले हजार दिए अर्को १२ सय दिन तयार हुन्छन्। त्यसको असर यात्रुमा पर्ने भएकाले व्यवसायी र सरोकारवाला मिलेर समाधान दिनुपर्ने उनको तर्क छ।

अनुगमनका क्रममा विभिन्न होटलमा २० हजार बराबरको उपभोग्य मिति नाघेका पेय नष्ट गरिएको थियो। माछा बजारको रुपमा परिचय बनाएको मलेखुस्थित सपना होटल, मुक्तिनाथ होटल एन्ड लज, भद्रकाली होटल र मिलन होटलमा अनुगमन गर्दा सरसफाइ नभएको, राख्नुपर्ने तापक्रमभन्दा कममा माछा राखिएको, म्याद नाघेका पेय भेटिएपछि विभागले एक हप्ताको म्याद दिएर चेतावनी पत्र थमाएको छ। म्यादभित्र सुधार नभए होटल बन्द गरिदिने वाणिज्य अधिकृत राजेन्द्र कार्कीले बताए।

माइक्रो तथा बसलाई खाना, नास्ता बेच्ने होटल कान्तिपुर, नमस्ेत नेपाल, शुभकामना होटललाई पनि पत्र थमाउँदै एक हप्ताभित्र मूल्य सूची राख्न, भान्छा कोठा सफा तथा उज्यालो राख्न र ताजा तथा स्वस्थकर खाना बिक्री गर्न खाद्य अनुसन्धान अधिकृत कर्णबहादुर चन्दले सुझाव दिएका छन्।

तोकिएको म्यादभित्र सुधार नभए स्थानीय प्रशासनले होटल बन्द गर्ने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले बताए। यहाँका होटलले लाखौंको कारोबार गर्दा पनि राजस्व तिर्दैनन्। होटल भ्याटमा दर्ता छैनन्। अनुगमन गरिएका प्रायः होटललाई करको दायरामा आउन एक हप्ते पुर्जी थमाइएको छ।

होटल मजदुर र सञ्चालकमा नम्रता आए पनि फरकफरक होटलमा फरकफरक मूल्य र लागतभन्दा तेब्बर मूल्य असुलेर यात्रुलाई ठगिरहेको अनुगमन टोलीसमक्ष यात्रुले गुनासो गरेका छन्।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar