| 
###
 | 
जे नहुनुपर्ने थियो त्यो भयो। विश्वमा विरलै हुने घटनामध्ये नेपालमा भएको छ। छोरा कृष्णप्रसाद हत्याको न्यायको माग गर्दागर्दै नन्दप्रसाद अधिकारीले आफ्नो अमूल्य जीवन एक सय ३२ दिनको अनशनपछि गुमाए।न्यायका लागि लड्दालड्दै यस संसारबाट उनी सदाका लागि बिदा भए यही असोज ६ गते। न्याय पाउने उनको नैसर्गिक अधिकारलाई राज्यले सम्बोधन गर्न सकेन। एउटा नागरिकको पीडामा मलम लगाउने हिम्मतसम्म गर्न सकेन यो लोकतान्त्रिक भनिएको सरकारले। निर्लज्ज भएर पीडकको लाचारी छाया बनेको साबित भयो सुशील कोइराला नेतृत्वको सरकार।
राजनीतिका आडमा उनको न्याय पाउने आधारभूत अधिकारलाई राज्यले हरण गरेको छ। नन्दप्रसादको लामो सत्याग्रहलाई न्यायालयले पनि सम्बोधन गरेन। अन्तर्राष्ट्रिय समुदाय कता अस्ताए बुझिएन। तिनीहरू नेपालमा दण्डहीनता मौलाउँदै गएको मूकदर्शक भए। राजनीतिक स्थिति बिग्रन्छ भन्ने बहानामा एक नागरिकको जीवन अन्त्य भएको टुलुटुलु हरेर बसे।
नन्दप्रसाद र गंगामाया अधिकारीले दोस्रोपटकको लामो अनशन संविधानसभा दोस्रो चुनावअघि सुरु गरेका हुन्। त्यतिबेला प्रधानन्यायाधीश खिलराज रेग्मी सरकार प्रमुख थिए। सबैको ध्यान चुनावमा भएको बेला गलत समयमा अनशन सुरु गर्नुभयो भनेर नन्दप्रसादलाई हामीले भनेका थियौं।
तर उनको ठम्याइ उपयुक्त समय यही हो भन्ने थियो। उनको कथन र विश्वास थियो-प्रधानन्यायाधीश सरकार प्रमुख भएको बेला पनि यो देशमा न्याय पाइएन भने फेरि कहिल्यै पाइने छैन भनेर।हुन पनि त्यस्तै भयो। नन्दप्रसादले प्रधानन्यायाधीश सरकार प्रमुख हुँदासमेत न्याय पाएनन्। उनको यो विश्वासलाई तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनका वरिष्ठ मन्त्रीहरूको समेत ध्यानाकर्षण गराउने काम भएको हो।
सरकारमा रहेका सम्बन्धित निकायका प्रमुखलाई समेत नन्दप्रसादको यो भनाइ अवगत गराएको हो। तर एमाओवादीको राजनीतिक दबाबका कारण न्यायमूर्ति राष्ट्रको कार्यकारी प्रमुख भएको सरकार लाचार बन्यो। अधिकारी दम्पतीका न्याय पाउने नैसर्गिक अधिकारको रक्षा गर्न सकेन। उनीहरूको सत्य र न्यायको लडाइँले साथ पाएन।
दोस्रो संविधानसभाको चुनाउअघि वर्तमान प्रधानमन्त्री सुशील कोइराला, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायतका शीर्षस्थ भनिएका सत्तासीन दलका नेताहरूसमेत वीर अस्पताल गएर अधिकारी दम्पतीलाई भेटेका हुन्। तिनले चुनाउपछि न्याय दिलाउने वाचा पनि गरेका हुन्।
चुनाउ सकियो। सरकार बन्यो तर तिनले आफ्ना वाचा पूरा गरेनन्। अधिकारी दम्पतीको अनशनलाई ख्यालख्याल ठाने। नसाबाट प्रोटिन दिएर बचाउन सकिन्छ भन्ने डा. बुलन्द थापाको भनाइलाई पत्याए।
अदालतको 'फोर्स फिडिङ'को आदेश कार्यान्वयन गर्न सकिन्छ भन्ने विश्वास लिए। तर अपराधीलाई न्यायको कठघरामा उभ्याएर न्याय दिलाउन अघि सरेनन्। उनको बाँच्न पाउने अधिकारको सुरक्षा गरेनन्।
सत्तासीन दल र सरकार एउटा नागरिकलाई कसरी न्याय दिलाउने भन्दा अपराधीलाई कसरी उन्मुक्ति दिने भन्ने चिन्तामा लागेका छन्। बरु पीडितको ज्यान जाओस् तर अपराधीलाई छुनु हुँदैन भन्ने सावित गरेका छन् यस घटनाबाट।
कानुनको खिल्ली उडाउने काम भएको छ। लोकतन्त्रको अझ बढी उपहास भएको छ। गणतन्त्र चेपुवामा परेको छ। सारा न्यायप्रेमी नागरिकको मन रोएको छ। सरकार धिक्कारको पात्र बनेको छ।
विडम्बना, नन्दप्रसादको न्यायको लडाइँलाई कतिपय संवेदनहीन व्यक्तिहरूले डलरको संज्ञा दिएर अवमूल्यन गर्ने कोसिस गरेका छन्। उनको आमरण अनशनबाट मृत्यु हुँदासमेत डलरवादीको उक्साहटमा मरण भएको मनगणन्ते गफ चुट्न छोडेका छैनन्।
अपराधी र पीडकको हौसला अरू बुलन्द पार्ने काममा दत्तचित्त भएर लागेका छन्। उनको त्याग र समर्पणको धज्जी उडाउन अघि सरेका छन्। उनको न्यायको मागलाई पैसा कमाउन गरेको अनशन हो भन्न पनि पछि परेका छैनन्। कस्तो संवेदनहीन देश बन्दैछ यो नेपाल? कहाँ गए नेपालीका ती स्वच्छ र संवेदनशील मन? कस्तो होला यो प्रवृत्तिबाट निर्माण हुने नयाँ नेपालको अनुहार र भविष्य?
डलरको कुरा उठाएर गोर्खा फुजेल- ७ का १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यालाई फासफुस पार्न खोजिएको छ यस दु:खद घडीमा। यो जगजाहेर छ कि कृष्णप्रसाद एक निहत्था नागरिकको २०६१ साल जेठ २४ गते चितवनको टाँडी वाकुलार चोकमा निर्मम र बर्बरतापूर्वक हत्या भएको हो।
यसको अनुसन्धानबाट अभियुक्तहरूको समेत पहिचान भइसकेको छ। उनको हत्यामा प्रत्यक्ष संलग्न भएका तीनजनामध्ये बेलायतको नर्दन आयरल्यान्डमा लुकेर बसेका रुद्र आचार्यको समेत पहिचान भएको छ। उनलाई गिरफ्तार गरेर पठाउन इन्टरपोलद्वारा सूचना जारी भएको आज ६ महिना पनि बितिसकेको छ।
कृष्णप्रसाद कुनै द्वन्द्वरत पक्ष थिएनन्। उनी निहत्था एक साधारण नागरिक थिए। कब्जामा लिई निर्दयीपूर्वक उनको हत्या भएको हो। यो 'द्वन्द्वका क्रममा' घटेको घटना पनि होइन। तर माओवादीका नेताहरूले यसलाई द्वन्द्वकालको घटना भन्न छोडेका छैनन्।
अपराधीलाई राजनीतिक संरक्षण दिएका छन्। र यो भनाइका पछिपछि उनका अन्धभक्त लागेका छन्। यसबाट पीडितको पीडाप्रति उनीहरूका असंवेदनशील दृष्टिकोण र व्यवहार प्रस्ट भएको छ। नागरिकको न्याय प्राप्त गर्न पाउने आधारभूत अधिकारमाथि ठाडो प्रहार भएको छ। यसबाट दण्डहीनताले प्रश्रय पाएको छ। पीडित परिवारलाई अरू पीडा दिएको छ। कुनै पनि न्यायप्रेमी नागरिकका लागि यो अपाच्य भएको छ।
कृष्णप्रसादको हत्याको मुद्दा कठिनपूर्वक न्यायालयसम्म पुगेको हो। चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएपछि त्यही दिन बिहान अधिकारी दम्पतीलाई कनकमणि दीक्षित, सुशील प्याकुरेल र पंक्तिकारसमेत भेट्न पुगेका थियौं।
हत्याको मुद्दा न्यायिक प्रक्रियामा गएपछि अनशन तोड्न अनुरोधसमेत गरियो। अब अदालतले आफ्नो कोर्स लिनेछ भनेर न्यायालयप्रति विश्वास दिलाउन खोज्यौं। तर नन्दप्रसादले नेपालको अदालत राजनीतिक प्रभावबाट मुक्त छ भन्नेमा विश्वास गरेनन्।
सत्तासीन दल र सरकार एउटा नागरिकलाई कसरी न्याय दिलाउने भन्दा अपराधीलाई कसरी उन्मुक्ति दिने भन्ने चिन्तामा लागेका छन्। बरु पीडितको ज्यान जाओस् तर अपराधीलाई छुनु हुँदैन भन्ने साबित गरेका छन् नन्दप्रसाद निधनको घटनाबाट।
यो घटनाले कानुनको खिल्ली उडाउने काम भएको छ, लोकतन्त्रको अझ बढी उपहास भएको छ, गणतन्त्र चेपुवामा परेको छ, सारा न्यायप्रेमी नागरिकको मन रोएको छ र सरकार धिक्कारको पात्र बनेको छ।
न्यायालयलाई विश्वास गर्ने आग्रहमा उनको प्रतिप्रश्न थियो- खोइ रुद्रप्रसादलाई बेलायतबाट झिकाइएको? अभियुक्तमाथि किन छानबिन भएको छैन? उजुरीकर्ता मेरो छोरो नुरप्रसादको बयान किन लिइँदैन?
चितवनमा नचिनिएका मेरो छोरा कृष्णप्रसादलाई कसले चिनायो र चिनाउनेको पहिचान किन भएन? जस्ता प्रश्न बारम्बार गरिरहन्थे। तर यी प्रश्नको उत्तर नपाईकन नन्दप्रसाद हामीबाट बिदा भए। अदालत न्याय दिन सक्छ भन्ने विश्वास नबोकी उनको भौतिक शरीर यो संसारबाट उड्यो।
न्याय खोज्दाखोज्दै नन्दप्रसाद त गए तर गंगामायालाई बचाउने जिम्मा फेरि पनि सरकारको रहेको छ। नन्दप्रसादको जस्तो नियति यिनले समेत भोग्नु नपरोस् भन्ने सबैको माग छ। नन्दप्रसादको मृत्युले सरकार र न्यायालयलाई लोकतान्त्रिक मूल्यमान्यता र न्यायपालिकाको सर्वोच्चता कायम राख्न खुला चुनौती दिएको छ।
नन्दप्रसाद न्यायोचित माग राख्दाराख्दै मृत्युवरण गरेका पहिलो नेपाली नागरिक हुन्। तर उनको बलिदान त्यसै खेर जाने छैन। दण्डहीनताको पूर्ण अन्त्य नगरी न्यायप्रेमी नेपालीले सुखको सास फेर्ने छैनन्। उनी एक आदरणीय र असाधारण व्यक्ति बनेका छन्।
पंक्तिकार नन्दप्रसादको सलाम गर्दछ। उनी र उनको योगदान सदा अमर रहनेछ। विश्वमा उनले एक इतिहास रचेका छन्। न्यायको लडाइँको सन्दर्भमा उनको नाम सधैं अग्रपंक्तिमा रहनेछ। श्रद्धासुमन न्यायका एक वीर योद्धा नन्दप्रसादमा !
| 
##
 | 

0 comments:
...