Headlines News :
Home » » सांसदले समेत घर जान टिकट पाएनन् ,समिति बैठकमा सांसदको गुनासाे

सांसदले समेत घर जान टिकट पाएनन् ,समिति बैठकमा सांसदको गुनासाे

###
काठमाडौ, भाद्र ३१ - “माननीय सभापति ज्यू ! दसैँमा घर जान पाइएला की नपाइला ? सदन कहिले स्थगित हुने हो । अत्तो पत्तो छैन । घर जान कहाँबाट बसको टिकट पाइएला ? मैले त आजसम्म टिकट पाएको छैन । सर्वसाधारण जनताको के हालत होला ? ”

सांसद कल्पना सोपले ती भनाइ अन्त्य गर्न नपाउँदै सांसद भक्तबहादुर विश्वकर्मा (खपाङ्गी)ले भने – ‘सभापति ज्यू, मैले जनताको कुरो गर्ने हो कि आफ्नो कुरा राख्ने हो । जनताको कुरो गर्ने हो भने दसैँमा घर जान टिकट मिलाइदिनु प¥यो माननीयज्यू” भनेर मोबाइलमा फोन र सन्देश आउने सङ्ख्या दिनको ५०० भन्दा बढी काट्यो । “सांसदका लागि छुट्टै व्यवस्था मिलाइदिनुप¥यो,” उनले माग गर्दै थिए ।

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिको आजको बैठकमा अछामका नेकाका सांसद सोप र राप्रपा(नेपाल)का झापाका सांसद खपाङ्गीले ती भनाइ राखेका थिए । समितिका अधिकांश सदस्यले दसैँलगायत चाडपर्वका समयमा घर जान आउन हवाई तथा बसको टिकट नपाएको गुनासो राखेका थिए ।

“टाढा टाढाका मात्र होइन, राजधानी वरिपरि जिल्लामा दसैँका समयमा आवतजावत गर्न यातायातको असुविधा हुन्छ, नजिक जिल्लामा किन थप बसको व्यवस्था नगरिएको हो ?” – धादिङका नेकपा (एमाले)का सांसद गुरु बुर्लाकोटी भन्दै थिए ।

समितिले दसैँ, तिहार, छठ, बकर इद जस्ता चाडपर्वका समयमा सडक आवतजावतलाई कसरी सुरक्षित तथा सरल बनाउने भन्ने विषयमा छलफल आयोजना गरेको थियो । छलफलमा सहभागी यातायात व्यवस्था विभागका कामु महानिर्देशक शरद अधिकारीले दसैँमा घर जाने सर्वसाधारण जनताका लागि टिकट समाप्त नभएको जानकारी दिए ।

यातायात व्यवसायीले यही भदौ २५ गतेदेखि टिकटको अग्रिम बुकिङ खुला गरेका छन् । अहिलेसम्म एक लाख १० हजारले टिकट लिइसकेका छन् । फूलपाती, अष्टमी, महानवमी र बडादसैँका दिन पालो पर्खेर जानेहरूका लागि टिकटको बिक्री बन्द भएको यातायात कम्पनीले जनाएका छन् ।

“पालो पर्खेर जानेबाहेक थप यातायातको साधनका टिकट बन्द भएको छैन, टिकट नपाए मलाईं भन्नुहोस्, म टिकटको व्यवस्था मिलाउने प्रयास गर्छु,” कामु महानिर्देशक अधिकारीले भने ।

उनका कुरा पत्याउन नसकेका सांसदहरूले पूरक प्रश्न राख्नुभयो – ‘तपाईंले भनेका कुरा बस व्यवसायीले टेर्लान त ? कति बस थप गर्ने तयारी गर्नुभएको छ ?’

कामु महानिर्देशक अधिकारीले ५० दिनको यातायात कार्ययोजना बनाई लागू गरिएको र चार दिनका लागि टिकटको अत्यधिक माग रहेको जानकारी दिए । थप बस सञ्चालनमा ल्याउन तयारी भइराखेको र हेल्प डेस्क स्थापना गरी यातायात सेवा सुलभ बनाउने कार्य भइरहेको उनको भनाइ थियो ।

महानगरीय ट्राफिक कार्यालय रामशाहपथका अनुसार गत वर्ष ती चाडपर्वमा करिव १९ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष करिब २५ लाख बाहिरिने अनुमान गरिएको छ । कार्यालयले ती मानिसका लागि न्यूनतम ६ हजार बस थप गर्नुपर्ने जनाएको छ । तर अहिले मुश्किलले सातसय बस सञ्चालनमा रहेका छन् ।

विभागले यातायात व्यवसायीलाई चाडपर्वमा आवतजावत सहज बनाउन र थप बस सञ्चालनमा ल्याउन पटकपटक आग्रह गरेको जानकारी कामु महानिर्देशक अधिकारीले दिए ।

बैठकमा महानगरीय ट्राफिक कार्यालय रामशाहपथका प्रमुख केशव अधिकारीले सुरक्षित यात्रालाई आफ्नो कार्यालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु राख्ने, टाढाको दूरीमा दुईजना चालक नराख्ने र मदिरा सेवन गरी यातायात सञ्चालन गर्नेमाथि कडा कारबाही गर्ने नीति अख्तियार गरिएको उनले बताए ।

बैठकले दसैँ, तिहार, छठ, बकर इदजस्ता चाडपर्वका समयमा सुरक्षित यात्रा, सुरक्षित सडक बनाउन सरकारलाई निर्देशन दिएको छ । यसका लागि अनुगमन समिति गठन गर्नेसमेत निर्णय बैठकले गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीले चाडपर्वका अवसरमा घर जान टिकटको सास्ती व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।

बैठकमा सांसद रामचन्द्र पोखरेलले सरकारले सार्वजनिक यातायातलाई सुरक्षित तथा व्यवस्थित बनाउन सार्वजनिक सूचना जारी गरी विश्वस्त बनाउन आवश्यक छ भने । सांसद आङदावा शेर्पाले चालकको लापर्वाही, मादकपदार्थ सेवन तथा छेउमा महिला राखेका कारण सवारी दुर्घटना हुने गरेको हुँदा यसलाई नियन्त्रण गर्न ध्यान दिनुपर्ने सुझाव दिए ।

सांसद गणेश पहाडीले जब भयो राति तब बुढी ताती भन्ने भनाइसँगै मिल्ने गरी सरकारले चाडपर्वका मुखमा आएर मात्र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने कुरा गर्नु हुन्न भने । रासस
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar