|
###
|
चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङका छोरा कोरियाली युद्धमा मारिएका थिए। तिनै माओका वैचारिक पुस्तकले कम्युनिस्ट भएका पोस्टबहादुर बोगटीका छोरा रवि आफैंले सुरु गरेको सशस्त्र संघर्षमा मारिएका थिए।चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभाव र सामाजिक चेतनाले कम्युनिस्ट पार्टीमा लागेका बोगटी एमाओवादीमा त्यस्ता सीमित नेताभित्र पर्छन्, 'जोसँग नैतिक बल उच्च छ।'
आफ्नो अंशमा प्राप्त जमिन नुवाकोटको तुप्चेस्थित चण्डेश्वरी माविलाई दान दिएर सशस्त्र संघर्षमा होमिएका पोस्टबहादुर एमाओवादीमा कहिल्यै विवादमा परेनन्।
बोगटीले आफू पश्चिम कमान्डको नेतृत्व गरिरहँदा छोरालाई धादिङ नुवाकोट कार्यक्षेत्रमा परिचालन गरे। छोरा रवि बोगटी जनयुद्धका बेला ०५९ असार ७ गते सुरक्षाकर्मीबाट धादिङ सत्यदेवीमा मारिएका थिए। त्यतिबेला पार्टीका अन्य नेताका छोराछोरी कि त बाबुआमासँगै थिए कि सुरक्षित स्थानमा पढ्दै थिए।
केन्द्रीय समितिमा नेतृत्व छनोट गर्न गत जेठमा भएको निर्वाचनमा सबैभन्दा धेरै मत बोगटीले प्राप्त गर्नुले उनको लोकप्रियता प्रस्टिन्थ्यो। श्रद्धाञ्जलिका लागि उनको शव पार्टी कार्यालय र खुलामञ्चमा राखिँदा र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदा नेता-कार्यकर्ताका आँखाबाट आँसु झरेको देखिन्थ्यो।
नुवाकोटको तुप्चे गाविस- २ भित्रिनीटारमा ०१० साउन ३ मा भैरवबहादुर बोगटी र लेखकुमारी बोगटीको कोखबाट नुवाकोटको तुम्चेमा जन्मिएका पोष्टबहादुर बोगटीको सोमबार बिहान ७.२५ बजे नर्भिक इन्टरनेसल हस्पिटल थापाथलीमा निधन भएको हो। पोस्टबहादुरका पत्नी राममाया, छोरीहरू प्रतिभा र प्रभा छन्।पार्टी पदका लागि बोगटीले कहिल्यै दाबी पेस गरेनन्, तर जिम्मेवारीले उनलाई सधैं पछ्याइरह्यो। अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सन्तुलन मिलाउनकै लागि चार वर्षयता बोगटी पार्टीको सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने अवस्थामा पुगे।
बोगटी ०६७ मा सचिव, ०६९ को हेटौंडा महाधिवेशनबाट महासचिव र ०७१ मा विराटनगर सम्मेलनपछि जेठमा भएको केन्द्रीय समितिको बैठकबाट उपाध्यक्ष निर्वाचित भएका थिए। ०४५ मा केन्द्रीय सदस्य, ०४८ मा नेकपा (एकता केन्द्र) को एकताको महाधिवेशनपछि केन्द्रीय सदस्य, ०५४ मा नेकपा माओवादीको पोलिटब्युरो सदस्य, पश्चिमाञ्चल क्षेत्रीय ब्युरो इन्चार्ज, ०५८ मा स्थायी समिति सदस्य भएका थिए।
पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट विजयी बोगटी एमाओवादीका तर्फबाट संविधानसभामा प्रमुख सचेतक थिए। बोगटी प्रमुख सचेतक भएपछि राष्ट्रिय राजनीतिमा छाउन थालेका हुन्।
दोस्रो संविधानसभा निर्वाचनपछि एमाओवादीका अधिकांश नेता तरंगित भए तर बोगटी तरंगित भएनन्। कांग्रेस-एमाले र एमाओवादीका बीचमा चिसिएको सम्बन्ध सुधार्ने सूत्राधारका रूपमा काम गरेका बोगटीको अभाव प्रधानमन्त्री सुशील कोइरालाले पनि महसुस गरेका छन्।
प्रधानमन्त्री कोइराला आइतबार बिहान अस्पताल पुगेर बोगटीको स्वास्थ्य अवस्था जानकारी लिए भने निधन भएको खबर थाहा पाउनेबित्तिकै अस्पताल पुगेका थिए। एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा बोगटीलाई श्रद्धाञ्जलि दिन र एमाओवादीका नेता-कार्यकर्तालाई समवेदना व्यक्त गर्न सबैभन्दा पहिला प्रधानमन्त्री कोइराला पुगेका थिए।
दाहाल र कोइरालाका सेतुका रूपमा बोगटीले कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलका नेताका बीचमा पुस ९ गते चारबुँदे सहमति गराउन भूमिका खेलेका थिए। पहिलो संविधानसभाको कार्यव्यवस्था समितिमा काम गर्ने कांग्रेस, एमालेका नेताहरूले एमाओवादीभित्रका सरल र लचिला नेताका रूपमा बोगटीलाई लिन्छन्।
झलनाथ खनाल नेतृत्वको सरकारमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका बोगटीले बाबुराम भट्टराई नेतृत्वको सरकारमा ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयको जि म्मेवारी दिइएको थियो। पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी सम्हाल्ने बोगटीको स्वभाव थियो।
बोगटीलाई अखिल नेपाल ट्रेड युनियन महासंघमा दाहाल र भट्टराई पक्षको विवाद मिलाउन संयोजक बनाइएको थियो। लडाकु शिविरमा भएको अनियमितता छानबिन गर्न गठित आयोगको नेतृत्व पनि बोगटीले नै गरेका थिए।
पार्टी निर्णय दृढतापूर्वक कार्यान्वयन गर्न कार्यकर्तालाई निर्देशन दिने स्वभावका कारण बोगटी पार्टीमा भट्टराई र श्रेष्ठका लागि पनि सजिला नेता थिए। ०४१ मा पञ्चायतविरोधी आन्दोलनमा १५ दिन हिरासतमा बसेका बोगटीले ०४२ को बमकाण्डमा एक वर्ष केन्द्रीय कारागार त्रिपुरेश्वरमा र ०४६ को आन्दोलनका बेला एक महिना नुवाकोट जेलमा बिताएका थिए।
०४२ मा रामराजाप्रसाद सिंहको जनवादी मोर्चाले बम विस्फोट गराउँदा बोगटीसहित उनका गाउँका ११ जना र नुवाकोटबाट गणेश पण्डितसहित २७ जना पक्राउ परेका थिए। ०२५ देखि बाम राजनीतिमा संलग्न बोगटी ०३४ मा पुष्पलाल समूहको जिल्ला सम्पर्क समितिको सचिव, ०३७ मा संयुक्त चौथो महाधिवेशनमा आबद्व भई जिल्ला संगठन समितिको सचिव भएका थिए।
बोगटी ०४३ मा नेकपा मशालको बागमती क्षेत्रीय ब्युरो सदस्य, ०४४ मा अखिल नेपाल किसान संघको अध्यक्ष भएका थिए। बोगटीकै निर्देशनमा बारा, पर्सा, रौतहटलगायतका तराई पहाडका जिल्लामा किसान आन्दोलन अगाडि बढेको थियो।
पार्टीभित्रका अन्तरसंघर्षमा आफ्नो पक्षमा उभिँदै आएका बोगटीको निधनले अध्यक्षलाई गम्भीर धक्का लागेको छ। गंगालाल हृदयरोग केन्द्र र नर्भिक अस्पतालमा उपचार गराउँदा निरन्तर खटिएका दाहालले पार्टी कार्यालय पेरिसडाँडामा बोगटीको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झन्डा ओढाए भने पशुपति आर्यघाटमा दुई छोरी प्रतिभा र प्रभासँगै दागबत्ती दिए।
एमालेबाट एमाओवादीमा प्रवेश गरेका नेता रामचन्द्र झाका अनुसार इमानदार, निर्विवाद, निष्ठावान्, त्यागी र अध्यक्ष दाहालका विश्वासिला सहयोगी नेता बोगटीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ।
बोगटी दाहालका अनौपचारिक प्रमुख सल्लाहकार थिए। दाहाल आफूलाई लागेका विषय सबैभन्दा पहिले बोगटीसमक्ष राख्थे र बोगटीका सल्लाह सुझाव लिएर अगाडि बढ्थे। 'पोस्टबहादुर बोगटीको निधनले अतुलनीय क्षतिको महसुस भएको छ।
हजारौं नेता, कार्यकर्ता र लाखौं जनसमुदायमा क्रान्ति र परिवर्तनको निम्ति प्रेरणाको स्रोत बन्नुभएको थियो', अध्यक्ष दाहालको शोक वक्तव्यमा भनिएको छ, 'जीवनको अन्तिम क्षणसम्म पनि उहाँ पार्टी, क्रान्ति र राष्ट्रको निम्ति सक्रिय रहँदै हामी सबैलाई आश्चर्य चकित बनाउँदै बिदा हुनुभयो।'
|
##
|

0 comments:
...