Headlines News :
Home » » फुटको संघारमा माओवादी

फुटको संघारमा माओवादी

###
काठमाडौं : तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा-माओवादी फुटको संघारमा पुगेको छ। महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो।

एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ। विवाद चर्कंदै गएपछि थापा र चन्दले एकअर्कालाई निषेध गर्न थालेका छन्। संगठनात्मक संरचनामा आआफ्नो पकड जमाउन थापा र चन्दको होडबाजी बढेपछि केन्द्रदेखि तल्ला कमिटीसम्म विभाजनको रेखा कोरिएको छ।

'जनयुद्धको जगमा जनविद्रोह' को कार्यदिशा सही मान्ने थापा र त्यो कार्यदिशा अपूर्ण रहेको ठान्ने चन्दको विवाद राजनीति, संगठन र प्राविधिक विषयमा बढ्दै जान थालेको एक नेताले बताए। 'पार्टीभित्रको अन्तरसंघर्ष पेचिलो र गम्भीर छ', पोलिटब्युरो सदस्य नारायण शर्माले अन्नपूर्णसँग भने।

स्रोतका अनुसार चन्द अर्को क्रान्तिका लागि सेना निर्माण गर्नुपर्ने पक्षमा छन्। तर क्रान्ति सुरु गरेपछि सेना निर्माण गर्नुपर्ने थापाको तर्क छ। दुई नेताबीच केन्द्रीय सदस्य अनिल शर्माको कारबाहीलाई लिएर पनि चर्कै विवाद रहेको स्रोतले बतायो। थापा शर्माको निलम्बन अनुमोदन गराउन चाहन्छन् भने चन्द निलम्बन फिर्ता गराउने अडानमा छन्।

शर्माको कारबाहीलाई चन्द पक्षले अवैध र थापा पक्षले वैध भन्दै आएको छ। एक वर्षअघि पनि थापा पक्षले वैकल्पिक केन्द्रीय सदस्य डा. ऋषिराज बराललाई कारबाही गरेको थियो। त्यतिबेला पनि चन्द पक्षले बरालमाथिको कारबाहीलाई अस्वीकार गरेको थियो।

यही असोज ८ देखि ११ गतेसम्म काठमाडौंमा बसेको पोलिटब्युरो बैठकमा थापा पक्षका नेताले शर्माले आत्मालोचना गर्नुपर्ने, पार्टी विधिअनुसार सञ्चालन हुनुपर्ने, पार्टीभित्रको अराजकता नियन्त्रण गरिनुपर्ने आवाज उठाएपछि चन्द उत्तेजित भएर बैठकबाट बाहिरिन खोजेका थिए। बैठक कक्षबाट बाहिरिन खोजेका चन्दलाई समातेर पोलिटब्युरो सदस्य शर्माले रोकेका थिए। 'पार्टीभित्र अन्तरसंघर्ष भएकै कारण केन्द्रीय समितिमा दुईवटा दस्ताबेज आएका हुन्', शर्माले भने।

आर्थिक स्रोतमा पहुँचका विषयमा पनि दुई नेताबीच विवाद चर्किएको छ। पार्टीले चन्दा अभियान रोकेका बेला मजदुर र विद्यार्थी संगठनले उठाएको चन्दा आफूलाई नबुझाएर चन्दलाई बुझाएकोमा पनि थापा पक्ष रुष्ट छ।

पार्टी एकताको औचित्य पुष्टि गर्न चन्दले थापा पक्षलाई चुनौती दिँदै आएको छ। एमाओवादीसँग मिल्न चाहनेलाई मिल्न दिन र सशस्त्र संघर्षको मार्गमा जान चाहनेलाई सोही दिशामा लाग्न सुझाव दिने नेताहरू पनि छन्। तीमध्ये एक नेताले भने, 'पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सँगै बसेर क्रान्ति अगाडि बढाउन नसक्ने हो भने आआफ्नो बाटो समात्दा हुन्छ।'

महासचिव थापा र अध्यक्ष मोहन वैद्यले पार्टी एकताका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर छलफल गर्दै आएका छन्। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar