### |
लागूऔषध मुद्दामा दिनेश ३ वर्षअघि ४ छोराछोरीसहित जेल परेका थिए । अहिले छोरी विश्वभरका लाखौं बालबालिकालाई उछिनेर प्रतिभा देखाउन ७ समुद्रपार जान लागेको खबरपछि परिवारको भुइँमा खुट्टो छैन । 'छोरीको सफलताले राहत मिलेको छ,' दिनेशले भने, 'मलाई त बल्ल छोरी अन्माएको अनुभूति भयो ।' रोशनी राजधानीस्थित पिए नेपाल (बन्दी सहायता नेपाल) नामक संस्थाले सञ्चालन गरेको जुनकिरी प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । संस्थाकी संस्थापिक इन्दिरा राना मगरसहित अभिभावकलाई भेट्न र राहदानी बनाउन आएकी थिइन् ।
अभिभावकसँगै रोशनी र उनका भाइ ६ वर्षीय रोशन र ४ वर्षीय रोहनलाई २ वर्षअघि इन्दिराले उद्धार गरी संस्थामा आश्रय र शिक्षादीक्षा दिइरहेकी छिन् । इन्दिरा स्विडेनमा अक्टोबर २४ मा वितरण गरिने यस वर्षको बाल नोबेल पुरस्कार लागि अमेरिकाका जोन उड, पाकिस्तानकी मलाला युसुफजाइसँगै अन्तिम प्रतिस्पर्धामा छिन् । उक्त समारोहमा प्रतिस्पर्धी सम्मानित हुँदै छन् । समारोहमा सहभागी हुन विश्वभरिबाट छनोट गरिएका १ सय ८ 'मास्टर' (बालबालिका) मध्ये नेपालबाट रोशनी छनोट भएकी हुन् ।
रोशनी र इन्दिरा अक्टोबर २२ मा समारोहमा सहभागी हुन उड्ने भएका छन् । बाल नोबेल पुरस्कार वितरण समारोहमा आयोजना गरिने सम्मेलनमा उनी सहभागी मात्र हुन्नन्, आफ्नो कथाव्यथा सुनाउने र बाल अधिकारका कुरा गर्नेछिन् । त्यसबाहेक अतिरिक्त क्रियाकलापमा सहभागी हुनेछिन् । उनको प्रस्तुति राम्रो भए उनी १८ वर्ष नपुगुन्जेलसम्मका लागि 'चाइल्ड एम्बेस्डर' चुनिन सक्छिन् । इन्दिरा विगतमा नेल्सन मन्डेला र आङ सान सुचीजस्ता हस्तीले जितेको बाल नोबेल पुरस्कारको अन्तिम ३ प्रतिस्पर्धीमा परेपछि खुसी छिन् ।
त्यति नै खुसी रोशनीलाई सहयात्री बनाउन पाएकामा छिन् । 'रोशनी छनोटमा परेपछि मेरो शिर पनि उचो भएको छ, उनले त्यहाँ राम्रो गर्न सके उनी विश्वका अन्य मुलुकका बालबालिकासँग प्रत्यक्ष रूपले जोडिनेछिन्,' इन्दिराले भनिन्, 'मेरा लागि मेरो संस्थामा आश्रति सबै बालबालिका छोराछोरी नै हुन् ।' रोशनी पनि इन्दिरालाई 'आमा' भन्छिन् । इन्दिराले रोशनी पढाइमा अब्बल तथा बोलीचाली र व्यवहारले पनि सबैलाई रिझाउने खुबी भएको बताइन् ।
## |
0 comments:
...