Headlines News :
Home » » युवाले बनाए बिजुली उत्पादन गर्ने प्रविधि

युवाले बनाए बिजुली उत्पादन गर्ने प्रविधि

###
सुर्खेत : मुलुक लोडसेडिङको मारमा परिरहेको बेला सुर्खेतका एक युवाले आफ्नै सीप र मेहनतबाट विद्युत् उत्पादन गर्ने प्रविधि विकास गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाको सिर्जनशील टोल निवासी ३० वर्षीय कृष्ण आचार्यले गियर बक्सको प्रयोगबाट विद्युत् उत्पादन गर्न मिल्ने प्रविधिको विकास गरेका छन्।

स्थानीय कच्चा पदार्थको प्रयोग गरेर उनले समतल खोलामा नै विद्युत् उत्पादन गर्न सकिने प्रविधि विकास गरेका हुन्। कुनै औपचारिक शिक्षा र ज्ञानभन्दा पनि आफ्नै विवेकको प्रयोग गर्दै उनले यस्तो प्रविधिको विकास गरेका हुन्।

उनले केही दिनमा स्थानीय खोर्के खोलामा परीक्षण गरेर विद्युत् निकाल्ने योजनासमेत बनाएका छन्। यो परीक्षण सफल भए आफूले विकास गरेको प्रविधि नेपालकै लागि नमुना र पहिलो हुने समेत उनले दाबी गरेका गरे।

साधारण लेखपढमात्र गरेका आचार्य स्वदेशमा कुनै रोजगारीको अवसर नपाएपछि करिब चार वर्षसम्म कोरियामा बसेका थिए। आचार्य केही समयपहिले मात्र स्वदेश फर्केका हुन्। नेपाल आएपछि उनले लोडसेडिङको अवस्था देखे।

वीरेन्द्रनगर नगरपालिकाको सिर्जनशील टोल निवासी ३० वर्षीय कृष्ण आचार्यले गियर बक्सको प्रयोगबाट विद्युत् उत्पादन गर्न मिल्ने प्रविधिको विकास गरेका छन्।
यसले उनमा वैकल्पिक उपायबाट कम लागतमा नै विद्युत् उत्पादन गर्ने इच्छा जाग्यो। सोही इच्छाअनुसार नै उनी लामो सयमको मेहनतपछि कम लागतमा नै सरल तरिकाले विद्युत् निकाल्ने प्रविधिको विकास गर्न सफल भए।

उनले अहिले एक किलोवाट र ५० किलोवाटसम्म विद्युत् उत्पादन गर्न मिल्ने दुईवटा यन्त्रको निर्माण गरेका छन्। आचार्यका अनुसार यो प्रविधिमा प्रतिसेकेन्ड २५ लिटर पानीबाट एक किलोवाट विद्युत् उत्पादन गर्न सकिनेछ। गियर बक्सको प्रयोग गरेर निर्माण भएको यो प्रविधिमा डाइनामो, पंखा र ट्र्वाइनको सहायताबाट बत्ती निकाल्न सकिन्छ।

हाल नेपालमा उत्पादन भइरहेका विद्युत् उपकरण र प्रविधिभन्दा यो कम लागत लाग्ने, स्वदेशमा नै उत्पादन गर्न सकिने, नदीमा बाँध बाँध्नु नपर्ने र समतल खोलामा नै पानीको सहायताले विद्युत् उत्पादन हुने आचार्यले बताए।

उनले भने, 'यो प्रविधि नेपाल र नेपालीका लागि उपयुक्त हुनेछ, गाउँघरमा रहेका सामान्य नागरिकले पनि यसबाट बत्ती बाल्न सक्छन्।' पानीको लोडको आधारमा डाइनामो घुम्ने भएकाले कम खर्चमा नै बत्ती बाल्न सकिने उनको दाबी छ।

उनका अनुसार यो प्रविधिका लागत करिब ५० हजारसम्म पर्दछ। यो प्रविधिको विकासका लागि आफूले साढे दुई लाखभन्दा बढी खर्च गरिसकेको आचार्यले बताए। अन्य योजनाको तुलनामा आफूले बनाएको प्रविधि सरल र सस्तो भएको उनको भनाइ छ।

आचार्यले यसअघि हेलिकप्टरसमेत बनाएको उनको परिवारले जनाएको छ। तर, आर्थिक अभावमा आफूले त्यसलाई परीक्षण गरेर प्रमाणित गर्न नसकेको उनले बताए।

यदि आचार्यले निर्माण गरेको विद्युत् उत्पादन गर्ने प्रविधिको परीक्षण सफल भएमा नेपालका ग्रामीण र लोडसेडिङ हुने क्षेत्रमा विद्युत् उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ। पुन: विदेश जाने तयारीमा रहेका आचार्यले यो प्रविधि सफल भएमा आफू विदेश नजाने बताए।

परीक्षण सफल हुने भन्दै आचार्यले सरकारबाट आफूले निर्माण गरेको प्रविधिको विशेष अधिकारका प्राप्त गर्नका लागि निवेदनसमेत दिइसकेको जानकारी दिए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar