Headlines News :
Home » » मलेसियाबाट फर्काइए अवैध कामदार

मलेसियाबाट फर्काइए अवैध कामदार

###
काठमाडौं : मलेसियाले करिब तीन सय नेपाली गैरकानुनी कामदारलाई बिहीबार नेपाल फर्काएको छ। यी कामदार एअर एसियाको विमानबाट काठमाडौं आइपुगेका हुन्। उनीहरूलाई लिन मलेसियाका लागि नेपालका राजदूत निरञ्जनमानसिंह बस्न्यात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।

मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तव्य हो। हाल मलेसियामा करिब ५० हजार नेपाली कामदार अवैध रूपमा बसिरहेको अनुमान छ। भिसा अवधि सकिएका, कागजपत्र हराएका र कानुनअनुसार दर्ता नभएका कामदारलाई मलेसिया सरकारले गैरकानुनी भन्दै आएको छ।

गैरकानुनी आप्रवासी कामदारको संख्या बढ्दै गएपछि पछिल्लो समयमा मलेसिया सरकारले आममाफीको कार्यक्रम ल्याएर स्वदेश फर्कन प्रोत्साहित गरेको थियो। आममाफीको समयसीमा सकिएपछि पक्राउ पर्ने डरले धेरै गैरकानुनी नेपाली कामदार दूतावासको शरणमा पुगेका थिए।

राजदूत बस्न्यातका अनुसार दूतावासको शरणमा रहेका गैरकानुनी कामदार फर्कने क्रम सुरु भएको छ। मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेपछि आईएमई मलेसियाले ५० जना अलपत्र कामदारलाई टिकट उपलब्ध गराउने वचन दिएको थियो।

नेपाली दूतावास र आईएमई मलेसियाबीच अलपत्र कामदारलाई फिर्ता गराउन मंगलबार मलेसियामा सम्झौता भएको थियो। सम्झौतामा राजदूत बस्न्यात र आईएमई मलेसियाका प्रबन्धनिर्देशक हेमराज ढकालले हस्ताक्षर गरेका थिए।

मलेसियामा अवैध भएका र राहदानी नभएका नेपाली कामदारले स्वदेश फर्कनका लागि यात्रा अनुमतिपत्र बनाएर प्रक्रिया सुरु गर्न सक्छन्। दूतावासले मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई फिर्ता पठाउने कार्य सुरु भएकाले तत्काल यात्रा अनुमतिपत्र बनाउन आग्रह गरेको थियो।

गत महिना मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचर्ड जाइम नेपाल भ्रमणमा आएको बेला श्रम तथा रोजगारराज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियामा रहेका गैरकानुनी कामदारलाई सहज रूपमा फिर्ता गराउन आग्रह गरेका थिए।

डेढ महिनाअघि एक हजार नौ सय ५९ गैरकानुनी नेपाली कामदार मलेसियाबाट फर्किसकेका छन्। मलेसियाले गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई स्वदेश फर्कन मौका दिएको छ। मलेसियाले त्यस्ता कामदारलाई अध्यागमन विभागमा आएर चार सय रिंगिट जरिबाना तिरेपछि स्वदेश फर्कने मौका दिने बताएको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar