Headlines News :
Home » » नेता उपचारमा रित्तिँदै ढुकुटी

नेता उपचारमा रित्तिँदै ढुकुटी

###
काठमाडौं: गरिब बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य भइरहेका बेला राजनीतिक दलका हुनेखाने र पहुँचवाला नेताले भने उपचारका नाममा राज्य कोषबाट करोडौं रुपैयाँ खर्च गरेका छन्। राज्यले यस्ता हुनेखाने नेतालाई उपचारखर्च भन्दै दुई वर्षमा करिब तीन करोड रुपैयाँ उपलब्ध गराएको छ।

दुर्गम गाउँमा सामान्य उपचार गर्दा पनि बाँच्न सक्ने सम्भावना भएका सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाउनुपरेका घटना सञ्‍चारमाध्यमबाट सार्वजनिक भइरहेका बेला हुनेखाने नेताले उपचारका नाममा गरेको यो खर्च असामान्य छ।

अन्नपूर्णलाई प्राप्त तथ्यांकअनुसार अधिकांश नेता आर्थिक रूपमा सम्पन्न भए पनि राजनीतिक दबाबमा उनीहरूको उपचारखर्च सरकारले बेहोरेको हो।

स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको उपचारका लागि अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। गम्भीर अवस्थामा उपचार गराइरहेकी एमाले नेत्री साहना प्रधानको उपचार खर्चबारे भने पूरा विवरण आइसकेको छैन।

नियमअनुसार आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई मात्र सरकारले उपचारका लागि सहयोग गर्नुपर्ने हो। तर तत्कालीन स्वास्थ्यमन्त्री, सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकको दबाबका कारण उपचारखर्च आफैं बेहोर्न सक्ने नेताले पनि सरकारबाट रकम लिएका हुन्।

दुई वर्षयता एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य उपचारका लागि सबैभन्दा बढी खर्च भएको छ। ओलीको उपचारका लागि सरकारले दुईपटक गरी एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको छ। पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीले उपचारका लागि भन्दै २७ लाख ८० हजार रुपैयाँ लिएका छन्।

दुर्गम गाउँमा सामान्‍य उपचार पनि नपाएर सर्वसाधारणले ज्‍यान गुमाउनुपरेका घटना सार्वजनिक भइरहेका बेला हुनेखाने नेताले उपचारका नाममा राज्‍यकोषबाट गरेको यो खर्च असामान्‍य छ।
यस्तै माओवादी नेता घनश्याम शर्मा पौडेलले पाँच लाख ११ हजार दुई सय २९ रुपैयाँ लिएका छन् भने कांग्रेसका चेतराज बजाल, पूर्वमन्त्री सिद्धराज ओझा, योगेन्द्र महत, सदरुल मियाँ हक, मालेका नेता जगतबहादुर बोगटी, एमालेका शेरधन राई, कांग्रेसका तप्‍तबहादुर बिष्ट र सुरेन्द्र हमालले पाँचपाँच लाख रुपैयाँ लिएका छन्। अर्का नेता राधेश्याम पासवान र सद्‌भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले चारचार लाख रुपैयाँ लिएका छन्।

यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका निजी सहायक चूडामणि खड्का, जनमुक्ति पार्टीका गोरेबहादुर खपांगी, राप्रपा नेपालका भरतमणि जंगमले तीनतीन लाख रुपैयाँ लिएका छन्। सद्‍भावनाका महेशप्रसाद यादवले दुई लाख, एमाओवादीका नेता शिवचन्द्र कुशवाहले एक लाख ७८ हजार सात सय २३, एमालेका प्रेमबहादुर साउदले एक लाख, सीताराम चौधरीले २५ हजार ५५, एमालेकै मंगल चौधरीले २४ हजार चार सय ६८ रुपैयाँ उपचारखर्च लिएका छन्।

आर्थिक अवस्था कमजोर भएर सहयोग माग्ने क्यान्सरपीडित डा. चित्रप्रसाद वाग्लेजस्ता व्यक्तिले भने समयमा उपचार खर्च पाएनन्। पूर्वप्रधानमन्त्री मरिचमान सिंह र कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको उपचारमा लागेको भन्दा अत्यन्त न्यून रकम सरकारले छुट्याएपछि परिवारका सदस्यले लिन अस्वीकार गरेका छन्।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवद्र्धन प्रधानले भने, 'कुन व्यक्तिको उपचारका लागि सरकारी सहयोग आवश्यक छ भन्नेमा अध्ययन-अनुगमन हुँदैन, जो उच्च पदमा छ, जसले दबाब दिन सक्छ, उसैले सहयोग लिने प्रवृत्ति मौलाएको छ।' उपचारखर्च कसले पाउने र कस्ता बिरामीलाई उपचार गर्न विदेश पठाउने भन्नेमा सरकारद्वारा गठित मेडिकल बोर्डले सही निर्णय लिन नसक्दा यस्तो अवस्था आएको हो।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, 'एउटा गरिब बिरामी उपचार गराउन नसकेर सहयोग माग्न वर्षौंसम्म मन्त्रालय धाउँछ तर जति पनि खर्च गर्नसक्ने पहुँचवाला नेताले सरकारी ढुकुटीबाट सजिलै पैसा लिइरहेको छ।'

सरकारले राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिको उपचारका लागि भन्दै आर्थिक वर्ष २०७०/७१ मा २७ करोड ७६ लाख आठ हजार सात सय २५ रुपैयाँ निकासा गरेको थियो। यसमध्ये २६ करोड ७२ लाख ६ हजार सात सय ७२ रुपैयाँ खर्च भइसकेको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar