###
![]() |
तीन महिनामा १६ करोडभन्दा बढीको उजुरी
काठमाडौं : वैदेशिक रोजगारीमा तीन महिनामा १६ करोड १३ लाख रुपैयाँ ठगीकोउजुरी परेको छ। आकर्षक कमाइ हुने काममा पठाइदिने भन्दै रकम असुली गरेर फरार हुने गिरोह सक्रिय भएकाले ठगीका घटना बढेका हुन्।
सुरुमै रकम असुल्ने तर काममा पठाउन नसक्ने तथा रकम असुलेर सम्पर्कबाहिर रहने प्रवृत्ति बढ्दो रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। यस्ता गिरोहमध्ये कतिपयलाई पक्रिएर जेलमा हालिएको छ भने धेरैजसो फरार नै छन्। यसबाहेक संस्थागत ठगीका उजुरी पनि पर्याप्त पर्ने गरेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको प्रथम तीन महिनामा कुल आठ सयवटा उजुरी विभागमा दर्ता भएका छन्। ती सबैमा गरी ठगी भएको रकम १६ करोड १३ लाख ८९ हजार दुई सय एक रुपैया छ। संस्थागत र व्यक्तिगत दुवै प्रकारका ठगीका उजुरी दर्ता हुने क्रम बढेको छ।
कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै जान चाहनेसँग रकम असुली गर्नु व्यक्तिगत ठगी हो भने म्यानपावर कम्पनीले गरेको ठगी संस्थागतमा पर्छ।
विभागमा दर्ता भएको आधारमा व्यक्तिगतमा भन्दा संस्थागत ठगीका उजुरी बढी छन्। तर, ठगीको रकम भने व्यक्तिगतमा संस्थागतमा भन्दा दोब्बर बढी छ। चालू आर्थिक वर्षको तीन महिनाको सरकारी तथ्यांकअनुसार यसअवधिमा व्यक्तिगततर्फ जम्मा तीन सय २२ वटा उजुरी परेका छन्।
यी उजुरीमा ११ करोड तीन लाख २५ हजार चार सय ६३ रुपैयाँ ठगी भएको दाबी गरिएको छ। संस्थागतमा ठगीको उजुरी संख्या चार सय ७८ छ तर दाबी रकम भने जम्मा पाँच करोड १० लाख ६३ हजार सात सय ३८ रुपैयाँमात्र छ।
वैदेशिक रोजगार विभागमा ठगीका मुद्दा व्यक्तिगतमा भन्दा संस्थागततर्फ धेरै रहेको छ। तर ठगीको रकम भने व्यक्तिगतमा भन्दा संस्थागतमा दोब्बरभन्दा बढी रहेको छ।
उजुरीका आधारमा विभागले दुवै पक्षलाई झिकाएर सहमतिमा बिगो भराउने गरेको छ। अदालतमा दायर भएका मुद्दामा भने फैसलापछि बिगो र जरिवाना तिराइन्छ। विभागले यस अवधिमा साढे तीन करोड रुपैयाँभन्दा बढीको बिगो भराएको छ। यसमा व्यक्तिगततर्फ दुई करोड १४ लाख ५३ हजार रुपैयाँ र संस्थागतमा एक करोड ३८ लाख २१ हजार आठ सय ५० रुपैयाँ छ।
व्यक्तिगतको तुलनामा संस्थागतमा ठगीका उजुरी धेरै भए पनि संस्थागत ठगीको मुद्दा अदालतमा न्यूनमात्र पुग्ने गरेको छ। चालू आवको तीन महिनामा संस्थागत ठगीको एउटा पनि मुद्दा अदालतमा दायर भएको छैन। तर, व्यक्तिगत ठगीका भने ४२ वटा मुद्दा दायर भएका छन्।
यी मुद्दामा पाँच करोड ८६ लाख दुई सय ९६ रुपैयाँ बिगो दाबी गरिएको छ। यस अवधिमा विभागले ६ वटा म्यानपावर कम्पनीलाई कारोबार गर्न रोकसमेत लगाएको छ।
##
![]() |
0 comments:
...