Headlines News :
Home » » तास खेलेको तस्बिर छापिएपछि प्रहरीद्वारा आत्महत्या प्रयास

तास खेलेको तस्बिर छापिएपछि प्रहरीद्वारा आत्महत्या प्रयास

###
धनगढी : तास खेलिरहेको तस्बिर स्थानीय पत्रिकामा प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान गोपाल लुहारले आत्महत्याको प्रयास गरेका छन्। उनले शुक्रबार बिहान तरकारीमा हाल्ने झोल विषादी सेवन गरेका हुन्।

धनगढीबाट प्रकाशित राष्ट्रिय सन्दर्भ पत्रिकाले लुहारको धनगढी नगरपालिकाको वडा नं. १ शिवनगरमा बर्दीमै तास खेलिराखेको तस्बिर प्रकाशित गरेको थियो। कैलालीका प्रहरी उपरीक्षक मोहनराज जोशीले पनि प्रहरी जवान लुहारले विषादी सेवन गरी आत्महत्या गर्न खोजेको स्वीकार गरेका छन्। उनले जागिर जाने चिन्तामा विष सेवन गरेको बुझिएको छ।

'शनिबार दिउँसो लुहारको ड्युटी शिवनगरमा थियो, मलाई एकजना पत्रकारले फोन गरेर लुहारले तास खेलिरहेको बारे जानकारी दिए। मैले पनि बर्दीमा तास खेलिरहेको भेटिएमा कारबाही गर्ने कुरा गरें', प्रहरी उपरीक्षक जोशीले भने। 'पत्रकारले फोन गरेको साँझ म जिल्ला प्रहरीबाट बाहिर निस्कन लागेको बेला ड्युटी सकाएर लुहार जिप्रका पस्दै थिए। मैले दिनभरि कहाँ थिस् भनें। उसले शिवनगर ड्युटीमा थिएँ सर भन्यो। अनि मैले यसरी पत्रकारले तास खेलेको फोटो छ भनेर मलाई सोधेका थिए। मैले बर्दीमा तास खेलेको भेटिएमा त जागिरै जान्छ भनेको छु। तिम्रो फोटो भोलि छापियो भने तिम्रो जागिर जान्छ है विचार गर्नु भनें', प्रहरी उपरीक्षक जोशीले भने, 'साँच्चै दोस्रो दिन त सोही पत्रिकामा तास खेलिरहेको अवस्थाका दुई फोटो छापिए, अनि लुहारलाई अब त मेरो जागिर जान्छ भन्ने लाग्यो होला र शुक्रबार बिहानै विष खाएछ।'

जवान लुहारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय नजिकै रहेको डेरामा विष सेवनलगत्तै सहकर्मीले देखेपछि उनलाई सेती अञ्चल अस्पताल पु:याइएको थियो। त्यसपछि उनलाई कोहलपुर लगिएको छ। उनको उपचारमा ३० हजार भन्दा बढी खर्च भइसकेको र अवस्था सामान्य बन्दै गएको प्रहरी उपरीक्षक जोशीले बताए।

लुहारको खल्तीमा 'सुसाइड नोट' पनि फेला परेको प्रहरी उपरीक्षक जोशीले बताए। 'मेरो धेरै ठूलो गल्ती भयो। मैले एसपी सापको निर्देशनविपरीत तास खेलें, झन् तास खेल्नेलाई पक्रिने अभियान चलाइरहेका एसपी सापको केही पनि दोष छैन। अब मेरो जागिर जाने भो, मलाई मर्नबाहेकको केही विकल्प छैन', जवान लुहारले सुसाइड नोटमा लेखेको प्रहरी उपरीक्षक जोशीले बताए।

प्रहरी उपरीक्षक जोशीले कैलाली आएपछि लागूपदार्थ सेवनकर्ता र जुवातास खेलिरहेका हजारौं जना पक्राउ परिसकेका छन्। 'प्रहरीले जुवातासविरु द्धको अभियान सञ्चान गरिहेका बेला आफैं तास खेलिरहेको प्रमाणित भएपछि कारबाहीमा पर्छु भनेर पनि विष खाएको हुनुपर्छ', एसपी जोशीले भने। उनले लुहार जाँडरक्सी नखाने, भनेको काम इमानदारीका साथ गर्ने जवानमा गनिने गरेको पनि बताए। 'तर कमजोरी सबै मलाई त थाहा हुँदैनन्, तास त खेल्दो रहेछ', एसपी जोशीले भने। उनले लुहारमाथि निको भएपछि विभागीय कारबाही गरिने भए पनि उनको स्वास्थ्य अवस्था ठीक नभएकाले अहिले नै त्यसबारेमा नबताउने प्रहरीले जनाएको छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar