Headlines News :
Home » » विद्यार्थी हुँदा बिहे गर्ने चटारो, बाआमा हुँदा सम्बन्धविच्छेदको हतारो

विद्यार्थी हुँदा बिहे गर्ने चटारो, बाआमा हुँदा सम्बन्धविच्छेदको हतारो

###
काखमा एउटा तीन वर्षकी नानी र एक वर्षको बाबुलाई च्यापेर अर्छानी–३ हिलाखानीकी ललिताकुमारी पुन श्रीमानसगँको सम्बन्ध तोड्न अदालत धाइरहेकी छिन् ।

कार्कीगाउँ–५ पिपलतरा माइतीघर भएकी पुनले विद्यालयमा पढ्दा अर्छानीका अमरबहादुर घर्तीसँग मायामा परेर बालविवाह गरिन् तर उनलाई अहिले भने छुट्न हतारो भएको छ ।


सोह्र वर्षको उमेरमा विवाह गरेकी पुनले घरमा आफू र छोराछोरीलाई श्रीमानले शारीरिक यातना दिने गरेको र पालनपोषणमा पनि ध्यान नदिएकाले सम्बन्धविच्छेदका लागि अदालत धाउनुपरेको बताइन् ।

“सधैँ शारीरिक यातना भोग्नुपर्ने र छोराछोरीका लागि पनि कुनै स्याहार नहुने घरमा बसेर के गर्नु ?” – ललिताले भनिन् । कलिलो उमेरमा विवाहका लागि हतार गरेकी पुन अहिले सम्बन्धविच्छेदका लागि अदालत धाउनुपर्दा भने पछुतो मानिरहेकी छिन् ।

“पहिले विवाह गर्दा यस्तो होला भन्ने थाहा भएन तर बेलैमा बुद्धि नपुर्‍याउँदा भने निकै दुःख पाइने रहेछ,” ललिताले पछुतो मान्दै भनिन् ।

गत असोजमा जिल्ला अदालत जाजरकोटमा श्रीमानसगँ सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेदेखि नै माइतीघर बस्न थालेकी ललिताले निकै कष्टका साथ दुई छोराछोरीको पालनपोषण गरिरहेको बताइन् ।

त्रिभुवन उच्च माध्यमिक विद्यालय खलङ्गाको कक्षा १२ मा पढ्ने ललिताले श्रीमान्सँग आधा अंश र छोराछोरीको पालनपोषण खर्चको दाबीसहित सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा हालेको बताइन् ।

पुन त प्रतिनिधि पात्रमात्र हुन् । महिला तथा बालबालिका कार्यालयका अनुसार यस वर्ष मात्रै कार्यालयको जानकारीमा भएका पाँच जोडी सम्बन्धविच्छेदको मागसहित अदालत पुगेका छन् ।

यी सबैले कलिलै उमेरमा विवाह गरेका छन् । उमेर नपुगेरै विवाह गरेका र विवाह दर्ताको उमेर नहुँदै सम्बन्ध तोड्ने जोडी धेरै देखिएका छन् । तर धेरै घटना बाहिर आएका छैनन् ।

जिल्लाका ग्रामीण भेग तथा सदरमुकाममै कलिलै उमेरमा विवाह गरेर पछि छुट्न पुगेका धेरै जोडी छन् । विद्यालय पढ्ने बेलादेखि नै प्रेम गरेर विवाह गर्ने र उमेर पुगेपछि विभिन्न कारण देखाएर सम्बन्ध तोड्ने चलन बढेको सरोकारवाला बताउँछन् ।

जिल्लामा बालविवाहको दर निकै उच्च भएपछि यस्तो समस्या पनि बढी देखिएको महिला तथा बालबालिका कार्यालय जाजरकोटका बाल कल्याण अधिकृत डम्बर रोकायले बताए ।

जाजरकोट जिल्लामा बालबालिकाको स्थिति प्रतिवेदन–२०७० अनुसार जिल्लाका विवाह बन्धनमा बाँधिएका ६७ हजार ३३२ व्यक्ति मध्ये १९ वर्ष मुनिको उमेरमै विवाह गर्ने ४९ हजार ८६२ रहेका छन् ।

राष्ट्रिय जनगणना–२०६८ लाई आधार मानेर तयार गरिएको उक्त प्रतिवेदनमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका भएको उल्लेख छ ।

त्यसैगरी १० वर्षकै उमेरमा विवाह गर्ने १६५ जना र १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने पाँच हजार ६६८ जना बालबालिका रहेका छन् ।

प्रतिवेदनका अनुसार बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै छन् । महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाल उमेरमै विवाह गर्ने ६५ प्रतिशतमध्ये ६२/८७ प्रतिशत बालिका र ३७।१३ प्रतिशत बालक रहेका छन् ।

अभिभावकको कमजोरी, उचित परामर्शको अभाव र पाश्चात्य संस्कृतिको प्रभावले गर्दा सानै उमेरमा विवाह गर्ने चलन जिल्लामा बढ्दो रहेको सरोकारवालाको भनाइ छ ।

सानै उमेरमा घरधन्दाको निहुँ बनाएर छोराको र अर्काको घरमा जानैपर्ने सोचेर छोरीको बिहे गरिदिने चलनले पनि बालविवाहको दर बढाउन सहयोग गरेको जिल्ला बालक्लब सञ्जाल जाजरकोटकी अध्यक्ष मेलिना कार्कीले बताउछिन् ।

बदलिँदो परिवेशका कारण भन्दै ग्रामीण भेगका विद्यालयमा १० कक्षा वा उच्च मावि तह पढ्ने बेलासम्म प्रेममा परेर अधिकांशको बिहे हुने गरेको उहाँले बताउनुभयो । पढ्दै गरेका किशोरीहरुलाई उचित सल्लाह र परामर्शको खाँचो रहेको अध्यक्ष कार्कीको भनाइ छ ।

जिल्लामा बालविवाहको दर बढ्दै गए पनि बालविवाह गर्न उक्साउने र बाध्य बनाउने अभिभावक र अन्य दलालविरुद्ध कुनै कारबाही भने भएको पाइँदैन । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar