### |
काठमाडौं— संविधान सभामाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नयाँ संविधानको मस्यौदामा फेसबुक, ट्विटर लगायत सोसल मिडियाबाट समेत सुझाव संकलन गर्ने भएको छ। समितिले तयार पारेको प्रस्तावित कार्ययोजनामा आगामी साउन मसान्तभित्र इमेल, वेबसाइट, फेसबुक, ट्विटरबाट सुझाव लिने उल्लेख छ।
विदेशमा बस्ने नेपालीहरुको समेत नयाँ संविधानमा सुझाव समावेश गर्ने उद्देश्यले समितिले यस्तो प्रावधान राखेको हो। 'हामीले नयाँ संविधानमा विदेशमा बस्ने नेपालीहरुको समेत सुझाव लिन सजिलो होस् भनेर यस्तो व्यवस्था गर्न लागेका हौं', समितिका सचिव भरत गौतमले नागरिकन्युजसँग भने। सोसल मिडिया बाहेक विदेशमा रहेका नेपालीको सुझाव संकलन गर्न विदेश स्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका प्रतिनिधि प्रयोग गरिने समितिको कार्य योजनामा छ।समितिले २४० निर्वाचन क्षेत्रमा पुगेर जनतासँग अन्तरक्रिया लगायतका कार्यक्रम गरी संविधान मस्यौदामा सुझाव संकलन गर्ने योजना बनाएको छ। सुझाव संकलनका लागि कात्तिक तेस्रो हप्तासम्म स्थानीय स्तरसम्म पुगेर सुनुवाइ, गोष्ठी, अन्तरक्रिया गरिसक्ने समितिले जनाएको छ।
कात्तिक मसान्तभित्र सभासदहरु आआफ्नो निर्वाचन क्षेत्र पुगेर जनताको राय सुझाव लिने कार्यक्रम तय गरिएको समिति सभापति प्रमिला राणाले जानकारी दिइन्। सबै च्यानलबाट आएका सुझावहरु समितिले मंसिर मसान्तभित्र संविधान सभामा पेश गर्ने उनले जानकारी दिइन्।
## |
0 comments:
...