Headlines News :
Home » » कोरियाबाट गैरखेलाडी फिर्ता बोलाउन समितिको निर्देशन

कोरियाबाट गैरखेलाडी फिर्ता बोलाउन समितिको निर्देशन

###
काठमाडौं : व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन नेपाली खेल टोलीसँगै दक्षिण कोरिया पुगेका गैरखेलाडीलाई यथाशीघ्र फिर्ता बोलाउन निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले एसियाडसँग असम्बन्धित व्यक्तिलाई फिर्ता बोलाउन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो।

एसियाडको १७औं संस्करण असोज ३ देखि १८ गतेसम्म दक्षिण कोरियाको इन्चोनमा आयोजना हुँदै छ। एसियामा सहभागी हुने नेपाली टोलीमा ठूलो संख्यामा गैरखेलाडी रहेको समाचार सार्वजनिक भएपछि यस्तो निर्देशन दिइएको समितिका सदस्य रामहरि खतिवडाले बताए।

यससम्बन्धी पत्र शुक्रबार नै मन्त्रालयलाई पठाइएको जानकारी पनि उनले दिए। एसियाडमा सहभागी हुन दक्षिण कोरिया जाने सबै व्यक्तिको जानकारी उपलब्ध गराउन पनि मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।

'कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गैरखेलाडीका लागि राष्ट्रिय ढुकुटी मासेर विदेश भ्रमण गर्ने माध्यम बन्नु हुँदैन। यस्तो परम्पराले राष्ट्रको गौरवमा समेत आघात पर्छ। एसियाली खेलकुदका नाममा ठूलो संख्यामा गैरखेलाडी दक्षिण कोरिया पुगेको समाचार आएपछि उनीहरूलाई तत्काल फिर्ता बोलाउन हामीले मन्त्रालयलाई पत्र पठाएका हौं', खतिवडाले अन्‍नपूर्ण पोस्ट्सँग भने।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भाग लिएको खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक बाहेक अरूले सहभागिता जनाउनुको कुनै अर्थ नरहेको उनले बताए। आगामी एसियाडमा कुल ३६ खेल समावेश गरिएको छ, जसमध्ये २५ खेलमा नेपाले भाग लिएको छ।

नेपालबाट दुई सय चारजना खेलाडीले प्रतियोगितामा भाग लिएका छन्। यसअघि २४ खेलमा सहभागिता जनाउने निर्णय गरिए पनि :याफ्टिङ एन्ड क्यानोइङ खेलको सहभागिता अन्तिम समयमा आएर पक्का भएको हो।

नेपालले भाग लिएको कतिपय खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले नै अझसम्म एक्रिडिएसन कार्ड पाउन सकेका छैनन्। खेल पदाधिकारीबीचको विवादका कारण अन्तिम सयमसम्म कराँते खेलाडीको त सहभागिता नै अन्योलमा परेको थियो। विवादकै बीच बिहीबार मात्र कराँते टोली एसियाड यात्रामा निस्किएको छ।

'समयमै नेपाल ओलम्पिक कमिटीले एक्रिडिएसन कार्ड उपलब्ध नगराएका कारण समस्या झनै थपियो। हामी खेलाडीको नियति नै यस्तै छ', बिहीबार आयोजित बिदाइ समारोहमा कराँतेकी चर्चित खेलाडी गंगादेवी अधिकारीले मार्मिक अभिव्यक्ति दिएकी थिइन्।

कराँतेको राष्ट्रिय टोलीमा रहेका सातजना खेलाडीले ढिलो गरेर एक्रिडिएसन कार्ड पाए पनि एकल कातामा सहभागी खेलाडी चञ्चला दनुवार, प्रशिक्षक अकबर शाह र व्यवस्थापक हरिशरण केसीले अझै एक्रिडिएसन कार्ड पाउन सकेका छैनन्।

अर्कोतिर खेलाडीभन्दा अघि नै ठूलो संख्यामा पदाधिकारी इन्चोन पुगिसकेका छन्। कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउने माध्यम राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) हो। तर नेपालमा एनओसीले खेल सुरु हुनुभन्दा एक दिनअघिसम्म एक्रिडिएसन कार्डसमेत उपलब्ध नगराएको नसकेको दु:खेसो खेलाडीले पोख्नुपर्ने अवस्था छ।

ध्रुवबहादुर प्रधानको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले त हालसम्म आफ्ना तर्फबाट एसियाडमा सहभागी गराउन लागेका व्यक्तिको नामसमेत सार्वजनिक गरेको छैन। यसअघि पनि एनओसीले गोप्य रूपमै ठूलो संख्यामा गैरखेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको थियो।

'एसियाडका लागि पहिले पाँच करोड रुपैयाँ छुट्याइएको थियो, रकम अपुग भयो भनेर माग गरिएपछि फेरि एक करोड ३३ लाख रुपैयाँ थप गरिएको छ। आफ्ना नजिकका व्यक्ति र नातागोतालाई विदेश सयर गराउन कसैले राष्ट्रको ढुकुटी रित्याउँछ भने त्यो सह्य हुँदैन', खतिवडा भन्छन्। उनले एसियाडमा सहभागी हुन तीन सयजना कोरिया पुगेको जानकारी आफूलाई प्राप्त भएको दाबी गर्दै समिति यस विषयमा संवेदनशील रहेको बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले भने समितिको निर्देशनका विषयमा आफूलाई आधिकारिक जानकारी नरहेको बताए। 'यस विषयमा मलाई आधिकारिक जानकारी छैन। समितिले मन्त्रालयलाई पत्र पठाइएको हुनसक्छÓ, लामाले भने।

मन्त्री, सचिव र सहसचिव पनि कोरिया भ्रमणमा

सार्वजनिक लेखा समितिले एसियाडमा सहभागी हुन दक्षिण कोरिया जाने गैरखेलाडीलाई फिर्ता बोलाउन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए पनि मन्त्रालयकै उच्च अधिकारी कोरिया भ्रमणको सूचीमा परेका छन्। युवा तथा खेलकुदमन्त्री पुरु षोत्तम पौडेल गत बुधबार नै एसियाडमा सहभागी हुन पत्नी प्रमिला पौडेलसहित कोरिया प्रस्थान गरिसकेका छन्।

यसैगरी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चूडामणि पौडेल र उपसचिव रामबहादुर हमाल पनि एसियाडमा सहभागी हुने पदाधिकारीको सूचीमा छन्। मन्त्रालय स्रोतका अनुसार यसदेखि बाहेक अन्य केही कर्मचारी पनि उक्त सूचीमा रहेका छन्। एसियाडको प्रतिनिधिमण्डलका रूपमा दक्षिण कोरिया जानेमा मन्त्रालय र राखेपबाट मात्रै २९ जना पदाधिकारी छन्।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar