Headlines News :
Home » » कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

कालीगण्डकीमा मुलुककै अग्लो झोलुंगे पुल

###
बागलुङ-कालीगण्डकी नदीमा मुलुककै सबैभन्दा उचाइको झोलुंगे पुल निर्माण गरिएको छ। बागलुङको दक्षिणी क्षेत्रका करिब एक दर्जन गाविसलाई नारायणस्थान कैयाबाट पर्वत सदरमुकाम कुस्मा जोड्न पुल निर्माण गरिएको हो। पुल बनेपछि डेढ घन्टाको पैदलयात्रा पाँच मिनेटमा छोटिएको हो। पुल निर्माणपछि निर्वाचन क्षेत्र नं. २ का अधिकांश बासिन्दालाई कुस्माको बाटो भएर काठमाडौं, पोखरा जान सहज भएको छ।

३ सय ४६ मिटर लामो र १ सय ५६ मिटर उचाइको पुल अहिलेसम्मको मुलुककै सबैभन्दा अग्लो रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ। पुल निर्माणले बागलुङको दक्षिणी क्षेत्रका जनतालाई आवतजावतमा सहज भएको निर्माण समिति अध्यक्ष मीनप्रसाद श्रेष्ठले बताए। ‘पैदल हिँड्दा डेढदेखि दुई घन्टा लाग्ने बाटो पुलले ५ मिनेटमा छोट्याएको छ,' श्रेष्ठले भने।
स्थानीय विकास मन्त्रालयको झोलुंगे पुल महाशाखा डोलिडारले एक करोड ९६ लाख रुपैयाँको लागतमा इस्टिमेट तयार गरेपछि ठेकेदार गीता निर्माण सेवाले १ करोड ६४ लाखमा निर्माण गरेको हो। लट्ठा भने नेपाल सरकारले झोलुंगेपुल महाशाखा डोलिडारबाट अनुदानमा दिएको थियो। १६ वटा लट्ठाले पुललाई आकर्षक देखाएको छ।
कुस्मा बजारको व्यापारिक भविष्यसाथै पर्यटन प्रवर्द्धन गर्न पुल महत्वपूर्ण हुने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए। मुलुककै दोस्रो अग्लो झोलुंगे पुल पनि पर्वतमै छ। पछिल्लो पुल निर्माण भएसँगै कुस्मा–ज्ञादी झोलुंगेपुल दोस्रो अग्लो हुनु पुगेको हो। पर्वत र बागलुङ जोड्ने यान्त्रिक पुल पनि कुस्मा बजारदेखि बलेबा जोडिएकाले पर्यटकले एउटै नगरभित्र विभिन्न अनुभव लिन सक्छन्।
पर्वत जिल्ला अस्पताल र पुल नजिकको दुरीमा छ। कुस्मा बजारमा व्यवसायसमेत बढ्ने आशले स्थानीय व्यवसायी उत्साही भएका छन्। पुल निर्माणपछि त्यस क्षेत्रका स्थानीयले उत्पादन गरेको तरकारी, दूध बजार पुर्‍याउन निकै सजिलो भएको स्थानीय राजेन्द्र ढकालले बताए। ‘बजार जान निकै सजिलो भएको छ,' उनले भने।
पुलले बलेबामा रहेको हवाई मैदानलाई नजिकबाट जोडेको छ। बलेबा पुग्न बागलुङबजारदेखि जिपमा गए पनि दुई घन्टा लाग्छ। झन्डै २ सय रुपैयाँ भाडा तिरेर मात्र पुग्न सकिने बलेबा पुग्न अब सदरमुकामदेखि कुस्मासम्मको ४० रुपैया“ र बढीमा १० मिनेटको हिँडाइ भए पुग्छ।
कुस्माबजारको बड्गाउँ डिल र बागलुङ जिल्लाको नारायणस्थान गाविस–९ कैया जोड्ने कालीगण्डकीमाथिको पुलले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने अपेक्षा स्थानीयले गरेका छन्। पुल सञ्चालनपछि बन्द बलेवा विमानस्थल निर्माणमा पनि सघाउ पुग्ने विश्वास छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar